पुराना होटललाई कोभिडले दिएको ‘अवसर’, पुराना कर्मचारी धमाधम अवकाश, अब कम कर्मचारी राख्ने

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७७ चैत्र ८ गते १२:०५ | Mar 21, 2021
पुराना होटललाई कोभिडले दिएको ‘अवसर’, पुराना कर्मचारी धमाधम अवकाश, अब कम कर्मचारी राख्ने


Tata
GBIME
Nepal Life

काठमाडौं। कोभिडका कारण होटलले ब्योहोरेको नोक्सानीको हिसाबकिताब ठूलो छ। त्यसबाट तंग्रिन लाग्ने समय पनि लामै हुने देखिएको छ। तर पुराना होटलका लागि कर्मचारी कटौती गरेर संचालन खर्च कम गर्ने 'अवसर' भने यही कोभिडले दिएको छ।

एक जना कर्मचारीलाई हटाउँदा समेत महिनौं व्यवस्थापन र ट्रेड युनियनबीच लफडा चल्थ्यो। र, होटल नै बन्दसमेत हुन्थे। तर अहिले भने धमाधम कर्मचारी अवकाश दिइएको छ। काठमाडौंमा रहेका पुराना पाँचतारे होटलले अहिले कोभिडकै बीचमा धेरै कर्मचारीलाई अवकाश दिएका छन्। त्यसबाट उनीहरु ठूलो कर्मचारी दायित्वबाट मुक्त भएका छन्।

कोभिड महामारीपछि अरु सबै होटल खोले पनि दरबारमार्गस्थित अन्नपूर्ण होटल बन्द गर्ने निर्णय व्यवस्थापनले गरे। होटल बन्दको निर्णयसँगै त्यहाँ कार्यरत चार सय कर्मचारीलाई अवकाश दिइएको छ। ५५ वर्ष पुरानो होटलमा कार्यरत कर्मचारीको दायित्व बढ्दै गएको थियो भने तलब सुविधाको खर्च पनि ठूलो थियो। होटल अन्नपूर्णका लागि कर्मचारीको दायित्व कम गर्न कोभिड महत्वपूर्ण अवसर बन्यो।

अरु सामान्य समयमा अन्नपूर्णले कर्मचारी हटाउने कल्पना समेत गर्न सक्दैनथ्यो। अन्नपूर्ण मात्रै होइन काठमाडौंका पुराना सबै पाँच तारे होटलले पुराना कर्मचारीलाई हटाएर ठूलो दायित्वबाट मुक्त भएका छन्। होटल संघ नेपालका अनुसार स्वेच्छिक सेवानिवृत्त स्कीम ल्याएर पाँचतारे होटलले ३५ प्रतिशत भन्दा बढी कर्मचारीलाई विदाई गरिसकेका छन्।

होटल सोल्टीले डेढ सय जना कर्मचारीलाई अवकाश दिइसकेको छ। होटलमा चार सय जनाभन्दा बढी कर्मचारी थिए। होटलका उपाध्यक्ष सुदर्शन चापागाइँले भीआरएस योजना ल्याएर कर्मचारीलाई अवकाश दिइएको बताउँदै करारमा रहेका कर्मचारी पहिले नै अवकाश पाइसकेको बताए।

अवकाश पाएका कर्मचारीले 'ह्यान्डसम पैसा' पाएको बताउँदै उनले भने-‘कोभिडका कारण पुराना कर्मचारीले अवकाश पाएका छन्। अहिले होटल नै पूर्ण रुपमा नचलेकाले केही कर्मचारीबाट मात्रै होटल चलाइरहेका छौं।’ दरबारमार्गमै रहेको होटल याक एण्ड यतिले समेत ६० जना कर्मचारीलाई अवकाश दिइसकेको छ।

'भीआरएस स्कीम लागु गरेर कर्मचारीलाई अवकाश दिएका छौं। कोभिडका कारण होटलको बिजनेस पुरानै अवस्थामा आउन केही समय लाग्ने देखिएकाले कर्मचारीलाई अवकाश दिइएको हो,’ होटलका मानव संसाधन प्रबन्धक विजय प्याकुरेलले भने। लाजिम्पाटमा रहेको होटल र्‍याडिसनले ६७ कर्मचारीलाई अवकाश दिएको छ। होटलका मानव संशाधन विभागका निर्देशक किरण पन्तले केही कर्मचारीलाई विदा गरिएको बताउँदै बाँकी तीन सय कर्मचारी रहेको बताए।

कम कर्मचारीबाट काम

पर्यटन क्षेत्र बाउन्स ब्याक भएको अवस्थामा पनि होटलमा अब कम कर्मचारी राखेर संचालन गर्ने मनस्थितिमा व्यवसायी पुगेका छन्।

‘निकट भविष्यमा मल्टी स्किल्ड म्यानपावर जनशक्ति राख्नेछौं। त्यो हुँदा कर्मचारी धेरै कम भए पनि पुग्छ,’ सोल्टी होटलका उपाध्यक्ष चापागाइँ भन्छन्, ‘एउटै कर्मचारीले धेरै काम गर्नसक्ने गरी तालिम पनि दिन्छौं।’ यो हुनेवित्तिकै होटलको संचालन खर्च कम हुन्छ। सोल्टीले अब पहिला भएको भन्दा आधा कम कर्मचारी राखेर होटल संचालनमा ल्याउनेछ।

‘होटल पूर्णरूपमा संचालन आए पनि हामीले ७५ प्रतिशत मात्रै कर्मचारी राखेर चलाउँछौं,’ उनले भने, ‘यो हुनेवित्तिकै कर्मचारीमाथि हुने लागत घट्छ। त्यसले होटलको मुनाफा बढाउन पनि सहयोग पुग्छ।’

याक एण्ड यतिकै एचआर हेड प्याकुरेलसमेत कम कर्मचारी राखेर होटल संचालनमा ल्याउने योजना रहेको बताउँछन्। 'पहिला विद्युत,प्लम्बिङ लगायतका कामका लागि भिन्न भिन्न जनशक्ति थिए। तर अब हयाण्डी म्यान 'प्लम्बिङ, विद्युतीय, कार्पेन्टर लगायत सबै मर्मत सम्भार गर्न सक्ने जनशक्ति' नियुक्ति गर्ने योजनामा हामी छौं,' उनले भने।