बजारमा कम हुँदै गएको तरलताले ब्याज दर बढ्ने संकेत गरेको हो? ‘आदर्श बजगाईंको विश्लेषण

बिजमाण्डू
२०७७ फागुन २० गते ०९:४३ | Mar 4, 2021
बजारमा कम हुँदै गएको तरलताले ब्याज दर बढ्ने संकेत गरेको हो? ‘आदर्श बजगाईंको विश्लेषण



बैंकहरुले लगानी बिस्तार अलिक बढाएपछि तरलता केही कम भएर गएको छ। तरलता कम हुँदै गएका कारण ब्याज दर बढ्ने पो हो कि भन्ने चिन्ता सबैतिर देखिन्छ। किनभने हामी कोभिडका कारण अप्ठ्यारो अवस्थामा छौं, खासगरी आर्थिक हिसाबले। कोभिडको दोस्रो वेभ आइरहेको छ। त्यसले कति असर गर्छ भनेर अहिले नै भन्न सकिने अवस्था छैन।

Tata
GBIME
Nepal Life

विगत दुई महिनादेखि बढ्न थालेको आर्थिक गतिविधिले सबै जना उत्साहित छन्। अर्कोतिर बैंकिङ तरलता अभाव हुँदै गएका कारण ब्याज दर बढेर अर्को समस्या पो हुने हो कि भन्ने चिन्ता पनि सँगसँगै देखिन्छ।

यसपालीको तरलता र ब्याजदरलाई हामीले अलिक फरक ढंगले बुझ्नु पर्छ। गत बर्ष यति बेला बजारमा कुल तरलता १० अर्ब रुपैयाँ मात्र थियो। आजको दिनमा तरलता ६० अर्ब रुपैयाँभन्दा बढि छ। 

तरलता अभाव हुनै लागेको हो भन्ने देखाउनका लागि कतिपयले राष्ट्र बैंकले दिएको ८३ अर्बको पुनर्कर्जा के हो भनेर तर्क पनि गर्छन्। ८३ अर्ब रुपैयाँ तुरुन्त फिर्ता गर्नु पर्ने पैसा होइन। यसमध्ये ६० अर्ब एक बर्षका लागि दिइएको छ। अर्को २३ अर्ब ६ महिनाका लागि दिइएको हो। यसको अर्थ हो चालु आर्थिक बर्षभरी यो पैसा फिर्ता गर्नु पर्दैन।

ऋणको बिस्तारसँग जोडेर अभावको कुरा भइरहेको छ। गत बर्ष फागुन महिनासम्ममा ऋणको बृद्भि १४ प्रतिशत थियो। यसपाली १६ प्रतिशत छ। १६ प्रतिशत पनि पछिल्लो २ महिनाका कारणले भएको हो। त्योभन्दा अगाडि ऋण बिस्तार निक्कै सुस्त थियो। दुई महिनामा ऋण यस्तरी बढ्यो कि, त्यसले गर्दा मान्छेहरु तरलता अभाव होला भनेर चिन्तित भएका हुन्।

तर, तरलता अभाव चालु बर्षभरी हुँदैन। अहिले गएको ऋण उत्पादनमूलक क्षेत्रमा गएको छ। अलिकति आयातमा गएको छ। आयातमा गएको पनि सबै उपभोग्य बस्तु तथा सेवाका लागि होइन। विकासका साधनहरु खरीदका लागि पनि ऋण गएको छ। अलिकति ऋण मार्जिन लेन्डिङमा पनि गएको छ। अलिअलि आवासीय घर तथा रियलस्टेटमा पनि गएको छ। अर्थात ऋण सन्तुलित हिसाबले सबैतिर गएको छ। यति ऋण नजाने हो भने आर्थिक कृयाकलाप पनि हुँदैन। यसले अर्थतन्त्रलाई झन् समस्यामा पार्छ। त्यसैले अहिले गएको ऋण अर्थतन्त्रलाई माथि लैजानका लागि नै गएको हो।

बैशाख १५ देखि सरकारी खर्च बढ्न थाल्छ। प्रत्येक बर्ष तेस्रो त्रैमास (पुसदेखि चैतसम्म) मा तरलता अलिकति अभाव हुने गरेकै थियो। ऋण बिस्तार १६ प्रतिशतले हुँदासमेत आजको दिनमा तरलता ६० अर्ब बढि छ भने यसलाई अभावको संकेतका रुपमा बुझ्नु हुँदैन। यो तरलता गणना अनिवार्य तरलता अनुपात (सीआरआर) बाट मापन भइरहेको छ।

