आस्क मी भर्चुअल जब फेयर सुरु, एकैपटक ५० भन्दा धेरै कम्पनीमा जागिर खोज्न सकिने

बिजमाण्डू
२०७७ चैत्र १८ गते ११:३१ | Mar 31, 2021
आस्क मी भर्चुअल जब फेयर सुरु, एकैपटक ५० भन्दा धेरै कम्पनीमा जागिर खोज्न सकिने


Tata
GBIME
Nepal Life

काठमाडौं। आस्क मी भर्चुअल जब फेयरको दोस्रो संस्करण बुधबारदेखि सुरु भएको छ। आस्कमी म्यानेजमेन्टले राष्ट्रिय वाणिज्य बैंकसँगको  सहकार्यमा अनलाइन प्लाटफर्ममा आस्क मी भर्चुअल जब फेयर २०२१ सुरु गरेको हो।

आस्क मी म्यानेजमेण्टकी व्यवस्थापकीय निर्देशक अर्चना कुँवर क्षेत्रीले कोरोना महामारीको विषम अवस्थामा सञ्चालन गरिएको भर्चुअल जब फेयरले रोजगारीको बजार बिस्तार गर्दै सकारात्मक सन्देश प्रवाह गर्ने बताइन।

'हामीले पहिलो पटक २०२० मा यो कन्सेप्ट ल्याउँदा नेपालको लागि नयाँ थियो। पहिलो वर्ष नै ४० भन्दा बढी कम्पनीले विश्वास गरेका कारण नै हामीले पूर्ण सफलताका साथ पहिलो संस्करणको भर्चुअल जब फेयर सञ्चालन गरेका थियौं,' कुँवरले भनिन्, 'यस पटक पनि ५० भन्दा बढी कम्पनीमा रोजगारी दिने लक्ष्यका साथ दोस्रो संस्करणको जब फेयर आयोजना गरिएको हो।'

जब फेयरको पेमेन्ट पार्टनरका रूपमा नेपाल क्लियरिङ हाउसको कनेक्ट आइपीएसले सहकार्य गरेको छ। फिचर रिक्रुएटरका रूपमा रोजगारी दिनका लागि फेयरमा नबिल बैंक, नेपाल बैंक, शिखर इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआईसी एसिया बैंक, जावलाखेल ग्रुप, एसबी वेब, एनएमबि बैंक, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, लक्ष्मी बैंक, अग्नि ग्रुप लगायतले सहभागिता जनाउने पनि उनले जानकारी दिइन।

यसैगरी सांग्रिला डेभलपमेन्ट बैंक, रिलायबल लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, आईएमई पे, नेको इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, आस्कमी पसल लगायतका कम्पनीहरु रोजगारदाताका रूपमा जब फेयरमा सहभागी हुन लागेको बताइएको छ।  

फेयरमा सहभागी हुन चाहने अन्य कम्पनीले अनलाइन स्टल राख्नका लागि आस्कमी कन्सल्ट डटकम स्लास इम्प्लोयर ड्यास जोनमा लगइन गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ।

यो पोर्टलबाट जब फेयरमा अनलाइन स्टल राख्न समेत सकिन्छ । देशभरिका मानिसहरुले एकै साथ यो प्लाटफर्ममा भिजिट गरी आवश्यकता अनुसारको रोजगारीका लागि मोबाइल वा कम्प्युटरबाटै आवेदन दिन सक्ने विज्ञप्तिमा जनाइएको छ।

कतिपय कम्पनीहरुले अनलाइन अन्तर्वार्ता लिएर पनि कर्मचारी नियुक्त गर्न सकिने व्यवस्था गरिएको छ। प्लाटफर्ममा विदेशमा रहेका तर नेपाल फर्कनका लागि उपयुक्त रोजगारी खोजिरहेकाहरुले पनि उत्तम विकल्प छान्न सक्ने कम्पनीले जनाएको छ। जब फेयर आगामी शुक्रबारसम्म सञ्चालन हुनेछ।