'उड्डयन उद्योग टिक्न त सक्छ, लगानी क्षमता बढ्दैन,' यती एयरका सीइओ अनोज रिमालको अन्तर्वार्ता




दुई दशक अघिदेखि नेपाली उड्डयन उद्योगमा काम गर्दै आएका अनोज रिमालले गत असारदेखि यती र तारा एयरको प्रमुख कार्यकारी अधिकृत (सीइओ)को भूमिका सम्हाल्दै आएका छन्। कोभिडका कारण विश्व उड्डयन उद्योग नै तहसनहस भएको अवस्थामा प्रमुख कार्यकारी जिम्मेवारी सम्हालेका उनले आफ्नो कार्यकालमा कम्पनीको सेवा र क्षमता विस्तारका लागि गृहकार्य सुरु गरिसकेको बताएका छन्। यही अवस्थामा कम्पनीले अन्तर्राष्ट्रिय नन्-सेड्युल उडानका लागि सुरु गरेको प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ।   

यती समूहले यती र तारा दुई भिन्दाभिन्दै कम्पनीमार्फत आन्तरिकतर्फ सुगम र दुर्गम गन्तव्यमा नियमित उडान गर्दै आएको छ। कम्पनीले रिमाललाई चार वर्षका लागि सीइओमा नियुक्त गरेको हो। यसअघि उनी यतीको समूहमा निर्देशक थिए। यती सन् १९९८ मा स्थापना भएको नेपालको निजी वायुसेवा कम्पनी हो। यिनै सीइओ अनोज रिमाललाई बिजमाण्डूका वसन्तराज उप्रेतीले सोधे- कोरोनाले उड्डयन उद्योगमा ल्याएको चुनौतीबीच कसरी काम गरिरहनुभएको छ?  

TATA
RiddiSiddi

'च्यालेन्जेज' भनेको हरेक काममा आउने हो। अनुभव पनि कठिन समयमा उपयोग हुने कुरा हो। यो क्षेत्रको अनुभव भएका कारण नै मैले यो च्यालेन्जलाई स्वीकार गरेको हुँ। एक त विश्व उडडयन क्षेत्र नै तहसनहस भएको अवस्था छ। यो परिस्थितिमा पनि, यो अन्धकारमा पनि केही किसिमको लाइट बल्न सक्छ कि भन्ने प्रयासस्वरुप यो जिम्मेवारी वहन गरेको छु। मलाई लाग्छ नेपालको परिप्रेक्षमा कोभिड-१९ संक्रमण घट्ने क्रममा छ। मान्छेमा एउटा के कन्फिडेन्स बढेको छ भने खोप आइसकेको छ। फ्रन्टलाइनर, वृद्ध वर्गहरुले खोप लगाइसक्नुभएको छ। त्यसले गर्दा मान्छेहरुलाई हिँडडुल गर्ने आत्मबल बढेको छ। यो जिम्मेवारीलाई राम्रोसँग वहन गर्न सकिन्छ भन्ने मलाई लाग्छ।     

यती एयरलाइन्स स्थापना भएको झण्डै २३ वर्ष भयो। यो अवधिमा एयरलाइन्सले ठूलो फड्को पनि मारेको छ। तर अहिलेको जस्तो कठिन समय कहिले पनि ब्यहोर्नुपरेको थिएन, होइन?
यो जस्तो कठिन समय आजसम्म भोगिएको थिइएन। इतिहासमै विश्व एभिएसन सेक्टरले यस्तो कठिन समय भोगेको थिएन। यो पहिलोपटक हो। यस्ता समस्या आउँथे पहिला। आउँथ्यो जान्थ्यो। ट्राभल दर घट्थ्यो, टुरिस्टहरु घट्ने हुन्थ्यो। तर यो किसिमको महामारीका कारण व्यवसाय नै ठप्प भएको  अवस्था पहिलो नै हो।

