मेची-महाकाली विद्युतीय रेलमार्गको सर्भे अघि बढ्यो, रोकिएको काम सहमतिपछि सुरु

बिजमाण्डू
२०७७ फागुन २६ गते १४:२३ | Mar 10, 2021
मेची-महाकाली विद्युतीय रेलमार्गको सर्भे अघि बढ्यो, रोकिएको काम सहमतिपछि सुरु


Tata
GBIME
Nepal Life

वीरगंज। बहुप्रतिक्षित मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणको लागि  रोकिएको सर्भेको काम फेरि सुरु भएको छ।

बाराको बकैया खोला किनार ड्यामको पूर्वी किनारलाई समाउँदै रेलमार्ग लैजाँदा मानवबस्ती, निजी खेतीयोग्य जमीन नपर्ने, तटबन्धको दीर्घकालीन समस्यासमेत समाधान हुने गरी निजगढका बासिन्दासँग सहमति भएपछि गत शुक्रबारदेखि सर्भेको काम सुरु भएको हो।

यसअघि बस्ती र खेतीयोग्य जमीनबीचबाट कोही कसैलाई जानकारी नै नदिई सर्भे गरेसँगै स्थानीयहरूले अवरोध गरेका थिए।

गत फागुन ९ गते रेल विभाग काठमाडौंका महानिर्देशक प्रमिला बज्राचार्य, रेलमार्गका लागि युसिङ कोरियन सर्भे कन्सल्ट्यान्टका मुख्य सर्भेयर मिस्टर कु, मिस्टर सोन, रेल विभागका सिनियर डिभिजन इन्जिनियर देवेन्द्रप्रसाद साह, नेपाली सर्भे कन्सल्ट्यान्टका जियोलोजिस्ट अच्युत कोइरालासहितको प्राविधिक टोलीले निजगढको बकैया खोलाको पूर्वीतर्फको क्षेत्रको स्थलगत अनुगमन गरेको थियो।

सो अनुगमनमा निजगढका प्रमुख सुरेशकुमार खनाल, रेलमार्ग पीडित सरोकार समिति निजगढका पदाधिकारी, स्थानीयसमेत थिए।

स्थलगत अनुगमन गर्नुअघि निजगढ नगरपालिकामा भएको छलफलमा बकैया खोलापारी पश्चिम किनारलाई पहिलो प्राथमिकतामा राखी सर्भे गर्ने भनिएको थियो। हाल कुनै हानी नोक्सानी नहुने भन्दै बकैया खोलाको पूर्वी किनारबाट सर्भे गर्दा कुनै समस्या देखिए पारिबाट गर्ने सरकारी र कन्सल्टेन्सी टोलीले बताएपछि रोकिएको सर्भे थालिएको निजगढका नगरपालिकाका मेयर सुरेश खनालले बताए।

निजगढ नगरपालिकामा भएको सहमति अनुसार नै रेलमार्ग लैजाने गरी सर्भे भएको छ। निजगढमा स्थानीयहरूले रेलमार्ग पीडित सरोकार समिति नै गठन गरी सम्बन्धित रेल विभाग, प्रशासन कार्यालय, स्थानीय तह निजगढ नगरपालिकालाई समेत ज्ञापनपत्र बुझाइएको थियो।

मेची-महाकाली विद्युतीय रेलमार्ग अन्तर्गतको रौतहटको चोंचासम्म ठेक्का लगाइसकेको छ। निजगढ-हेटौंडा-भरतपुर लैजाने गरी सर्भे कार्य गरिने रेल विभागले जनाएको छ।

सो सर्भेका लागि निजगढ नगरपालिकाको तर्फबाट दुईजना प्राविधिक खटाइएको छ। रेलमार्गको लागि कम्तीमा पनि ५० मिटर चौडाइको भूभाग आवश्यक पर्ने र ३५० मिटर दायाँ–बायाँको क्षेत्रलाई समेटी सर्भे गर्नुपर्ने जनाइएको छ।