एक सातामा १६६ अंकको करेक्सनपछि सेयर बजार देखियो हरियो, के फेरि उकालो लाग्ने संकेत हो ?

बिजमाण्डू
२०७७ फागुन १७ गते १३:०५ | Mar 1, 2021
एक सातामा १६६ अंकको करेक्सनपछि सेयर बजार देखियो हरियो, के फेरि उकालो लाग्ने संकेत हो ?


काठमाडौं । फागुन १० यता (फागुन १२ मा सामान्य सुधारबाहेक) लगातार ‌ओरालो लागेको सेयर बजार एक सातापछि हरियो देखिएको छ। 

Tata
GBIME
Nepal Life

फागुन ११ मा सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको आदेश दिएको अघिल्लो दिनदेखि नै संकटकालको हल्लाले राजनीति तरलता गहिरिने अनुमानको असर सेयर बजारमा देखियो। सोही अफवाहले १० गते बजार सूचक झन्डै ३३ अंकले ओरालो लागेको थियो। 

त्यसअघि करिब एक साता बजार लगातार उकालो लागेकाले सूचकले तीन हजारको आँकडा छुने अनुमान सेयर बजारका जानकारहरुले विश्लेषण गरेका थिए। एक साताअघिबाट बजार घट्न थाल्नुपहिले बजार परिसूचक नेप्से २६४० विन्दुसम्म उक्लिएको थियो। तर अघिल्लो हप्ताको सोमबारबाट ओरालो लाग्न थालेपछि यो २४७४ को विन्दुसम्म आएको हो।

उक्त विन्दुबाट आज सोमबार पुनः बजार उकालो लाग्ने संकेत देखिएको छ। आज नियमित कारोबार सुरु भएको समययता ८१ अंक (२४४२ देखि २५२३ सम्म) को उतारचढाव आइसकेको भए पनि यो समाचार तयार पार्दासम्म समग्रमा सूचक २७ अंकभन्दा बढीले माथि उक्लिसकेको छ। यससँगै बजार सूचक पुनः २५०० अंक पार गरेको छ।

यस्तै, १३ समूहहरुमध्ये म्युचुअल फन्डबाहेक सबैको उपसूचक हरियो बनेकाले पनि बजार फेरि साता दिन अघिको लयमा फर्किने विश्वास लगानीकर्ताहरुले गरेका छन्।

चन्द्रागिरी हिल्सको आजपनि कारोबार मूल्यमा १० प्रतिशत (४१ रुपैयाँ) ले बढेर सर्किट ब्रेकर लाग्दै प्रतिकित्ता मूल्य ४५५ रुपैयाँ पुगेको छ। सारथी नेपाल लघुवित्त, आरएसडीसी लघुवित्त, नेपाल हाइड्रो डेभलपर, समृद्धि फाइनान्स लगायतका कम्पनीको सेयर मूल्य पनि बढेको छ।

सिटिजन्स म्युचुअल फन्ड-२, सनराइज फर्स्ट म्युचुअल फन्ड, सानिमा लार्ज क्याप फन्ड, नबिल इक्विटी फन्ड लगायतका सामूहिक लगानी योजनाहरुको मूल्य क्रमशः सबैभन्दा धेरैले घटेको छ।

आज यो समाचार तयार पार्दासम्ममा सबैभन्दा धेरै रकमको किनबेच हुने सेयरमा निफ्रा, शिखर इन्स्योरेन्स, नेपाल बैंक, ग्लोबल आइएमई, नेपाल लाइफ इन्स्योरेन्स लगायतका कम्पनीहरुको रहेको छ।

३६.१ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको शिखर इन्स्योरेन्सले ३० प्रतिशत हकप्रद समेत दिने प्रस्ताव आगामी साधारणसभामा लैजाने सूचना सार्वजनिक भएसँगै यसको मूल्य दुई दिनयता उकालो लागेको हो।

'हल्लाको पछाडि दौडिँदा घट्यो बजार'
हल्लाको पछाडि दौडिएर सिधासोझा लगानीकर्ताले सेयर बिक्री गर्दा बजार घटेको तर अहिले उनीहरुले अफवाह फैलिएजस्तो अवस्था नरहेको बुझेपछि पुनः बजार पुरानै लयमा देखिएको नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारको बुझाइ छ।