भैपरि आउने दैविप्रकोपसँग लड्नका लागि पहिल्यै तयारी हुन्थ्यो। तर यस्तो किसिमको महामारीले सिर्जना हुने वित्तीय समस्यासँग लड्नका लागि केही तयारी गरिएको थियो?
यो संक्रमण अप्रत्याशितरूपमा आयो। आउनेबित्तिकै चीनसँगै विभिन्न मुलुकमा फैलिन सुरु भएको थियो। अलिकति व्यापारमा प्रभाव पर्न थालिसकेको थियो। हामीले त्यति खेरै तत्काल वित्तीय हिसाबले कसरी खर्च कटौती गर्नेतर्फ सोच बनायौं। अलिकति सेभिङ गर्न सकिएको अवस्थामा भोलि नेपालमै संक्रमण देखिएको अवस्थामा काम लाग्छ भन्ने सोच चाहिँ थियो। तर संक्रमण यति अचानक आयो कि एकैचोटी लकडाउन भइदियो। लकडाउन भइसकेपछि ब्याकअपले पनि नधान्ने अवस्था भयो। बन्द भए पनि एक महिना होला, एक महिनापछि फेरि सेवा कन्टिन्यु गर्छौं भन्ने थियो। एक महिनाको घाटाबाट कम्पनीलाई फेरि नाफामा लान सक्छौं भन्ने सोचेका थियौं। यो एक किसिमको अकल्पनीय घटना जस्तो लाग्छ मलाई। त्यसले गर्दा अझै एक वर्षसम्म यसको प्रभाव रहने देखिन्छ। 

अहिले विदेशी पर्यटकको आवागमन नै अर्को एक वर्ष वर्षसम्म सामान्य हुने अवस्था छैन। त्यो हिसाबले गर्दा ठूलै ड्यामेज गरेको छ। तर एउटा सकारात्मक पक्ष देखिएको छ। कुनै पनि नेगेटिभ चिजभित्र पनि पोजिटिभ खोजेर अगाडि बढ्ने क्षमता हामीमा छ। त्यस्तो च्यालेन्जमा काम गर्न रमाइलो मान्छौं हामी। पहिलाभन्दा धेरै खटेर काम गर्नुपर्ने अवस्था छ। 

हामीले पहिला आन्तरिक पर्यटनलाई विकास गर्न सकेका थिएनौं। नेपालमा पर्यटन भनेको खाली विदेशी मात्र आउनुपर्ने भन्ने मानसिकता थियो, अवस्था थियो। एयरलाइन्स, ट्राभल एजेन्सी, होटल लगायत उद्योग पहिला विदेशीमा मात्रै निर्भर भएर बस्नुपर्ने अवस्था थियो। यसले के परिवर्तन ल्याएको छ भने अब आएर आन्तरिक पर्यटनमा पनि नेपालकै मान्छे नेपाल नघुमेको अवस्थामा एक ठाउँबाट अर्को ठाउँमा घुम्दा पनि केही हदसम्म पर्यटन विकास हुँदो रहेछ। र त्यही कारणले एयरलाइन्सले नै आन्तरिक पर्यटक लक्षित प्याकेज सार्वजनिक गरेको थियो। स्वास्थ्य सुरक्षाका साथ घुमौं भन्ने नारासहित हामी अगाडि बढ्यौं। 

कोभिडले गराएको बन्दपछि हामीले सेवा सञ्चालनमा ल्याएको ६ महिना भयो। यो अवधिमा हवाई यातायातमार्फत स्वास्थ्य संक्रमणरहित यो अवस्थामा आउनु भनेको एक किसिमको राम्रो पनि हो। हाम्रो ब्याकअप प्लान भनेकै यही हो। भोलि विदेशी पर्यटक नआउने अवस्था भयो भने पनि आन्तरिक पर्यटकबाट कसरी सस्टेन हुन सकिन्छ भन्ने कुराको अभ्यास, पाठ हामीले थालनी गरेका छौं।

यसमा एउटा समस्या के छ भने हाम्रो डोमेस्टिक टुरिजमबाट विदेशीबाट पाउने रेट त हामीले पाउँदैनौ। एकदम कम रेटमा हामीले सेवा दिइरहेका छौं। अहिले हामीले के मात्र सोचेका छौं भने कसरी सस्टेन मात्र गर्ने। यो एक-दुई वर्षमा सस्टेन गरेर त्यसपछि प्रि-कोभिड अवस्थामा आइसकेपछि आन्तरिक पर्यटन पनि डेभलप हुँदै जान्छ। साथसाथै विदेशी पर्यटकको आगमनसँगै मुलुकको पर्यटन व्यवसायको क्षेत्र अझै राम्रो अवस्थामा जाने मैले देखेको छु।

