‘उद्यममैत्री शिक्षाका लागि युवा सोच र बहुसंकाय सहकार्य आवश्यक,’ नरोत्तम अर्यालको टिप्पणी

बिजमाण्डू
२०७७ फागुन १२ गते १७:१० | Feb 24, 2021
‘उद्यममैत्री शिक्षाका लागि युवा सोच र बहुसंकाय सहकार्य आवश्यक,’ नरोत्तम अर्यालको टिप्पणी


Tata
GBIME
Nepal Life

अर्थतन्त्रको इन्जिनलाई चलायमान बनाउन नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धन महत्त्वपूर्ण हुन्छ भन्ने कुराको गहिरो आत्मसात युरोप, अमेरिका लगायतका पश्चिमा मुलुकहरुसँगै हाम्रै छिमेकी चीन र भारतसम्मले गरेका छन् । सरकारको नीति मात्र नभएर शिक्षा प्रणालीसमेत उद्यमशीलतामैत्री बनाइएकाले ती मुलुकमा स्टार्टअपहरुबाटै वर्षेनी थुप्रै नवप्रवर्तन (इन्नोभेसन) भएको पाइन्छ ।

देशमा उद्यमशीलता विकासका लागि सबैभन्दा पहिले शिक्षा प्रणालीमै आमूल रुपान्तरबाट अघि बढ्नुपर्ने आवश्यकता उनीहरुले धेरै पहिले बुझे । तर नेपाल भने यो पक्षमा धेरै पछाडि छ, भलै पछिल्ला केही वर्षयता हाम्रो 'आन्ट्रप्रेनरशीप इकोसिस्टम' ले पनि यो कमि महशुस गरेको छ र त्यसउन्मुख हुन प्रयत्नरत छ।

शिक्षा प्रणाली र शिक्षण विधिमै समयसापेक्ष सुधार नभएकाले पनि हामीकहाँ उद्यमशीलताको प्रस्थानविन्दु नवउद्यम (स्टार्टअप) लाई अर्थतन्त्रको गतिशिलतासँग जोड्न सकिएको छैन, जबकि 'आन्ट्रप्रेनरशीप इकोसिस्टम' राम्रो भएका मुलुकमा अर्थतन्त्रलाई उद्देलित बनाउन स्टार्टअपहरुले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

नेपालमा १० वर्षअघि मात्र उद्यमशीलतामै औपचारिक डिग्रीको सुरुआतका रुपमा 'एमबीए इन आन्ट्रप्रेनरशीप' सुरु भएको हो । तर उद्यमशीलतालाई केबल यसकै डिग्री मात्र नभएर हाम्रो समग्र शिक्षा पद्दतीको अवस्था र प्रवृत्तिसँग जोडेर हेर्न आवश्यक छ ।

लामो समयसम्म हामीले औपचारिक शिक्षा भनेको पढाउने मात्र भन्ठान्यौं । तर यो पढ्ने/पढाउने नभएर सिक्ने कुरा हो भन्ने मेरो बुझाइ रहँदै आएको छ। त्यहीअनुसार उद्यमशीलता पनि जन्मजात गुण नभएर सिक्न सक्ने कुरा हो भन्ने मेरो पहिलो तर्क हो।

दोस्रो – हामीकहाँ शिक्षा भनेको एउटा पाठ्यक्रममा राखिदिएर शिक्षकले पढाउने र विद्यार्थीले लेखेर जाँच दिनेमा मात्र सीमित भयो। यसलाई परिवर्तन गरेर समग्र औपचारिक शिक्षालाई पनि सिकाइमा केन्द्रित हुनेगरी बदल्नुपर्छ भन्ने म ठान्छु। विद्यार्थीको सिकाइ महत्त्वपूर्ण हुने भएकाले हामी एजुकेटरहरुले 'पढाउने' होइन 'सिकाउने' मान्यता राख्नुपर्छ ।

तर हामीकहाँ शिक्षकलाई किताबको ज्ञान भए विद्वान हुने र कक्षा कोठामा गएर उसले विश्लेषण गरिदिने, विद्यार्थीले नोट बनाउने र परिक्षामा लेखेर विद्वान हुने परिपाटी बस्यो, तर विद्यार्थीमा 'सिकाइ' भने भएको हुँदैन। उद्यमशीलतामा मात्र नभएर चाहे समाजशास्त्र होस् या इन्जिनियरिङ वा अन्य धेरै विधामा हाम्रो शिक्षा प्रणाली यस्तै भयो। यसैले उद्यमशीलता विकासका लागि यसको शिक्षासँगको सम्पर्क कडी के हो भन्ने कोणबाट समग्रमा हेर्न जरुरी छ।

हामीले बच्चैदेखि सुन्दै आएको एउटा भनाइ छ – 'इट रिक्वायर्स अ भिलेज टु एजुकेट अ चाइल्ड।' अर्थात्,  एउटा बच्चालाई सिक्नका लागि समाजको समग्र इकोसिस्टम महत्त्वपूर्ण र आवश्यकता हुन्छ। त्यसैगरी युवालाई उद्यमशील बनाउने हो भने औपचारिक कोर्समा राखिदिएर वा पढाएर मात्र पनि हुँदैन, त्यसको सहायता प्रणाली (सपोर्ट सिस्टम) समेत विकास गर्नुपर्छ। उद्यम गर्न चाहनेलाई सहज भौतिक वातावरण र कम्युनिटी नै सिर्जना गर्नुपर्ने हुन्छ।  यसकारण अहिले हामीले बुझेजस्तो शिक्षा भनेको आइसोलेसनमा एउटा कलेज वा कक्षा कोठाले दिने किताबी ज्ञान मात्रमा सीमित हुनु हुँदैन।

