पाँच दिनपछि हरियो भएको सेयर बजारमा ४० अंकको उछाल, चारबाहेक सबै कम्पनीका लगानीकर्ताले कमाए

बिजमाण्डू
२०७७ फागुन १७ गते १५:३६ | Mar 1, 2021
पाँच दिनपछि हरियो भएको सेयर बजारमा ४० अंकको उछाल, चारबाहेक सबै कम्पनीका लगानीकर्ताले कमाए

Tata
GBIME
Nepal Life

काठमाडौं। लगातार ओरालो लागेर पाँच दिनपछि हरियो भएको सेयर बजारमा ४० अंकको उत्साहजनक उछाल आएको छ।

सोमबार बजार सुधार हुँदा सातवटा कम्पनीको मूल्य स्थिर रह्यो भने चारवटाको घट्दा बाँकी सबै कम्पनीको सेयर मूल्य बढेको छ । खानीखोला हाइड्रो, पञ्चकन्या माइ हाइड्रो, स्ट्यान्डर्ड चार्टर्ड बैंक र माहुली सामुदायिक लघुवित्तको सेयर मूल्य मात्रै घट्यो। 

फागुन १० मा २६४० को विन्दुबाट लगातार ओरालो लागेको सेयर बजार आइतबार २४७४ विन्दुसम्म झरेको थियो। सोमबार पनि सुरुवाती समयमा बजार घटेर २४४४ अंकसम्म ओर्लिएपनि बन्द हुँदा भने ४० अंकको वृद्धिसहित बजार सूचक २५१५ मा पुगेको हो।

पछिल्ला दिनमा बजार घट्नुपर्ने कुनै कारणै नभएपनि अफवाहको भरमा घटेको लगानीकर्ता र बजार विश्लेषकहरुको टिप्पणी रहेको थियो ।

'कागले कान लग्यो भनेपछि कानै नछामी कागको पछि दौडिएका लगानीकर्ताले आफ्नो कान आफैसँग भएको थाहा पाएपछि बजारको घट्नेक्रममा ब्रेक लागेको छ,' इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले भने।

आज सबै उपसमूह हरियो भएको बजारमा सबैभन्दा धेरै जीवन बीमा समूहको सूचक ३५९ अंकले बढेको छ। निर्जिवन बीमा समूह १८३ अंकले बढ्दा व्यापार समूह ९७ अंक, लघुवित्त ८१ अंक, उत्पादन ६८ अंक, होटल तथा पर्यटन ५५ अंक, विकास बैंक ३८ अंक, जलविद्युत ३० अंक, अन्य २७ अंक, बैंकिङ २६ अंक र फाइनान्स समूह २३ अंकले बढेको छ।

चन्द्रागिरी हिल्सको सेयर मूल्य करिब १० प्रतिशतले बढेर सर्किट लागेको छ भने कर्पोरेट डेभलोपमेन्ट बैंकको पनि ८ प्रतिशतले बढेको छ। बरुण हाइड्रोपावर, गुह्वेश्वरी मर्चेन्ट बैंक र आशा लघुवित्तको सेयर मूल्यमा समेत ६/६ प्रतिशतको बढोत्तरी भएको छ।

सोमबार निफ्राको सर्वाधिक रकम (४४ करोड रुपैयाँको) सेयर किनबेच हुँदा शिखर इन्स्योरेन्सको ३० करोड, ग्लोबल आइएमई बैंकको २३ करोड, नेपाल बैंकको २० करोड र नेपाल लाइफको १८ करोड रुपैयाँको सेयर कारोबार भएको छ।

यस्तै कारोबार कित्ताका हिसाबले पनि निफ्राको सर्वाधिक आठ लाख ६३ हजार कित्ता सेयर किनबेच भएको छ। यस्तै, ग्लोबल आइएमई बैंकको पाँच लाख २१ हजार कित्ता, नेपाल बैंकको चार लाख ४९ हजार कित्ता, कुमारी बैंकको तीन लाख ५२ हजार कित्ता र प्रभु बैंकको दुई लाख ८९ हजार कित्ता सेयर किनबेच भएको छ।

आज कुल २०९ कम्पनीको पाँच अर्ब ६९ करोड रुपैयाँ बराबरका एक करोड १८ लाख कित्ता सेयर किनबेच भएका छन्।