कोभिड महामारी अप्रत्याशितरूपमा आएको थियो। प्राकृतिक प्रकोप, राजनीतिक अस्थिरता वा रोगव्याधिका बारेमा पूर्वानुमान गर्न सकिन्न। यो अप्रत्याशित अवस्थालाई यतिको ठूलो दायित्वहरु(कर्मचारी तलब सुविधा, बैंक ऋण लगायतका खर्च)लाई कसरी म्यानेज गर्न सक्यो?
यो अवस्थामा कर्मचारीले हामीलाई निकै सहयोग गर्नु भएको हो। म कर्मचारीसँग मिटिङमा बस्दा पनि के भन्छु भने यो कर्मचारीको तलब कट्टा गरेको होइन। कर्मचारीले एयरलाइन्सलाई बचाउनका लागि उहाँहरुको तर्फबाट दिइएको योगदान हो। यसलाई तलब कटौती भयो सोच्दै नसोच्नु भनेको छु। कम्पनी बाँच्यो भने हामी बाँच्छौं।

यसकारणले कम्पनीलाई पहिला बचाउँ भन्ने स्थितिमा हामी आ-आफूले गरेको आर्थिक सहयोग हो। हामीले श्रम सहयोग त गर्दै आएका  छौं। यो पाली चाहिँ कर्मचारीले पनि आर्थिक सहयोग गर्ने अवसर पायौं। नेपालको उड्डयन उद्योग इतिहासमै त्यो पनि एउटा राम्रो उदाहरण बनेको जस्तो लाग्छ मलाई।

अहिले त हामी नर्मल अवस्थामा आइसक्यौं। विस्तारै सबै कर्मचारीलाई नर्मल तलब वितरण गर्नेछौं। जुन कर्मचारीलाई बाध्यात्मकरूपमा घरमा राखेका थियौं, बोलाउने क्रम जारी नै छ। कतिपय कर्मचारीलाई काममा परिचालन गरिएको छ। भोलि गएर अलि राम्रो अवस्था सबै कर्मचारीहरु आउनु हुनेछ। 

कोभिडले ल्याएको संकटका कारण विश्व उड्डयन उद्योगमा आबद्ध थुप्रैले रोजगारी गुमाए। धेरैले आफ्नो पेसाको क्षेत्र नै परिवर्तन गरे। कतिपय होटल, पसल, ड्राइभिङमा इन्ट्री गरे। नेपालमा यो अवस्था नआउनु कारण के होला?
यो चाहिँ के हो भने नेपाल भनेको हाम्रो सभ्यता, संस्कृतिमा एउटा अट्याचमेन्ट छ। एउटा रोजगारदाता र कर्मचारीबीच भावनात्मक सम्बन्ध हुन्छ। इमोसनल अट्याचमेन्ट हुन्छ। यस्तो परिस्थितिमा हामी अन्त जान हुँदैन, कम्पनीलाई साथ दिनुपर्छ र कम्पनी सञ्चालकहरुले यतिका वर्षसम्म हामीलाई हेरिरहेका थिए, अब हामीले उहाँहरुलाई हेर्ने मौका आएको छ। यो पनि गुमाउनु हुँदैन, इम्प्लोयर र इम्प्लोइबीच एउटा बन्डिङ थियो नि, यो अवस्थामा त्यो झन् विकास भएको छ।      

कोभिडका कारण झण्डै ८ महिना आन्तरिक उडान पनि ठप्प भयो। त्यो सकसपूर्ण अवस्थाबाट विस्तारै उडान पुरानै लयमा फर्कदैछ। अहिलेको व्यवसायिक अवस्थाले सर्भाइभ हुनसक्ने देख्नुहुन्छ?
अहिलेको अवस्थामा सर्भाइभ चाहिँ होइन्छ तर लगानी, बैंकको ब्याजलाई लङ टर्मसम्म लिएर जान चाहिँ गाह्रो हुन्छ। तर अहिले लागू गरिएको डोमेस्टिक फेयरले एक-दुई वर्षसम्म सर्भाइभ हुनसक्छ। तर पैसा कमाउन सक्दैन। कमाएन भने के हुन्छ भन्ने कुरा आउँछ। सर्भाइभ मात्र भइरहेर पनि भएन। कमाएन भने यो क्षेत्र विकास विस्तार गर्न गाह्रो हुन्छ। जस्तै अहिले हामीले भोलि जहाज संख्या थप गर्नुपर्ने हुन्छ, भोलि अन्तर्राष्ट्रिय सेवामा जानुपर्ने हुन्छ। त्यो एक्स्पान्सन सबै रोकिन्छ। तर अहिले यही अवस्थामा रहँदा सस्टेन हुन सकिन्छ।             

