सेयर बजारमा १२१ अंकको उतारचढाव, सूचक १२ अंकले बढ्दा १२८ कम्पनीका लगानीकर्ताले कमाए

बिजमाण्डू
२०७७ फागुन १२ गते १५:२९ | Feb 24, 2021
सेयर बजारमा १२१ अंकको उतारचढाव, सूचक १२ अंकले बढ्दा १२८ कम्पनीका लगानीकर्ताले कमाए


Tata
GBIME
Nepal Life

काठमाडौं । राजनीतिक तरलतासँगै संकटकालको हल्लाले मंलगबार २१ अंकले घटेको सेयरबजार बुधबार भने १२.५६ अंकले मास्तिर फर्किएको छ । यसका बाबजुद अघिल्लो दिनजस्तै बुधबार पनि बजार भने उच्च उतारचढावपूर्ण रह्यो ।

‌आज सेयर बजार परिसूचक नेप्से  २६२० विन्दुसम्म उक्लिएर २४९८ विन्दुसम्म ओर्लिँदा कारोबारमा १२१.५४ अंकको उतारचढाव देखियो । यद्यपि, कारोबार बन्द हुँदा बजार सूचक २५९९.०८ विन्दुमा पुगेर अडिएको छ । मंगलबार पनि सेयरबजारमा ११३ अंकको अस्थिरता देखिएको थियो ।

२५८६ विन्दुबाट सुरु भएको आजको कारोबार प्रि-ओपन सेसनमा करिब १४ अंकले बढेर २६०० को विन्दु छोएको थियो । नियमित कारोबारको पहिलो चार मिनेटमै २६२० अंकसम्म पुगेको सूचक सोपछि भने लगातार ओरालो लाग्दै १९औं मिनेटमा भने एकैचोटी ८३ अंकले स्वाट्टै घटेको देखिएको थियो । यद्यपि, निफ्राको सेयर कारोबार मूल्य प्राविधिक कारणले स्टक एक्सचेन्जको प्रणालीमा शून्य देखिँदा यस्तो भएको बताइएको छ । 

११:३५ बाट भने क्रमशः बजार सूचक उकालो लाग्दै पुन तल ओर्लंदै दिउँसो सवा १ बजेबाट स्थिरजस्तै रहँदै अन्त्यमा २६०० विन्दुनजिक पुगेर बन्द भएको हो । 

अघिल्लो दिन घटेको भएपनि बजार बढ्न सक्ने आकलनमा बुधबार लगानीकर्ता पर्ख र हेरको स्थितीमा देखिए । सोही कारण धितोपत्र खरिद-बिक्री गर्ने लगानीकर्ताको सहभागिता आज १२ बजेदेखि नै घटेको थियो । 

नेप्सेमा सूचीकरण भएको पहिलो दिनदेखि नै लगातार एक हप्तासम्म सकारात्मक सर्किट ब्रेकर लागेको निफ्राको सेयर मूल्य बुधबार भने ५.३९ प्रतिशत (३२ रुपैयाँ) ले घट्यो । मंगलबारको तुलनामा निफ्राको मूल्य स्थिर हुने संकेत यसले दिएको छ । मंगलबार १० अंकले यसको सेयर मूल्य घटेर कारोबार रोकिएको थियो । यद्यपि, हिजो र आज दुवै दिन यस कम्पनीको सेयर बिक्री गर्न खोज्नेको भीड लागेको छ । माग भने त्यसको तुलनामा निक्कै कम छ । यसका बाबजुद बुधबार निफ्राको मात्र ५६ करोड रुपैयाँ बराबरको ९ लाख ९२ हजार भन्दा धेरै कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबार भएकामध्ये मूल्य बढेका १२८ कम्पनीका लगानीकर्ताले कमाए भने ५८ वटाको सेयर मूल्य घट्यो । १३ वटाको भने स्थिर रह्यो । 
यीमध्येका तीन कम्पनी आइएमइ जनरल इन्स्योरेन्स, नेपाल फाइनान्स र चन्द्रागिरी हिल्सको सेयर मूल्य करिब १० प्रतिशतले बढेर सर्किट ब्रेकर लाग्यो । बाँकी १२५ वटाको कम्तिमा ०.०५ देखि ५.३० प्रतिशतसम्मले मूल्य बढ्यो । 

मूल्य घटेर कुनैपनि कम्पनीको सर्किट ब्रेकर लागेन । सर्वाधिक घट्नेमा निफ्रा (-५.३९%) नै रह्यो ।

बुधबार सेयर बजारमा झन्डै ७० हजार कारोबारबाट  कुल ६ अर्ब ७० करोड रुपैयाँ बराबरको एक करोड ६७ लाख २६ हजार कित्ता धितोपत्रको किनबेच भयो । मंगलबारको भन्दा यो कारोबार रकम झन्डै दुई अर्बले कम हो । 

आज सर्वाधिक रकमको सेयर किनबेच हुने कम्पनीमा क्रमशः नेपाल बैंक, निफ्रा, नेको इन्स्योरेन्स, एनआइसी एसिया बैंक र ग्लोबल आइएमई बैंक रहे । सर्वाधिक कित्ता किनबेच भएका पाँचमध्ये तीनवटा धितोपत्र म्युचुअल फन्ड रहेका छन् । नेपाल बैंकको सबैभन्दा धेरै संख्यामा (करिब १२ लाख ३५ हजार कित्ता) सेयर किनबेच भयो । सोपछि क्रमशः नबिल ब्यालेन्स फन्ड, निफ्रा लगायत रहेका छन्। 

यस्तै, सबैभन्दा धेरै संख्यामा कारोबार हुने पाँच कम्पनीमा क्रमशः निफ्रा (१८८२१), नेपाल बैंक (२२०१), अपि पावर (१८५६), प्रभु लाइफ इन्स्योरेन्स (१६२५), अपर तामाकोशी (१५४१) लगायत रहेका छन् ।