'बजार कति अंक माथिसम्म पुग्ला भन्न सकिँदैन। तर अहिले बजार घट्नुपर्ने कुनै कारण छैन। हिजो बढ्दा जे अवस्था थियो आज पनि त्यै छ,' रौनियार भन्छन्, 'बैंकको ब्याजदर बढेको छैन। सर्वोच्चको फैसलापछि राजनीतिक अस्थिरताको खतरा पनि छैन। यसैले अहिले लगानीकर्तालाई सेयर बजारमा जोखिम छैन भन्ने पुनः अनुभूति भएकाले बढ्न सुरु भएको हो।' 

यस्तै, सेयर बजार विश्लेषक अनलराज पनि 'जतिबेला राजनीतिक अस्थिरता थियो त्यतिबेला पनि बजार बढेको बढ्यै गर्‍यो भने सर्वोच्चको फैसला राजनीतिक अस्थिरता निरुत्साहित गर्ने हिसाबले आएपछि भने घट्नुपर्ने कारण नभएको बताउँछन्।

'बजार २१०० विन्दुभन्दा माथि गइसकेकाले करेक्सन भएर २५०० अंकसम्म आउनु स्वाभाविक हुन्थ्यो। तर त्‍योभन्दा थोरै तल आयो,' उनले भने, ' बैंकिङ प्रणालीमा तरलता पनि कसिलो छैन भने ब्याजदर पनि बढेको अवस्था नभएकाले आधारहीन हल्लाले मात्र बजार घटेको हो।'

एक सातायता सेयर बजार सूचकको अवस्था: 

पछिल्लो एक साता बजार घट्नुको सबैभन्दा ठूलो कारण निफ्राको सेयर पनि बन्यो। नेप्सेमा सूचीकरण भएको एक हप्तासम्म लगातार मूल्य बढेर दिनको कारोबार रोक्का (सर्किट ब्रेकर) भएको निफ्राको सेयर मूल्य ६६० पुगेको भोलिपल्‍ट (फागुन १२ मा) पनि १० प्रतिशतले बढ्दै ७२६ रुपैयाँ पुग्यो। तर त्यो मूल्य धेरैबेर टिकेन। 

अहिलेसम्मै सबैभन्दा ठूलो परिमाण जारी भएकाले यस कम्पनीको सेयर बजारमा अत्यधिक फ्लोट हुनसक्ने अनुमानमा लगानीकर्ताहरुले नाफा बुक गर्न थालेपछि ७२६ रुपैयाँको सर्किट मूल्यबाट सोही दिन केहीबेरपछि घटेर सेयर बिक्री हुन थालेको थियो। तर नेप्सेको प्रणालीमा प्राविधिक त्रुटिका कारण यसको मूल्य शून्यमा झरेको देखिएसँगै यसको कारोबार रोक्का भयो तर त्यसलाई परिसूचकमा भने समायोजन गरिएन। 

त्यसरी बजार पुँजीकरण खर्बमाथि रहेको कम्पनीको कारोबार मूल्य एक्कासी शून्यमा झरेको देखिँदा यसको सोझो असर बजार सूचकमा पनि पर्‍यो। निफ्राको मूल्य शून्यमा झरेको देखिएको बेला बजार सूचक एकैछिनमा स्वाट्टै करिब ८५ अंकले घट्यो । फागुन १२ मा देखिएको त्यो अवस्थामा पुनः सुधार आएर अन्तिममा १३ अंकले बढेर बजार बन्द भयो। 

यद्यपि उक्त दिन बजारमा ठूलो अंकको उतारचढाव देखेपछि लगानीकर्ताहरु 'मार्केट क्र्यास' को अनुमानमा अत्तालिएका थिए। जसले गर्दा थप नोक्सानी ब्यहोर्नुपर्ने हो कि भन्ने आशंकामा संस्थागतका साथै आम लगानीकर्ताले निफ्राका साथै अन्य कम्पनीको पनि सेयर धमाधम बिक्री गर्न थाल्दा समग्रममा साताभर करिब १६६ अंकले सेयर बजार परिसूचक तल ओर्लियो।