कोभिडपछि आन्तरिक हवाई कम्पनीबीच पनि चर्को प्रतिस्पर्धा छ। अझ कट थ्रोट कम्पिटिसन नै छ। त्यसले यात्रुलाई फाइदा नै भएको छ। तर हवाई सेवा कम्पनीको ब्यालेन्ससीट भने नेगेटिभ हुने जोखिम देखिन्छ। यतीको फाइनान्सियल सिचुएसन कस्तो छ?
अभियस्ली ब्यालेन्ससीट त  नेगेटिभतर्फ जानसक्छ। तैपनि हामीले भन्यौं नि, अहिले हामी सर्भाइभलको लागि मात्र हेरिरहेको हुनाले सर्भाइभलका लागि भए पनि यो अवस्था राम्रो हो। बाँच्नु पर्‍यो नि पहिला। बाँच्नै लागि यो अवस्था जुन फेयरमा हामीले प्रतिस्पर्धाकै कारणले भए पनि कम भाडादरमा सेवा दिइरहेका छौं। सबैजना बाँच्नै पर्‍यो। हामी मात्रै बाचौं, अरु चाहिँ डुबुन् भन्ने हाम्रो उद्देश्य होइन।

सबै जनाले बाँच्न सक्ने अवस्था सिर्जना गरेर अगाडि बढौं भन्ने कुरा हो। प्रतिस्पर्धा भन्ने कुरा हरेक क्षेत्रमा हुन्छ। यसका कारण यात्रुलाई फाइदा भएको छ र भोलुम पनि पहिलाको भन्दा बढेको छ। पहिला जसले एफोर्ड गर्न सक्नुहुँदैनथ्यो, उहाँहरु प्रोत्साहित हुनुभएको छ। ओहो ! अब चाहिँ हामीले हवाई यातायात सेवा लिनसक्ने अवस्था आयो। तर अब लङ टर्म जानकै लागि विदेशी पर्यटक आउनै पर्छ। विदेशी पर्यटकको आगमन भएसँगै अहिलेको प्रतिस्पर्धा घट्दै जान्छ। किनभने भोलुम बढ्छ, कम्पिटिसन घट्दै जान्छ अनि त्यसपछि एयरलाइन्स पनि क्षमता विस्तारमा जानेछन्। 

फाइनान्सियल सिचुएसन एक किसिमले भन्ने हो भने त्यति राम्रो छैन। किनभने अघि नै भनेँ हामी खाली अहिले सर्भाइभमै छौं। एउटा घर चलाउनलाई खाली भात खाइराछौं भन्ने मात्र हो। घुम्न जान पाएका छैनौं, नयाँ लत्ताकपडा किन्न सकिया छैन, अलि मीठो खाउँ भन्दाखेरि कम्प्रमाइज गर्नुपर्ने अवस्था छ भनेको जस्तै एयरलाइन्सले पनि मिनिमम कस्ट खर्च गरेर अहिले सर्भाइभ गर्ने मात्रै हिसाबले चलिरहेको छ, र फेयर पनि त्यही अनुसार छ। अहिले हामीले सर्भाइभल बाहेक केही पनि सोचेका छैनौं। नाफा त परै जाओस्, हामी एक दुई वर्ष सर्भाइभ गर्न थाल्यौं भने पछि हामी नाफा कमाउँछौं। र त्यही अनुसार एक्सपान्सन पनि गर्दै जान्छौं। 

कोभिडपछि तपाइँहरुको प्रतिस्पर्धी कम्पनी बुद्धले ठूलो छलाङ मारेको छ। उसको बजार हिस्सा बढेको बढ्यै छ। तर यतीको बजार हिस्सा स्रिंक भएको छ। अहिले ठूलो माछाले सानो माछा खाने परिस्थिति आएको हो?
त्यो अवस्था छैन। सबै एयरलाइन्स हिसाबमै चलिरहेका हुन्छन्। जहाज संख्या, उडान संख्या घटाउने-बढाउने कुरा हुन्छ। हामीले पनि आफ्नै स्टार्टेजीमा अगाडि बढिरहेका छौं। यती एयरलाइन्सले अहिलेको अवस्थामा एकैचोटी धेरै फ्लाइट राख्नुभन्दा कम फ्लाइट राख्ने, कस्ट सेभ गरिरहेका छौं। पाँच महिना त करिब १० जहाजमध्ये हामीले पाँच वटा मात्र चलायौं। ५० प्रतिशत क्षमतामा मात्र सेवा दियौं। खर्च पनि त्यही हिसाबले कन्ट्रोल गर्‍यौं। त्यो ५० प्रतिशत क्यापसिटीलाई  कसरी म्याक्सिमम युटिलाइजेसन गर्ने भनेर हामीले हेर्‍यौं।

त्यो अवस्थामा कस्टमा हामीलाई धेरै नै बेनिफिट भएको छ। अब अलिकति मार्केट बिस्तारै बढेर गइरहेको क्रममा सबै जहाज उडान तालिकामा राखिसकेका छौं। सबै जहाज उडान गर्दा अबको अवस्थामा त्यति समस्या नहुने र हामीले चाहेअनुसार फ्लाइट गर्न सक्ने अवस्था भएको हुनाले सबै जहाज सञ्चालनमा ल्याएका छौं। 

त्यस्तो प्रतिस्पर्धा त हुन्छ तर मैले भने नि हामीले स्टडी गरेर नै बजार रणनीति बनाएका हौं। जहाज ग्राउण्डमा राख्ने पनि हाम्रो स्टार्टेजी अन्तर्गत नै थियो। अहिले पूरै जहाज सञ्चालनमा ल्याउने पनि हाम्रो रणनीतिभित्रै पर्छ।

अरु एयरलाइन्सको प्रतिस्पर्धाले गर्दाखेरि अथवा बाह्य कारणले गर्दाखेरि होइन कि हाम्रो आन्तरिक प्लानिङ थियो, व्यवसायिक हिसाबले कसरी जाँदा संस्थालाई बेनिफीट हुन्छ भन्ने  हिसाबमा अगाडि बढेको हो। अहिले एटीआर-७२ को पाँचौं जहाज उड्न थालिसक्यो। यस अगाडि दैनिक ६६ उडान गरेका थियौं। त्यो नै म्याक्सिमम हो। होला उहाँहरुको १०० वटा होला, हाम्रो ६६ वटा होला। जहाजको अवस्था अनुसार हुने हो। 
अहिलेको यो लो-प्राइसमा धेरै जहाज उडान गर्दा त्यसको परिणाम पनि धेरै छ। मर्मत खर्चहरुदेखि सम्पूर्ण खर्च दिएर पठाउनुपर्ने हुन्छ। त्यो सबैलाई नियन्त्रण गर्ने उपाय पनि हो। कम खर्चमा म्याक्सिमम बेनिफिट कसरी लिने भन्ने विषयमा हामी अगाडि बढेका हौं। 

भनेपछि ठूलो माछाले सानो माछा खाने परिस्थिति आएको होइन?
नेपालमा त्यस्तो अवस्था छैन। 

यती ग्रुपसँग यती र तारा गरी दुईवटा वायुसेवा कम्पनी छ। यो दुवै कम्पनी तपाइँले हेर्नुहुन्छ। तारा दुर्गम क्षेत्रमा उडान भर्ने भएकाले विदेशी पर्यटक बोक्ने कारणले समेत सस्टेन थियो। अहिले पर्यटक नभएका कारण तारा एयरलाई पनि फाइनान्सियल जोखिम बढ्यो होला नी?
ताराबाट ब्याक सपोर्ट राम्रो हुन्थ्यो। यतीको आफ्नै पनि घट्ने कुरा भयो। ताराको पनि घटिरहेको छ। त्यसले गर्दा अलिकति केही  असर त परिहाल्छ। तारामा विदेशी पर्यटकमार्फत आउने रेभिन्यु आउँदा यतीलाई पनि फाइदा भइरहेको थियो। अहिले त्यो फाइदा हामीले हेरेको पनि छैनौं। अहिले तारा एयरलाई पनि सस्टेन मात्रै गराउने हिसाबमा हो।

