सेयर बजारमा फेरि गयो ६० अंकको पहिरो, कारोबार रकम ६ अर्बकै वरिपरि, निफ्राको कारोबार घट्यो

बिजमाण्डू
२०७७ फागुन १८ गते १५:१९ | Mar 2, 2021
सेयर बजारमा फेरि गयो ६० अंकको पहिरो, कारोबार रकम ६ अर्बकै वरिपरि, निफ्राको कारोबार घट्यो


Tata
GBIME
Nepal Life

काठमाडौं। सेयर बजार सूचकमा मंगलबार फेरि ६० अंकको ठूलो पहिरो गएको छ। आइतबार ८० अंकले घटेको बजार सोमबार ४० अंकले बढेको थियो। तर मंगलबार भने फेरि ६० अंकले बजार घटेको छ।

नेप्से सूचक २४५५ बिन्दुमा आएको छ। सेन्सेटिभ सूचक पनि करिब १० अंकले घटेर ४४३ बिन्दुमा रोकिएको छ।

कारोबार रकममा भने सोमबारको तुलनामा सामान्य सुधार भएको छ। मंगलबार २०८ कम्पनीका एक करोड ३१ लाख कित्ता सेयर छ अर्ब ११ करोड रुपैयाँमा किनबेच भएका छन्। सोमबार पाँच अर्ब ७४ करोड रुपैयाँको मात्रै सेयर किनबेच भएको थियो।

सोमबार चार कम्पनी बाहेक सबै कम्पनीको सेयर मूल्य बढेकोमा मंगलबार भने छ कम्पनी बाहेक सबै कम्पनीको सेयर मूल्य घटेको छ।

साल्ट ट्रेडिङ र चन्द्रागिरी हिल्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ। हिमालयन पावर पार्टनरको सेयर मूल्य आठ प्रतिशतले र एचआइडीसीएलको सेयर मूल्य दुई प्रतिशतले बढेको छ। त्यस्तै गुडविल फाइनान्स र मेरो माइक्रो फाइनान्सको सेयर मूल्य करिब १/१ प्रतिशतले बढेको छ।

सर्वाधिक मूल्य घट्ने कम्पनीमा नेपाल हाइड्रो डेभलपरको सेयर मूल्य सात प्रतिशतले घटेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक र सिनर्जी पावरको ६/६ प्रतिशत, साधना लघुवित्त, गुह्वेश्वरी मर्चेन्ट बैंक, मिर्मिरे माइक्रोफाइनान्स, साधना लघुवित्त र स्वाभिमान लघुवित्तको सेयर मूल्य ५/५ प्रतिशतले घटेको छ।

व्यापार र होटल तथा पर्यटन समूह बाहेक सबै उपसूचक रातै भएका छन्। जीवन बीमा समूह सर्वाधिक ५१९ अंकले घट्दा, निर्जिवन बीमा समूह ३४३ अंक, उत्पादन समूह १५० अंक र लघुवित्त समूह ११२ अंकले घटेको छ। व्यापार समूह २७८ अंकले बढेको छ।

एसियन लाइफको सर्वाधिक २८ करोड रुपैयाँको सेयर किनबेच हुँदा निफ्राको २५ करोड, नेपाल बैंकको २२ करोड, शिखर इन्स्योरेन्सको २१ करोड र कुमारी बैंकको २० करोड रुपैयाँको सेयर किनबेच भएको छ।

आइतबार निफ्राको ६३ करोड रुपैयाँको सेयर किनबेच भएकोमा सोमबार ४४ करोड र मंगलबार २५ करोड रुपैयाँको मात्रै किनबेच भएको छ।

कुमारी बैंकको ६ लाख ८१ हजार कित्ता सेयर किनबेच हुँदा नेपाल बैंकको पाँच लाख कित्ता र निफ्राको चार लाख ९४ हजार कित्ता मात्रै सेयर किनबेच भएको छ। निफ्राको आइतबार र सोमबार १० लाख कित्ता हाराहारी सेयर किनबेच भएको थियो।