सुनको मूल्यमा एकै दिन १७ सयको गिरावट, तोलाको ८७ हजारमा आइपुग्यो, चाँदी पनि ४० रूपैयाँ घट्यो

बिजमाण्डू
२०७७ फागुन १८ गते १२:४० | Mar 2, 2021
सुनको मूल्यमा एकै दिन १७ सयको गिरावट, तोलाको ८७ हजारमा आइपुग्यो, चाँदी पनि ४० रूपैयाँ घट्यो


Tata
GBIME
Nepal Life

काठमाडौं। मूल्यवृद्धिमा ब्रेक लाग्दै चार दिनपछि गत सोमबार ४ सय रुपैयाँको बढोत्तरी देखिएको सुनको मूल्य मंगलबार एकै दिन १ हजार ७ सय रूपैयाँले घटेको छ।

नेपाली बजारमा मंगलबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ८७ हजार रूपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। लामो समयपछि सुनको मूल्यमा १५ सय रूपैयाँभन्दा बढीको गिरावट आएको हो। 

सोमबार प्रतितोला ८८ हजार ७ सय रूपैयाँ थियो। गत शुक्रबारका तुलनामा तोलामा ४ सय रुपैयाँले घटेर आइतबार प्रतितोला ८८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। लगानीका क्षेत्रमा कोरोनाको प्रभाव घट्दै जाँदा सुन अझ सस्तिन सक्ने व्यवसायी बताउँछन्। 

केही सातादेखि प्रतितोला १३ सयभन्दा मुनि नआएको चाँदी पनि मंगलबार सस्तिएको छ। ४० रुपैयाँ घट्दा प्रतितोला १२ सय ९० भएको महासंघले जनाएको छ। ५ रुपैयाँ बढ्दा सोमबार प्रतितोला १३ सय ३० रुपैयाँ भएको थियो। आइतबार १० रुपैयाँले घटेर प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भएको थियो।

पछिल्लो समय लगानीका अन्य क्षेत्र सहज हुँदै जाँदा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दै जाने व्यवसायीहरूको अनुमान छ। अन्तर्राष्ट्रिय बजारमा सोमबार प्रतिऔंस १७५१.३९ डलर रहेको सुन मंगलबार घटेर १७१८.३० डलरमा कारोबार भएको छ। यस्तै सोमबार प्रतिऔंस २६.९० डलरमा कारोबार भएको चाँदी पनि घटेर २६.१८ डलर भएको छ।