डलर भुक्तानी गर्न नबिल बैंकको आइकार्ड लिने हजार माथि, ‘‍औसत २ देखि ३ सय डलर लोड हुन्छ’

बिजमाण्डू
२०७७ चैत्र २८ गते ०९:५३ | Apr 10, 2021
डलर भुक्तानी गर्न नबिल बैंकको आइकार्ड लिने हजार माथि, ‘‍औसत २ देखि ३ सय डलर लोड हुन्छ’


Tata
GBIME
Nepal Life

काठमाडौं। नेपालका नीतिनिर्माता, सरकारी संयन्त्रदेखि नेतृत्व नवीनतम सेवा भित्र्याउन त्यति रुचि राख्दैनन् भन्ने आम बुझाइ छ। विदेशमा सरकारी निकायहरुको कार्यसम्पादन 'स्मार्ट' भएको देखेर र पढेर स्वदेशी संयन्त्रलाई दाँज्दा मुख खिन्न पार्ने गरेका नेपालीहरु नेपाल राष्ट्र बैंकका पछिल्ला प्रयत्न देखेर भने केही खुसी देखिन्छन्।

विद्युतीय भुक्तानीमा क्यूआर कोडलाई आक्रामक ढंगले विस्तार गर्न अभिभावकीय दायित्व वहन गरेको राष्ट्र बैंकले विदेशी वस्तु तथा सेवा खरिदलाई मान्यता दिएको थियो। सम्भवतः क्यूआर कोडको व्यापकतापछि डलर भुक्तानीलाई सहज बनाउने राष्ट्र बैंकको कदम पछिल्लो समय निकै चर्चित बनेको छ।

राष्ट्र बैंकले गत चैत ८ गते एकीकृत परिपत्र २०७६ संशोधन गर्दै एक जना ग्राहकले वार्षिक अधिकतम ५०० अमेरिकी डलर (हालको विनिमय दरअनुसार ५९ हजार ४७२ रुपैयाँ) बराबरको विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न सक्ने प्रावधान ल्याएको थियो। 

वाणिज्य बैंकसँगै राष्ट्रियस्तरका विकास बैंकहरुले उक्त प्रिपेड कार्ड जारी गर्न सक्ने गरी राष्ट्र बैंकले सहजीकरण गरेको थियो। यसअघि नेपाली उपभोक्ताहरुले अवैध वा अनौपचारिक ढंगबाट विदेशी वस्तु तथा सेवा खरिदमा डलर भुक्तानी गर्ने गरेका थिए। बढी शुल्क बुझाएर इच्छाएको काम गर्नुपर्ने बाध्यता अब भने हटेको छ। डलर प्रयोग गरेर गर्नुपर्ने साना कारोबारहरु अब वैध तरिकाले नेपाली बैंकबाटै हुनेछ।

राष्ट्र बैंकले प्रावधान फेरेपछि भने अब नेपालबाट विदेशी वस्तु तथा सेवा खरिदमा हुने डलर भुक्तानी औपचारिक बन्न पुगेको छ।  

राष्ट्र बैंकले एकीकृत परिपत्र संशोधन गरेपछि वाणिज्य तथा विकास बैंकहरुले प्रिपेड कार्ड जारी गरेका छन्। तीमध्ये नबिल बैंकले पनि 'आइ कार्ड' जारी गरिरहेको छ। व्यक्तिगत वा संस्थागत दुवै ग्राहकहरुले आवश्यक प्रक्रिया पूरा गरेर आइकार्ड लिन सक्ने बैंकले जनाएको छ।

नबिल बैंकले अहिलेसम्म देशभर रहेका आफ्ना शाखाहरुबाट एक हजारभन्दा बढी ग्राहकलाई आइकार्ड बिक्री गरिसकेको बैंकका डेपुटी सीइओ सुजित शाक्यले जानकारी दिए।

लामो समयदेखि नबिल बैंकले कार्डको पूर्वाधार र संयन्त्रमा ठूलो लगानी, योजनासहित सुरक्षा बन्दोबस्तीलाई चुस्त बनाएकाले नबिलको आइकार्ड धेरैको रोजाइमा परेको दाबी शाक्यको छ।

अन्य बैंकका सीइओसहित उच्च पदमा रहेका पदाधिकारीहरुले समेत नबिल बैंकले नै जारी गरेको आइकार्ड प्रयोग गरिरहेको दाबी बैंकको छ।

साथै, दिनानुदिन आइकार्डको माग बढ्दै गएको उनले बताए। 'आइकार्डको माग दिनदिनै बढ्दै गएको छ। नेपालमा माग भएको प्रडक्टमा लाग्दै आएको रोक सञ्चालन गर्न राष्ट्र बैंकले अनुमति दिनु एकदमै राम्रो हो। यो कदम निकै फलदायी हुनेछ,' शाक्यले भने।

आइकार्ड लिएका उपभोक्ताहरुले औसत दुई सयदेखि तीन सय अमेरिकी डलर लोड गर्ने गरेको शाक्यले बिजमाण्डूलाई जानकारी दिए।

नेपाली मुद्रा तिरेरै कायम विनियम दरमा प्रिपेड आइकार्डमा डलर लोड गर्न सकिन्छ।

विभिन्न विदेशी वस्तु वा सेवा खरिद गर्न नेपालबाटै भुक्तानी गर्न सकिने सुविधा राष्ट्र बैंकको यो प्रावधानले थपेको शाक्यले बताए। 