तर बैंकहरुसँग अहिले नै पनि कम्तिमा तीन खर्ब रुपैयाँ ऋण दिनसक्ने क्षमता छ। अहिले तरलता कम भएको सीआरआरका हिसाबले मात्र हो। किनभने केही अगाडिसम्म बैंकहरुले ऋण गएन भनेर बढिबढि लगानी सरकारी ऋणपत्रमा गरे। त्यसले गर्दा बजारमा तरलता केही कम भयो। 

अहिले राष्ट्र बैंकले रिपोको विकल्प दिएको छ। त्यहाँबाट तीन प्रतिशतमा पैसा ल्याएर पनि बैंकहरुले काम गर्न सक्छन्। होइन रिपो निकालेन भने पनि स्थायि तरलता सुविधा (एसएलएफ) ५ प्रतिशतमा लिएर पनि काम गर्न पाउँछन्। 

निक्षेपको दर बढाएर ७/८ प्रतिशत पुर्याउने कि बचतको ब्याज बृद्धि गरेर खर्च बढाउने कि रिपो वा एसएलएफ गर्ने? पक्कै बैंकले दोस्रो बिकल्प छान्छन्। 

अहिले बचत र मुद्दतिको ब्याज दरमा पाँच प्रतिशत बिन्दुको 'टाइअप' गरिएको छ। यसले गर्दा अलिकति कम ब्याज भएका बैंकबाट बढि ब्याज भएका बैंकमा पैसा गइरहेको छ। खासगरी संस्थागत निक्षेपकर्ताहरुले आधा प्रतिशत बिन्दु बढि ब्याज पाउने बित्तिकै पनि बैंक सर्ने गर्छन्। निक्षेप सर्ने भयो भनेर बैंकहरुले ब्याज बढाउनु पर्ने केही वाध्यता आइलाग्न सक्छ। तर, त्यो भनेको आधादेखि एक प्रतिशत बिन्दुसम्म मात्र हो।

बचतको ब्याज घटेको छ। विगतमा साढे १३ प्रतिशतमा लिएको निक्षेपहरु अहिले परिपक्व भएको छ। नयाँ दर साढे ६ मा नवीकरण भइरहेको छ। यसले गर्दा वेसरेट (आधार दर) ह्वात्तै घटेको छ। आधार दर कम भएपछि ऋणको ब्याज पनि स्वत कम भइहाल्छ। ब्याज कम भएका कारणले पनि अहिले ऋण बिस्तार राम्रो भएको हो।

अहिले सात प्रतिशतमा मार्जिन लेन्डिङ पाइरहेको छ। त्यतिमै घर कर्जा पनि पाइरहेको छ। अन्य ऋणहरु त अझ सस्तो पनि छ। अब सात प्रतिशतको ऋण बढेर ८ प्रतिशत पुग्ला तर त्योभन्दा माथि जाने वाला छैन। स्प्रेड दर पनि ४ प्रतिशतभन्दा तल आइसकेको छ। अहिले निक्षेपको ब्याज बढाउँदा बैंकहरुको वासलातलाई हिट गर्छ। त्यसो हुँदा बैंकहरुले ब्याज बढाउने अवस्थामा छैनन्। स्प्रेड, आधार दर, निक्षेप नवीकरणजस्ता कुरालाई ख्याल गरेर बढिमा आधादेखि एक प्रतशित बिन्दुसम्मले बढ्ला, त्योभन्दा बढि बढ्न सक्ने अवस्थै छैन।

राष्ट्र बैंकले सबै सरोकारवालाहरुको कुरा सुन्नु पर्छ। त्यसैले उसको चिन्ता बचतको ब्याज धेरै नघटोस् भन्ने हो। सँगसँगै अर्थतन्त्रलाई गति दिनु पर्ने बेला छ। यस्तो बेलामा ऋणको ब्याज नबढोस् भन्ने पनि राष्ट्र बैंकको चाहना हुन्छ। 

कोरोनाका बाबजुत अर्थतन्त्रले केही गति लिएको छ। विश्व अर्थतन्त्रले पनि अलिकति गति लिएको छ। यस्तो बेलामा सन्सारभरकै केन्द्रीय बैंकले ऋणको ब्याज तल राख्न चाहन्छन्। हाम्रोमा पनि त्यही हो। ब्याज तल आएकै कारण सेयर बजार बढेको हो। सेयर बजार नेपालमा मात्र होइन सन्सारै भरी उच्चतम अंकमा चलिरहेको छ। यसले आर्थिक कृयाकलाप बढेको जनाउ दिन्छ। त्यसैले अहिले तरलताका कारणले, बजारका कारणले र बैंक तथा राष्ट्र बैंकका कारणले ब्याज दर बढ्ने अवस्था छैन।

(बजगाईं नबिल बैंकका इन्टरनेशनल बिजनेस, स्ट्राटेजी एक्सपान्सन एण्ड ट्रेजरी प्रमुख हुन्)