तर एउटा राम्रो पक्ष चाहिँ अघि मैले भनेको जस्तै, पहिला तारा एयरमा विदेशीमात्र चढ्ने भन्ने थियो। तर हामीले चाहिँ मुलुकको पश्चिम क्षेत्रमा कार्गो, खाद्य, औषधी ढुवानीको सेवा दिँदै आएका थियौं। तर अहिले आएर नेपाली यात्रु दुर्गम क्षेत्रमा घुम्ने लहर चलेको छ। त्यसबाट हामी उत्साहित पनि छौं। जुन हिसाबले अहिले रारा, जुम्ला, लुक्ला, मुस्ताङ लगायत गन्तव्यमा नेपाली यात्रुकै सहभागिता रहेको छ। केही हदसम्म तारा एयर पनि आफ्नो हिसाबले सस्टेन गर्न सकिरहेको छ। तर भोलि गएर मुनाफै कमाउने अवस्था अझै एक वर्ष देखिँदैन।      


यतीले पुराना जेट स्ट्रिम जहाज बिक्री गर्दैछ। चार जहाज बिक्रीपछि तपाइँहरु एटीआरमै फोकस्ड हुँदै हुनुहुन्छ। एटीआरमा बुद्ध पहिलादेखि आएको र एक्सप्रर्टिजसमेत धेरै भएकाले प्रतिस्पर्धा अझै टफ होला नी?
जेट स्ट्रिम हामी उडाइरहेका थियौं। जेटस्ट्रिमबाट अब अलिकति ठूलो जहाज आवश्यक परेको हुनाले एटीआरलाई प्राथमिकता दिएका हौं। दुई किसिमको जहाज मेन्टेन गर्नु भनेको जुनसुकै एयरलाइन्सको लागि गाह्रो कुरा हो। सञ्चालन र मर्मतका हिसाबले खर्चसँगै जनशक्ति धेरै आवश्यक पर्छ। त्यसले गर्दा हामी सकेसम्म एउटै फ्लिटमा भन्ने योजना दुई वर्ष अगाडि नै बनाएका थियौं। जब हामीले एटीआर ल्यायौं, अब हामी एटीआरलाई नै बढाएर जानुपर्छ भन्ने कुरा हो। जेट स्ट्रिम जहाज अहिले पनि राम्रो अवस्थामा छ। 

अहिले पनि पाँचमध्ये चार वटा जहाजले उडान गरिरहेको छ। एउटा जहाज पनि छिट्टै रिलिज हुने तयारीमा छ। जेटस्ट्रिम हामी जुन हिसाबले बिक्री गर्छौं, यही हिसाबले एटीआर पनि खरिद गर्ने योजना छ। जहाज बिक्री भइसकेको छैन। एमओयु भइसकेको छ, एमओयुअनुसार अगाडि बढ्यो  भने बिस्तारै बिक्री गर्ने सोचिरहेका छौं।

प्रतिस्पर्धा भनेको सबै बिजनेसमा हुन्छ। प्रतिस्पर्धा केमा गर्ने भन्ने कुरा आउँछ। प्राइसमा कि सेवामा प्रतिस्पर्धा गर्ने हो। मेरो व्यक्तिगत धारणा के छ भने यात्रु सेवा, हवाई सुरक्षा, अनटाइम सेवामा प्रतिस्पर्धा गर्नुपर्छ। यी कुरालाई मध्यनजर गरियो भने स्वस्थ प्रतिष्पर्धा हुन्छ। अब प्राइसमै मात्र प्रतिस्पर्धा भयो भने कसैलाई पनि फाइदा हुँदैन। किनभने हामीले पैसा घटाउँला, फेरि अरु कम्पिटिटरले घटाउला। घटाएरै मात्र जाने अवस्था हुन्छ। जसले गर्दा सबै समाप्त हुने सम्भावना धेरै हुन्छ। अघि तपाईँले भन्याजस्तो ठूलो माछा सानो माछाको सम्भावना म देख्दिन। 

