निसानको ‘म्यागनाइट’ सार्वजनिक भएको दुई महिनामै ४० हजारभन्दा बढी बुकिङ, भारतमा मूल्य ५ लाख मात्र

बिजमाण्डू
२०७७ फागुन १३ गते १४:३९ | Feb 25, 2021
निसानको ‘म्यागनाइट’ सार्वजनिक भएको दुई महिनामै ४० हजारभन्दा बढी बुकिङ, भारतमा मूल्य ५ लाख मात्र

काठमाडौं। जापानी अटो ब्रान्ड निसानको भारतीय सहायक कम्पनी निसान इण्डियाले उत्पादन गरेको एसयुभी सेगमेन्टको नयाँ गाडी 'म्यागनाइट' सार्वजनिक गरेको दुई महिनामै ४० हजारभन्दा बढी बुकिङ भएको छ। ]

Tata
GBIME
Nepal Life

सन् २०२० को अन्तिम महिना सार्वजनिक गरिएको यो गाडीको बुकिङ गत जनवरीमा मात्र ३२ हजार आठ सयवटा भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो गाडी सार्वजनिक भएको पाँच दिनमै पाँच हजारवटा बुकिङ भइसकेको थियो ।

'सार्वजनिक भएदेखि फेब्रुअरीमै हामीले ४० हजारभन्दा बढी बुकिङ लिन सफल भएका छौं। ग्राहकले यो प्रडक्ट मन पराएका छन् र अहिले बुकिङ गरेका प्रायः ग्राहकहरु पनि निसानकै प्रयोगकर्ता छन्,' कम्पनीका प्रबन्ध निर्देशक राकेश श्रीवास्तवले भनेका छन्। 

शहर र भेरियन्टलाई दृष्टिगत गर्दै कम्पनीले चारदेखि ६ महिनाभित्र गाडी डेलिभरी गर्ने योजना बनाएको छ। गाडी माग बढेपछि कम्पनीले तामिलनाडुस्थित ओर्गादम प्लान्टमा उत्पादन विस्तार सुरु गरिसकेको छ।

बुकिङ गरिसकेका ग्राहकलाई समयमै उत्पादन हस्तान्तरण गर्ने उद्देश्यले कम्पनीले निसानले भारतीय प्लान्टको उत्पादन क्षमता पनि विस्तार गरेको श्रीवास्तवले बताएका छन्। फेब्रुअरी अगाडिबाटै उत्पादन सुरु गरिएको निशान म्याग्नाइटको भारतीय प्लान्टमा एक हजार जना  जनशक्ति कार्यरत छन्। 

भारतमा पाँच लाखमै आउने   

१.० नेचुरल्ली एस्पिरेटेड पेट्रोल र १.० लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिन लगायत दुई इन्जिन अप्सनमा उत्पादन गरिएको यो गाडीको सुरुआती मूल्य भारतमा पाँच लाख भारु अर्थात् नेपाली ८ लाख रुपैयाँबराबर छ। यो गाडी अन्य एसयुभीको तुलनामा सस्तो हुनुका साथै फराकिलो, सुन्दर र सुविधायुक्त रहेको कम्पनीको दाबी छ।

नेपालमा पनि गत सोमबार मात्र यो गाडी सार्वजनिक भएको हो। यस गाडीको सुरुआती मूल्य यहाँ भने २९ लाख ४९ हजार रुपैयाँ तोकिएको छ। नेपालमा पायोनियर मोटोकर्प निसानको आधिकारिक बिक्रेता हो । 

यो गाडी नेपाली बजारमा पनि विभिन्न ११ भेरियन्टमा उपलब्ध हुने पायोनियरले जनाएको छ। जसको सबैभन्दा प्रिमियम भेरियन्टको मूल्य ४२ लाख ७९ हजार रुपैयाँ पर्नेछ।

गाडी उत्पादनका लागि सेमिकन्डक्टर र कन्टेनरको सर्टेजसँगै स्टिलको मूल्यवृद्धि चुनौतीको विषय रहेको निशान इन्डियाले जनाएको छ। 'अहिले त हामी सप्लायरको सहायताले काम गर्न सकिरहेका छौं। तर यो चुनौती झन् झन् बढ्दै गएको छ,' श्रीवास्तवले भनेका छन्।