विज्ञ समूहबाट होटल क्षेत्रमा स्वास्थ्य सुरक्षा तालिम सुरु, सातै प्रदेशमा आयोजना हुने

बिजमाण्डू
२०७७ फागुन १२ गते १८:०८ | Feb 24, 2021
विज्ञ समूहबाट होटल क्षेत्रमा स्वास्थ्य सुरक्षा तालिम सुरु, सातै प्रदेशमा आयोजना हुने

Tata
GBIME
Nepal Life

काठमाडौं। होटल संघ नेपाल र केन्द्रीय ट्रेड युनियनको सहकार्यमा बुधबारदेखि व्यवसायजन्य सुरक्षा र स्वास्थ्य तथा कोभिड–१९ ले पर्यटन क्षेत्रमा पारेको असरबाट बच्ने उपायकेन्द्रित तालिम सुरु भएको छ।

जनस्वास्थ्य र हस्पिटालिटी क्षेत्रमा आवद्ध तीनजना विज्ञमार्फत दिइने तालिम कार्यक्रम सातै प्रदेशमा संचालन गर्ने योजना रहेको कार्यदलका संयोजक एवं होटल संघ नेपालका महासचिव साजन शाक्यले बताए।

होटल क्षेत्रमा आवद्ध लगानीकर्ता र श्रमिकबीचको सहकार्यमा सुरु गरिएको तालिम अभियान दक्षिण एसयामै पहिलोपटक रहेको होटल संघका उपाध्यक्ष विनायक शाहको भनाइ छ । 'अबको समय भनेको होटलको संरचना, क्षमता, सुविधाभन्दा कोभिड-१९ नियन्त्रणका लागि स्वास्थ्य सुरक्षा मापदण्ड कसरी पालना गरेका छौं भन्ने महत्त्वपूर्ण छ,' उनले शाहले भने, 'एक वर्ष जेनतेन टिक्यौँ। राजनितीले फेरि कोल्टो फेर्यो, अब कसरी टिक्ने भन्ने हाम्रा लागि चुनौतिको विषय बनेको छ।'

होटलमा कार्यरत श्रमिकको गुमेको रोजगारीलाई मध्यनजर गर्दै यतिबेला सरकारले सामाजिक सुरक्षा कोषमा जम्मा गरेको पैसा वितरण गर्न आवश्यक रहेको उनको भनाइ छ । 

कोभिडका कारण मुलुकको होटल उद्योगमा आवद्ध लगानीकर्ता र श्रमिकको गरिखाने बाटो जोगाउनु नै अहिलेको मुख्य चुनौति रहेको होटल संघ नेपालकी अध्यक्ष सिर्जना राणाले बताइन्। अहिले सुरु गरिएको तालिममार्फत पर्यटकलाई दिइँदै आएको खाना, बसाई लगायतको सेवामा थप सुधार हुने उनले बताइन्। 'विस्तारै पर्यटन क्षेत्रले लय लिँदै छ। अब लगानीकर्ता र श्रमिक दुवै पक्षले हातेमालो गर्दै यो क्षेत्रलाई उकास्न आवश्यक रहेको छ,' राणाले भनिन्।

होटल सेवामा लागू गरिएको स्वास्थ्य सुरक्षा मापदण्ड प्रभावकारी रुपमा पालना गराउनका लागि सुरु गरिएको तालिम आयोजनाका लागि सातै प्रदेशमा सहभागिता जनाउन तयार रहेको आधिकारीक कर्मचारी ट्रेड युनियनका अध्यक्ष खेमराज खड्काले बताए।                    

कोभिड-१९ विरुद्धको भ्याक्सिन होटलमा कार्यरत कर्मचारीलाई लगाउन आवश्यक रहेको पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले बताए। 'होटलमा जाने मान्छे चाहिँ खोप लगाउने रे, होटलका श्रमिकलाई चाहिँ खोप लगाउन नपर्ने हो त?' महानिर्देशक तामाङले भने,'अबको हाम्रो योजना भनेको यो समूहलाई पनि भ्याक्सिन दिनु हो।' पछिल्लो समय आन्तरिक पर्यटकीय गतिविधी क्रमिक रुपमा लयमा फर्किए पनि चारतारे र पाँचतारे होटल भने अझैपनि प्रभावित नै रहेको उनले बताए।

पर्वतारोहण र पदयात्रा गर्न आउने पर्यटकलाई ध्यानमा राखेर विभागले क्वारेन्टाइन मापदण्ड पुनरावलोकनका लागि प्रस्ताव गरिसकेको पनि तामाङले जानकारी दिए। विदेशी पर्यटक आवागमन सहजताका लागि भ्याक्सिन लगाएर आएकालाई निर्वाध भ्रमण खुला गराउने विषयमा पनि छलफल सुरु गरेको उनले बताए।

पर्यटन क्षेत्रमा सर्वप्रथम जनशक्ति नै सुरक्षित हुन आवश्यक रहेको बताउँदै उनले भने,'यदि जनशक्ति सुरक्षित भए भने उनीहरुसँग दैनिक प्रत्यक्ष सम्पर्कमा आउनेहरु सुरक्षित हुन्छन्। पर्यटन क्षेत्रलाई अगाडि बढाउने हो भने समबद्ध सबै जनशक्तिलाई भ्याक्सिन दिन आवश्यक छ। एउटा देश भित्रको संक्रमण व्यवस्थापन र अर्को व्यवसायमा नै जोखिम छैन भन्नका लागि व्यवसाय खुला गर्नुपर्छ र व्यवसायजन्य सुरक्षा र स्वास्थ्य मापदण्ड कार्यन्वयनमा ल्याउनु पर्छ।'