कसैलाई बढी आर्थिक भार होला। कसैलाई कम होला तर विस्थापन नै हुने अवस्था देखिँदैन।  

कोभिडपछि तपाइँहरुले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि हवाइ यातायातसँग जोडेर प्याकेज समेत ल्याउनुभयो। त्यो प्याकेजले जहाज कम्पनीका लागि कस्तो भ्यालु एड गर्‍यो?
एकदमै राम्रो भयो। वास्तवमा हामीले के गरेका थियौं भने मान्छेलाई लकडाउनमा एउटा त्रास, मानसिक तनावको अवस्थामा हामीले सुरक्षित हिसाबमा घुमाउने, मनोरञ्जन दिने उद्देश्यले टुर प्याकेज ल्याएका थियौं। त्यो हामीले सुरुवात गरिदिएका हौं। ताकी नेपालमा आन्तरिक पर्यटन चलायमान होस्। र अलिकति चलायमान हुनेबित्तिकै कन्फिडेन्स त्यसमा बढ्छ। र मान्छेहरु विस्तार  हिँडडुल गर्न सक्नुका साथै नर्मल लाइफमा फर्किन्छन् भन्ने हेतुका साथ प्याकेज ल्याएका थियौं। प्याकेज बिक्री गर्ने एयरलाइन्सको काम होइन। यो काम ट्राभल एजेन्सीको हो। यसरी गर्न सकिन्छ है भनेर बाटो मात्र देखाइदिएका हौं। किनभने नेपाली पर्यटक पनि विभिन्न गन्तव्यमा जानको लागि घुम्नका लागि तयार हुनुहुन्छ। उहाँको पनि इच्छा चाहनाहरु छ। त्यो पनि हामी यसरी पूरा गर्न सक्छौं भन्ने यती एयरलाइन्सले बाटो देखाइदिएको हो। 

हामीले तीन त्यो महिना प्याकेज राख्यौं। त्यो अवधिमा हामीले सोचेको भन्दा बडो उत्साहजनक हिसाबले मान्छेहरु त्यसमा सहभागी हुनुभयो। अहिले के छ भने यी प्याकेज डाइरेक्ट यती एयरलाइन्सले बिक्री गर्दैन। तर अरु अरुले प्याकेज  निकाल्नुभएको छ। त्यसमा हामी सहभागी छौँ। त्यसले गर्दा रारा, चितवन, लुक्ला, पोखरा लगायत गन्तव्य घुम्न जानेहरु बढेका छन्। यति पैसाले पनि यो ठाउँ घुम्न सकिँदो रहेछ भन्ने उहाँहरुले महसुस गर्नुभएको छ।      

यतीले एकपल्ट अन्तर्राष्ट्रिय उडान गरेर बन्दसमेत गरेको थियो। अहिले फेरि पुरानै कम्पनीलाई ब्युँताएर अन्तर्राष्ट्रिय उडानमा जाने तयारी पनि गर्दैछ। अन्तर्राष्ट्रिय उडानमा नेपाली कम्पनीले सफलताभन्दा पनि असफलता ब्योहोरेको छ। यतीले अन्तर्राष्ट्रिय उडानमा कस्तो सम्भावना देखेर फेरि जान खोज्दैछ?
यसमा के छ भने हामीले अन्तर्राष्ट्रिय उडान सुरु गरिसकेका छौं। यती एयरलाइन्स र हिमालय एयरलाइन्समा हाम्रो स्टेक भएको कारणले हिमालय एयरलाइन्समार्फत अन्तर्राष्ट्रिय उडान भइरहेकै छ। १० वर्ष अगाडि अन्तर्राष्ट्रिय सेवामा प्रवेश गरेर अहिले पनि सञ्चालनमै छ र राम्रो पनि गरिरहेको छ। 

यती एयरलाइन्सले चाहिँ हिमालयले जस्तै फुलफ्लेजमा अन्तर्राष्ट्रिय उडान गर्ने होइन। हाम्रो भनेको रिजनल सेक्टरमा उडान गर्ने हो। हामी एयरलाइन्समात्र होइन, यती ग्रुप अन्तर्गत होटल, एड्भेन्चर, ट्राभल लगायत विभिन्न कम्पनी छन्। उनीहरुको आफ्नै ग्रुप, रिसोर्सेज छन्। त्यसले गर्दा यती एयरलाइन्सले भारत, बंगलादेश, म्यानमार लगायत नजिकका गन्तव्यबाट प्याकेजमार्फत पर्यटकलाई नेपाल ल्याउनु नै मूल उद्देश्य हो। काठमाडौंबाट विभिन्न गन्तव्यमा सेवा दिइरहेका छौं। त्यस्तै गरेर भारतको कुनै पनि शहरबाट जस्तै बनारसको हामी टेष्ट फ्लाइट हेर्दैछौं। बनारसबाट पर्यटकलाई सिधै काठमाडौं ल्याएर लुम्बिनी लान सक्छौं।

