आधा घण्टाभन्दा बढी समय लगाएर उक्लेको सेयर बजार घट्दा भने केही मिनेटमै खर्ल्यामखुर्लुम तल!

बिजमाण्डू
२०७७ फागुन १९ गते १५:५६ | Mar 3, 2021
आधा घण्टाभन्दा बढी समय लगाएर उक्लेको सेयर बजार घट्दा भने केही मिनेटमै खर्ल्यामखुर्लुम तल!


Tata
GBIME
Nepal Life

काठमाडौं। सेयर बजारमा कारोबार उतारचढाव नौलो कुरा होइन । यो यसको स्वाभाविक प्रकृति हो । तर बुधबार भने कारोबार उतारचढावको परिदृष्य विगतको भन्दा भिन्न देखिएको छ ।

साताको दोस्रो अन्तिम कारोबार दिन सेयर बजार सूचक केही असमान्य लाग्नेगरि तीव्र गतिमा तलमाथि भएको छ। समग्र सूचक मंगलबारकै हाराहारीमा खुम्चिएको भएपनि फरक रेखामा देखिएको नेप्सेको ग्राफले बजारमा करेक्शन  विगतका वर्षहरुको भन्‍दा फराकिलो हुन सक्ने अनुमान पनि छ । यद्यपि, सेयर बजारमा अर्को रेकर्ड ब्रेक हुन बाँकी नै रहेको सेयर बजार विश्लेषक अनलराज भट्टराई बताउँछन् ।

उनी भन्छन्, 'कोभिडपछि अर्थतन्त्र भर्खरै मात्र चलायमान हुन थालेको छ । यसको प्रभाव अब बल्ल देखिन थाल्नेछ । यसकारण अर्थतन्त्रमा सुधार देखिँदा सेयर बजारमा पनि यसको प्रभाव आउनेछ । त्यसैले सेयर बजारमा अर्को रेकर्ड ब्रेक हुन बाँकी नै छ ।'

सामान्य अवस्थामा तीनदेखि चार वर्ष लागेर बजारले हासिल गर्ने उचाई कोभिडयताको एक वर्षमै छोएकाले पनि अहिलेको करेक्शन विगतमा देखिँदै आएको भन्दा केही बढी भएको उनको विश्लेषण छ ।

बुधबार कारोबारको प्री-ओपन सेसनमा ६ अंकले घटेको बजार सामान्य सेसनमा ३६ अंकसम्म घटेको थियो। सुरुआती २० मिनेटमा ३६ अंकसम्म बजार घटेको थियो। त्यसपछि बजारको घट्ने अन्तर कम हुँदै २५ मिनेटपछि शून्य अंकमा आएको थियो।

अब बजारले हरियो रङ लिन्छ भन्ने आशमा लगानीकर्ताहरमा उत्साह छाइरहेको बेला १० मिनेट पनि नबित्दै बजार पुन ३० अंक तल आयो ।

त्यसपछि लगातार घटिरहेको बजार साढे एक बजेपछि विस्तारै घट्न कम भएको थियो। त्यतिबेला पनि करिब ३५ मिनेट लगाएर २३९० अंकमा आएको बजार २४२८ अंक पुगेको थियो। बजारको घट्ने अन्तर २६ अंकसम्म आएको थियो। तर त्यसको १० मिनेटपछि नै बजार थप २४ अंकले घटेको थियो।

विश्लेषकहरुले भने उचाई लिन खोज्दा बजारले कम्तिमा २५ देखि ३५ मिनेट जति समय लिएपनि घट्ने बेलामा भने ५ देखि १० मिनेटमै खर्ल्यामखुर्लुम झर्नुलाई विश्लेषकले लगानीकर्ताहरुको कमजोर मनोविज्ञानका रुपमा लिएका छन्।

बुधबार पनि ४० अंकले नै घटेको सेयर बजार दुई दिनमा ८० अंकले तल ओर्लिएर सूचक २४१६ विन्दुमा आएको छ। सेन्सेटिभ सूचक पनि सात अंकले घटेर ४३६ मा आइपुगेको छ।

व्यापार र होटल तथा पर्यटन समूह बाहेकका सबै उपसमूहको सूचक आज रातो भएको छ। जीवन बीमा समूहको सूचक ४५२ अंकले घट्दा निर्जिवन बीमा समूहको सूचक १६७ अंकले घट्यो । यस्तै उत्पादन समूह ८७, अन्य ८४, लघुवित्त ५६, विकास बैंक ३२, जलविद्युत २० र बैंकिङ समूह १७ अंकले घटेको छ। 

१० प्रतिशतले मूल्य बढेर सर्किट लाग्दा एक कित्ताको दस हजार दुई सय २२ रुपैयाँ  पुगेको साल्ट ट्रेडिङको सेयर मूल्यका कारण व्यापार समूहको सूचक भने ३०६ अंकले बढेको छ।

चन्द्रागिरी हिल्सको सेयर मूल्य आजपनि १० प्रतिशतले बढेर ५५० रुपैयाँ पुगेको । यस्तै, सेयर मूल्य बढ्ने अन्य कम्पनीमा हिमालयन पावर पार्टनर ८ प्रतिशत, नेपाल हाइड्रो डेभलपर ४ प्रतिशत र हिमालय ऊर्जा विकास ३ प्रतिशत रहेका छन्।

एसिएन लाइफ र बरुण हाइड्रोको सेयर मूल्य ६/६ प्रतिशतले घट्दा नेपाल टेलिकम र सुर्योदय लघुवित्तको सेयर मूल्य ५/५ प्रतिशतले घटेको छ।

रकमका हिसाबले सर्वाधिक कारोबार भएको नेपाल टेलिकमको करिब ३० करोड रुपैयाँको किनबेच हुँदा एसियन लाइफको २८ करोड, नेपाल लाइफको २६ करोड, शिखर इन्स्योरेन्सको २४ करोड र नेको इन्स्योरेन्सको २२ करोड रुपैयाँको सेयर कारोबार भएको छ। 

निफ्राको भने जम्मा २१ करोड रुपैयाँको सेयर किनबेच भएको छ। मंगलबार निफ्राको २५ करोड रुपैयाँ बढिको सेयर किनबेच भएको थियो।

बुधबार २१२ कम्पनीका एक करोड १४ लाख कित्ता सेयर ६ अर्ब २५ करोड रुपैयाँमा किनबेच भएका छन्। सात कम्पनीको मूल्य स्थिर रहँदा २९ कम्पनीको सेयर मूल्य बढेको छ। बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ।