आइएमएसको कारोबारमा कोरोनाको अधिक असर, मोबाइलको व्यापार बढेकाले आम्दानी सप्रिने अपेक्षा

बिजमाण्डू
२०७७ फागुन १८ गते १२:१३ | Mar 2, 2021
आइएमएसको कारोबारमा कोरोनाको अधिक असर, मोबाइलको व्यापार बढेकाले आम्दानी सप्रिने अपेक्षा


Tata
GBIME
Nepal Life

काठमाडौं। मध्य तथा पश्चिम नेपालका लागि सामसङको आधिकारिक वितरक आइएमएस प्रालिको कारोबार ओरालो लागेको छ। कोभिड-१९ का कारण मोबाइल फोनको व्यापारमा मन्दी छाएसँगै आइएमएसको कारोबार घटेको रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ।
 
सन् २०१७ मा नौ अर्ब ३५ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो। २०१८ मा नौ अर्ब ९२ करोड २० लाख रुपैयाँ कारोबार गरेको थियो। सन् २०१९ बाट भने आइएमएसको कारोबारमा गिरावट आइरहेको इक्रा नेपालले जनाएको छ। 

२०१९ मा आठ अर्ब ३३ करोड रुपैयाँ आम्दानी गरेको आइएमएसको कारोबार २०२० मा भने कोरोना महामारीको ठूलो प्रभाव परेको देखिन्छ। कम्पनीले २०२० मा पाँच अर्ब ८३ करोड ८० लाख रुपैयाँमा सिमित भएको इक्रा नेपालले जनाएको छ। २०७६ चैतदेखि सरकारले कोरोना महामारी नियन्त्रणका लागि लकडाउन र स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाले मोबाइलको व्यापारमा धक्का पुगेको थियो।

तर, गत दसैंबाट भने मोबाइल आयातसँगै व्यापारमा उल्लास छाउन थालिसकेकाले आइएमएसको व्यापार पुरानै अवस्थामा फर्किने अवस्था देखिन्छ। कोरोना महामारीले भर्चुअल गतिविधिलाई बढावा दिएकाले पनि स्मार्टफोन बजार अझै विस्तार हुने इक्रा नेपालले रेटिङ विवरणमा उल्लेख गरेको छ। 

आइएमएस ग्रुपको सामसङका विद्युतीय ग्याजेट्ससँगै कृषि, अटोमोबाइल, इ-कमर्स, रियल इस्टेट, हस्पिटालिटी, अस्पताल तथा औषधि, जलविद्युत, शैक्षिक संस्था, बैंक तथा वित्तीयहरुमा लगानी छ।

आइएमएसले सन् १९९८ देखि मोबाइल फोनको आयात र बिक्री गर्दै आएको हो। कम्पनीमा व्यवसायी दीपक मल्होत्राको ५१ प्रतिशत र कृष्ण इन्टरनेसनल प्रालिको ४९ प्रतिशत सेयर स्वामित्व छ।