भोलि अब भैरहवा विमानस्थल सञ्चालनमा आउँदैछ। सिधै हामीले लुम्बिनीबाट बनारस उडान गर्न सक्छौं। अथवा कोलकाता, ढाका उडान गर्न सकिन्छ। त्यो अवसरहरु हामीले हेरिरहेको मात्र हो। र यदि त्यहाँ अवसर छ भने धेरै फ्लाइट नगर्ने आफ्नो ग्रुपलाई मात्र ल्याउन सकियो भने पनि नेपाली कम्पनीले नै चार्टर गर्न सक्ने भए नि। मुलुकमा विदेशी मुद्रा भित्रिन ठूलो मद्दत पुग्छ। हाम्रो यात्रुको लागि एउटा एडेड भ्यालु भयो नि। उहाँहरु कोलकाता, बनारस अथवा दिल्ली हुनुहुन्छ भने ल त्यही बस्नुहोस् हामी तपाईँहरुलाई काठमाडौं अथवा अन्य कुनै गन्तव्यमा पुर्याइदिन सक्छौं भन्न सकियो। त्यो हिसाबले नन्-सेडुल फ्लाइट सुरु गर्न लागेका हौं। 

पछि गएर यो अब उत्साहजनक रुपमा अगाडि बढ्यो भने हामी सेडुल फ्लाइटमा प्रवेश गर्नेछौं। भोलि गएर रिजनेबल फ्लाइट गर्न सक्यौं भने जेट इन्जिन जहाजमा प्रवेश गर्नुपर्ने अवस्था आउन सक्छ। एयरबस, बोइङ, इम्ब्रेरमध्ये जुनै पनि कम्पनीको जहाज खरिद गर्ने अवस्था आउन सक्छ। त्यसका लागि प्लानिङ अहिलेदेखि नै गर्नुपर्‍यो। 

हाम्रो जुनसुकै काम पनि योजनाबद्ध रूपमा हुन्छ। हामीले तीन वर्ष चार वर्षसम्मका व्यवसायिक योजना डकुमेन्टेसन नै गरेर राखेका छौं। त्यही प्लानिङअनुसार अगाडि बढ्छौं। अहिले हामीले आन्तरिकतर्फ म्याक्सिमम एटीआर-७२ मार्फत सेवा विस्तार गर्दै जानेछौं। त्यसैगरी ट्विनअटर-४०० मार्फत स्टल रुटमा उडान गर्नेछौं। हाम्रो योजना अनुसार चार वर्षसम्म नेपालको बजारलाई मध्यनजर गर्दै वर्षमा एउटा जहाज थप्दै जानेछौं। रिजनलतर्फ हामी अलिकति राम्रो हुनेबित्तिकै जेट इन्जिन जहाज खरिद गरेर सेवा दिनेछौं। 

तर यो किसिमको परिस्थिति, कोरोनाको यस्तो महामारी कहिले कतिसम्म जान्छ प्रेडिक्सन गर्न गाह्रो हुन्छ। त्यसले गर्दा यही दिनमा योजना लागू गर्छौँ भन्न सकिँदैन। वातावरण राम्रो हुँदै गए हामी निश्चितरूपमा सेवा बिस्तारमा जान्छौं।

यती र तारा एयरलाइन्सले यात्रु सेवा मात्र नभइ पर्यावरण, समाजलाई फाइदा हुने कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी अन्तर्गत धेरै कार्यक्रम गरिरहेका छौं। जहाजमात्र उडाउने काम मात्र होइन की एउटा समाजको लागि पनि केही गरौं भन्ने हाम्रो उद्देश्य हो। ट्याक्स त तिरिन्छ सरकारलाई तर पब्लिकलाई डाइरेक्ट सहयोग गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्दै आएका छौं। कोभिडका कारणले ती कार्यक्रम रोकिएका छन्। 

वातावरण संरक्षणका लागि हामीले सरसफाई, वृक्षरोपण लगायत विभिन्न काम गर्दै आएका छौं। साउथ एसियामा हामी मात्र एक हौं, जसलाई कार्बोन न्यूट्रल एयरलाइन्स भनेर चिनिन्छ। हामीले जति कार्बोन प्रोड्युस गर्छौं, त्यति नै बराबरीमा हरियाली सिर्जना गर्छौं। 


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell