गोल्डस्टारका छालाका जुत्ताहरु एक महिनाभित्रै बजारमा आउने, ‘कोभिडले गर्दा ढिलो भो!’

सरला सुवेदी/बिजमाण्डू
२०७७ फागुन १८ गते १३:३९ | Mar 2, 2021


काठमाडौं । स्पोर्ट्स् जुत्ताका लागि चर्चित गोल्डस्टार ब्राण्डले चाँडै नै छालाका जुत्ता पनि बिक्री गर्ने तयारी गरेको छ।

Tata
GBIME
Nepal Life

बजार प्रतिस्पर्धात्मक भएकाले माग र समयअनुसार स्पोर्टस् जुत्ताहरु बिक्री गरिरहेको गोल्डस्टारले छिटै छालाका जुत्ता पनि ल्याउन लागेको कम्पनीका बजार तथा प्रवर्द्धन प्रमुख इराज श्रेष्ठले बताए। 

 ग्राहकहरुले छालाको जुत्ताको निकै माग गरेकाले उत्पादन गर्न थालेको उनले जानकारी दिए। 

'सबै तयारी भइसक्यो अब लञ्च हुन मात्र बाँकी हो। सकेसम्म एक महिनाभित्र नै बजारमा आउँछ,' श्रेष्ठले भने। कोभिड महामारीका कारण यसअघि नै पूर्ण तयारी भए पनि सार्वजनिक नगरिएको उनले बताए।

उनका अनुसार लामो समयदेखि उपभोक्ताहरुले गोल्डस्टारको स्पोर्टस् जुत्ता रुचाएको र उनीहरुबाटै छालाको जुत्ताको पनि माग आएकाले उत्पादन थालिएको हो। 

ग्राहकहरुले गोल्डस्टारका सबै शोरुमहरुबाट छालाको जुत्ता किन्न सक्ने उनले बताए। कम्पनीले हाल नयाँ नयाँ डिजाइनका जुत्ता-चप्पलहरु पनि उत्पादन गरिरहेको छ। 

हाल कम्पनीको दैनिक उत्पादनको क्षमता ८० हजार रहेको छ। नयाँ डिजाइनहरु तयार भइरहेको जानकारी पनि उनले दिए।

कम्पनीले नयाँ मेशिनहरु थप्दै उत्पादन बढाउँदै लगेको छ। बजारमा चलेका मोडलको जुत्ताहरु  गुणस्तरीय हुन् भन्नेमा कम्पनीले कुनै पनि सम्झौता नगरेको उनको दाबी छ।

सबैभन्दा पुरानो कम्पनी भएकाले गोल्डस्टारको जुत्ता तथा चप्पलहरु नेपालमा मात्र नभई भारतमा पनि प्रख्यात छ। नेपालमा भएको उत्पादन मध्ये ३५ प्रतिशत जुत्ता निर्यात हुँदै आएको उनले जानकारी दिए।

गोल्डस्टारका देशभर ६५ भन्दा बढी शोरुमहरु छन्। कोभिड महामारी अघि ५० वटा शो रुम रहेकोमा हाल उक्त संख्या बढाइएको कम्पनीले जनाएको छ। 

कम्पनीले देशभर एक सयभन्दा बढी सोरुम बनाउने लक्ष्य पनि राखेको जनाएको छ। हाल गोल्डस्टार कम्पनीमा ३ हजारभन्दा बढीले काम गर्छन्।