नेपालमा नभेटिने तथा यहाँको बजारमा डिमान्ड भएका वस्तु तथा सेवा खरिद सहज नभइरहेको अवस्थामा राष्ट्र बैंकले यो समस्यालाई बुझेर प्रिपेड कार्ड जारी गर्ने प्रावधान ल्याए पछि नबिल बैंकले कस्टमाइज्ड कार्ड ल्याएको शाक्यले बताए।  

'सामाजिक सञ्जालमा विज्ञापन वा बुस्टिङ, ओटीटी (नेटफ्लिक्स, प्राइम भिडियो आदि) सब्स्क्रिप्सन, विदेशी इ-कमर्सबाट वस्तु खरिद, अन्तर्राष्ट्रिय म्यागजिन वा जर्नल, अनलाइन कोर्स वा तालिमलगायतको भुक्तानी अब आइकार्डबाटै गर्न सकिन्छ,' शाक्यले भने। 

राष्ट्र बैंकले डलर कार्ड लिन केवाइसी अद्यावधिक भएको बचत खाता र प्यान कार्ड अनिवार्य गरेको छ। यी प्रक्रिया पूरा गरेका ग्राहकहरुले मात्रै बैंकहरुबाट डलर प्रिपेड कार्ड सेवा लिन सक्ने छन्।

बैंक खाता भएका तर, प्यान कार्ड नभएका ग्राहकहरुलाई नागरिक एपसँगै अनलाइनबाट लिन सक्ने जानकारी स्वमय् बैंकले दिइरहेको शाक्यले बताए। 

दीर्घकालीन रुपमा यो राम्रो पनि भन्दै शाक्यले धेरैभन्दा धेरै उपभोक्ताहरु प्यानमा दर्ता हुनुका साथै कारोबार ट्रायकिङमा सरकारलाई थप विवरण संकलन हुने बताए। सँगै प्यानको विवरणले करको दायरा र मात्रा बढाउन पनि यो तथ्यांक सरकारलाई सहयोगी बन्ने उनको विश्वास छ।

उपभोक्ताहरुले अनलाइन वा बैंकका जुनकुनै शाखाबाट आइकार्ड इन्ट्यान्ट्ली लिन सक्ने बताइएको छ।

राष्ट्र बैंकले तोकेको वार्षिक ५०० अमेरिकी डलरको सीमा नेपाली उपभोक्ताहरुका लागि अहिले पर्याप्त हुनेमा सहमत छन् शाक्य। एक जना ग्राहकसँग ५०० अमेरिकी डलर खर्च गर्न एक वर्षको अवधि हुनेछ।  

उदाहरणका लागि एक वर्षको समयमा तीन सय डलर मात्रै प्रयोग भयो भने बाँकी रहेको दुई सय डलर अर्को वर्ष क्यारीओभर हुने शाक्यले बताए। अर्को वर्ष अब ग्राहकले तीन सय डलर मात्रै लोड गर्न पाउने छन्। यसको अर्थ कुनै पनि ग्राहकले ५०० डलरको सीमा क्रस गर्न पाउने छैनन्।

नबिल बैंकले आइकार्डको सब्क्रिप्सन शुल्क एक हजार रुपैयाँ तोकेको छ। रिलोड/रिचार्ज शुल्क पाँच सय रुपैयाँ तोकेको छ। रिप्लेस्मेन्ट/पुन: जारी शुल्क, लिस्टिङ शुल्क र पिन एक्टिभेसन शुल्क गरी तीन शीर्षकको समान पाँच डलरबापत् कुल १५ डलर लिने गरेको छ।

यस्तै, क्रस बोर्ड शुल्क कारोबार मूल्यको एक प्रतिशत लिने गरेको छ। आइकार्डबाट हुने भुक्तानीबाट कोही ग्राहक नठगिउन भनेर बैंकले सुरक्षा मामिलामा ध्यान पुर्याएकाले ढुक्क भएर प्रयोग गर्न सकिने शाक्यको दाबी छ। 

बैंकले कार्डको सुरक्षालाई नै भनेर इसेक्योर कारोबार शुल्क भनेर ०.५० डलर वा ०.५% जुन बढी हुन्छ त्यही लिने बैंकले जनाएको छ। इसेक्योर रजिस्ट्रेसन शुल्क पाँच डलर र इसेक्योर पुन रजिस्टर गर्न एक डलर शुल्क लिने जनाएको छ। 

नबिल बैंकले आइकार्डको भ्यालिडिटी चार वर्षको रहने बैंकले जनाएको छ। बैंकहरुले एक, दुई वर्षको भ्यालिडिटीको प्रिपेड कार्ड पनि जारी गरेका छन्। कार्डको रजिस्ट्रेसन शुल्क एकपटक तिरेपछि चार वर्ष कायम रहेने शाक्यले जानकारी दिए। बैंकले छिटै अनलाइन वा मोबाइल बैंकिङबाटै आइकार्डमा पैसा लोड गर्न मिल्ने सुविधा थप्ने जनाएको छ।

ग्राहकहरुसँगको अनौपचारिक कुराकानीमा प्रिपेड कार्डको धेरै प्रयोग सामाजिक सञ्जालमा विज्ञापन वा पोष्ट बुस्टिङ, ओटीटीको शुल्कसँगै शैक्षित तथा म्यागजिनहरुको शुल्क तिर्न प्रयोग भइरहेको शाक्यले जानकारी दिए।