गौतमबुद्ध विमानस्थलका ट्याक्सीमा सनराइजको क्यूआर कोड, पाल्पामा एकै पटक ११८ ले लिए

बिजमाण्डू
२०७७ फागुन १८ गते ०९:५२ | Mar 2, 2021

Tata
GBIME
Nepal Life

भैरहवा। अन्तर्राष्ट्रिय उडान सञ्चालनको तयारीमा रहेको गौतमबुद्ध विमानस्थलबाट चल्ने भाडाका ट्याक्सीहरुमा क्युआर कोडबाट भुक्तानी प्रणाली सुरु भएको छ ।

सनराइज बैंकको क्युआर कोड प्रयोग गरी यो भुक्तानी प्रणाली सुरु भएको हो।  क्यूआरको कोडको शुभारम्भ नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका निर्देशक सुदिप फुयालले गरे।

शुभारम्भ कार्यक्रममा गौतमबुद्ध विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारी, सनराइज बैंक लुम्बिनी प्रदेश प्रबन्धक सुनिल मण्डल,  नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका सहायक निर्देशक रमेशकुमार न्यौपाने लगायत ट्याक्सी ब्यवसायीहरु र सनराइज बैंकका कर्मचारीहरुको उपस्थिति रहेको बैंकले जनाएको छ।

शुभारम्भ कार्यक्रममा निर्देशक फुयालले नेपालमा डिजिटल बैंकिङ प्रणालीको आवश्यकता बारे चर्चा गर्दै लुम्बिनी प्रदेशमा क्युआर कोड विस्तार अभियानमा नेपाल राष्ट्र बैंक लागेकोले यसलाई सफल बनाउन सबैलाई आग्रह गरे।

उनले विमानस्थलबाट चल्ने ट्याक्सीहरुमा क्युआर कोड भुक्तानी प्रणालीको प्रयोगले यात्रु तथा ट्याक्सीहरुलाई अझ सुरक्षित बनाउने र  ट्याक्सीहरुको विश्वसनियता पनि बढ्ने बताए।

कार्यक्रममा गौतमबुद्ध विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारीले नेपालमा डिजिटल भुक्तानी प्रणाली अभियान शुरु गरेकोमा नेपाल राष्ट्र बैंकलाई धन्यवाद दिए।

उनले निकट भविष्यबाटै अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने यस विमानस्थललाई प्रविधियुक्त बनाउन जरुरी रहेकाले क्युआर कोड लगायतको डिजिटल बैंकिङ प्रणाली विस्तार गर्न सहयोग गर्ने बताए।

कार्यक्रममा सनराइज बैंकका प्रदेश प्रमुख सुनिल मण्डलले क्युआर कोड विस्तारमा देखिएका चुनौतीहरुलाई सहजीकरण गरिदिनको लागि नेपाल राष्ट्र बैंकलाई आग्रह गरे।

उनले लुम्बिनी प्रदेशका जिल्लाहरुमा क्युआर कोड भुक्तानी प्रणाली विस्तारको लागि सनराइज बैंक सक्रियताका साथ लागिरहेको बताए।

यसैगरी नेपाल बैंक लिमिटेडले पाल्पा जिल्लामा एकैपटक एकसय १८ व्यवसायीहरुबाट क्युआर कोडको माध्यमबाट भुक्तानी प्रणाली सुरु गरेको छ।

तानसेन नगरपालिकाका मेयर अशोक शाही र नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका सहायक निर्देशक रमेशकुमार न्यौपानेले यो प्रणाली सुरु गरेको बैंकले जानकारी दिएको छ।

पाल्पा जिल्ला भित्रका ढाका कपडा व्यवसायी, कृषक, कानुनी सेवा व्यवसायी, सहकारी संस्था, विद्यालय, मोटरसाइकल मर्मत पसल, होटल रेष्टुरेन्ट लगायत विविध क्षेत्रका व्यवसायीहरु गरी एक सय १८ जनालाई क्युआर वितरण गरिएको नेपाल बैंक लिमिटेड पाल्पा शाखाले जनाएको छ।

नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका सहायक निर्देशक रमेशकुमार न्यौपानेले डिजिटल भुक्तानी प्रणालीलाई गाउँगाउँसम्म पुर्‍याउन नेपाल राष्ट्र बैंकले अभियान थालेको बताउँदै यो प्रविधि सुरक्षित, सजिलो र सर्वसाधारण पहुँचसम्म पुर्‍याउन कम खर्चिलो भएकोले क्युआर कोडबाट भुक्तानी गर्न सर्वसाधारण अभिप्रेरित गर्नुपर्ने बताए।

तानसेन नगरपालिकाका मेयर अशोक शाहीले विज्ञान प्रविधिको विकास भएसँगै बैंकिङ प्रविधिलाई सबैले अवलम्बन गर्दै जानुपर्ने धारणा राखे।