काठमाडौं। तत्तकालिन किस्ट बैंक (अहिलेको प्रभु बैंक) को ऋण नतिरेपछि समस्यामा परेका चलचित्र निर्माता मधुसुदन सिलवालले न्यायिक निकायबाट पनि मुद्दा हारेका छन्।
ऋण असुली न्यायाधिकरणले उनलाई हराइ दिएको हो। श्रीगणेश नेपाल इन्भेष्टमेन्ट प्रालिका नाममा ऋण चलाएका थिए।
रियलस्टेट तथा हाउजिङ कारोबारीसमेत रहेका उनलाई २०६६ को आर्थिक मन्दीले समस्यामा परेको थियो। आफ्नो क्षमताभन्दा बढि ऋण लिएर उनले रियलस्टेटमा लगानी गरेका थिए।
राष्ट्र बैंकले घरजग्गा ऋणमा कसिलो नीति लिएपछि उनीलगायत थुप्रै ब्यवसायी समस्यामा परेका थिए। त्यतिबेला लिएको ऋण तिर्न नसकेपछि प्रभु बैंक ऋण असुली न्यायाधिकरण पुगेको थियो।
न्यायाधिकरणले २०७६ साउन २१ गते नै सिलवालको विपक्षमा फैसला गरेको थियो। तर, सिलवाल सम्पर्कमा आएका थिएनन्। न्यायाधिकरणले २०७७ माघ २३ गते अर्को निर्णय गर्दै सार्वजनिक रुपमा फैसालका बारेमा जानकारी दिएको हो।
सिलवाल समस्यामा परेको प्रभु बैंकमा मात्र होइन। उनले थुप्रै संस्थाको ऋण चलाएका छन्। अधिकांसको तिरेका छैनन्। उनको चावहिल गणेशस्थानको जग्गा लिलाममा चढेको थियो। प्राइम कमर्सियल बैंकको ऋण नतिरेपछि उनी पहिलो पटक समस्यामा परेका थिए।
क्यापिटल मेर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको घोटलामा पनि उनको संलग्नता पाइएको थियो। उनले अस्वभाविक रुपमा सम्पति कमाएको आशंकामा सम्पति सुद्धिकरण विभागलेसमेत अनुसन्धान गरेको थियो।
सिलवाल तत्कालिन सिद्धार्थ डेभलपमेन्ट बैंकका पूर्वसञ्चालक समेत थिए। श्रीगणेश जेन्टल फिल्म्सको व्यानरमा उनले जीवन रेखा, ए पण्डित बाजे, मनमा माया र 'मेरो के गति हुने हो' भन्ने चार वटा चलचित्र निर्माण गरिसकेका छन्।
प्रभु बैंक स्रोतका अनुसार, उनले प्रभु बैंकको १० करोड रुपैयाँ ऋण तिरेका छैनन्। यसको ब्याज, जरिवाना सबै गरेर करिव १७/१८ करोड रुपैयाँ पुगिसकेको छ।