किताबमा के लेखेको छ, शिक्षकले के भन्छ, परीक्षामा के सोध्छ भन्ने कुराकै वरिपरि घुमेको छ हाम्रो शिक्षा। जबकि, हुनुपर्ने विद्यार्थी र सिकाइ केन्द्रित (लर्निङ ड्रिभन) थियो। सीप लक्षित र त्यसले समाजमा प्रभाव सिर्जना गर्ने किसिमको शिक्षा हुनुपर्थ्यो। तर बिडम्बना, किताब र शिक्षकले भनेकै सही हो भन्ने किसिमको शिक्षाले विद्यार्थीलाई प्रश्न सोध्न सक्ने बन्न दिइरहेको छैन।

शिक्षा प्रणाली कति सान्दर्भिक 
संक्षेपमा भन्दा नेपालको शिक्षाले अहिलेसम्म लिखित परीक्षालाई केन्द्रमा राख्दै आएको छ। अर्थात्, गफमा जेजसो भन्ने गरिएको भए पनि हाम्रो शिक्षा प्रणाली परीक्षा केन्द्रित (एग्जाम ड्रिभन) छ। हाम्रो शिक्षा किताबी पढाइ केन्द्रित छ। शिक्षक र शिक्षण केन्द्रित एकतर्फी किसिमको छ। 

किताबमा के लेखेको छ, शिक्षकले के भन्छ, परीक्षामा के सोध्छ भन्ने कुराकै वरिपरि घुमेको छ हाम्रो शिक्षा। जबकि, हुनुपर्ने विद्यार्थी र सिकाइ केन्द्रित (लर्निङ ड्रिभन) थियो। सीप लक्षित र त्यसले समाजमा प्रभाव सिर्जना गर्ने किसिमको शिक्षा हुनुपर्थ्यो। 

तर बिडम्बना, किताब र शिक्षकले भनेकै सही हो भन्ने किसिमको शिक्षाले विद्यार्थीलाई प्रश्न सोध्न सक्ने बन्न दिइरहेको छैन। हामीले 'सिकाइ' र 'सिर्जना' (लर्निङ एन्ड क्रिएटिङ) मा होइन 'पढाइ' र 'लेखाइ' (स्टडिङ एन्ड राइटिङ) मा जोड दिएकाले यो अवस्था आएको हो। जबकि, उद्यमशीलता भनेको आधारभूतरूपमा 'डुइङ' (काम गर्ने) हो। यहाँ नै हाम्रो शिक्षा र खोजेको कुरामा बेमेल छ। यसको मतलब – डुइङ (गराइ), क्रिएटिङ (सिर्जना गर्ने) र प्रोब्लम सल्भिङ (समस्या समाधान) मा ध्यान केन्द्रित नगरेसम्म उद्यमी जन्मिदैन। यसकारण हामीले शिक्षालाई यी क्रियाकलापका साथै सहकार्य केन्द्रित (कोलाबोरेसन फोकस्ड), कल्पनाशीलता केन्द्रित (इमेजिनेशन फोकस्ड) गर्यो भने नै उद्यमशीलता विकासमा फड्को मार्न सक्छौं।

उद्यमीले व्यवसाय सुरु गर्दा आफ्नै कल्पना वा सोच चाहिन्छ उसले त्यसको जिम्मेवारी स्वयम् नै लिनुपर्छ। उद्यम गर्दा आइपर्ने समस्याको समाधान वा जबाफ उद्यमी आफैंले दिनुपर्छ। वास्तविक जीवनमा उद्यमीलाई कसैले उत्तर दिँदैन, उसले आफैं खोज्नुपर्छ। हाम्रो शिक्षामा उत्तरजति किताब र शिक्षकले दिने परिपाटी छ। जबकि शिक्षकले सबै उत्तर दिने होइन, सही प्रश्न विद्यार्थीलाई सोध्ने र उसलाई प्रश्न सोध्न सक्ने बनाउनुपर्ने हो। त्यसो हुनेबित्तिकै व्यवहारिक जीवनमा धेरै कुराको उत्तर आफैं खोज्न ऊ सक्षम बन्छ।

हाम्रो शिक्षा र व्यवहारिक आवश्यकताबीच यहीँ गहिरो बेमेल छ भन्ने मेरो अहिलेसम्मको बलियो बुझाइ र वकालत हो। विद्यालयस्तरदेखिकै हाम्रो शिक्षा हेर्ने हो भने शिक्षकले भनेपछि विद्यार्थीले काट्न वा प्रश्न गर्न नहुने भनेजस्तो छ। हाम्रो सामाजिक संरचना पनि त्यस्तै अनुक्रम (हाइरार्की) मा चलेको छ- उमेरमा आफूभन्दा ठूलाले भनेपछि सानाले काट्न नमिल्ने। तर 'जुनियर' को पनि आइडिया त फरक हुन सक्छ नि ! यसका बाबजुद हामीले सकभर प्रश्न गर्न नपाइने शैक्षिक र सामाजिक संरचनालाई नै प्रोत्साहित राखिरहेका छौं। नयाँ पुस्तामा रहेको फरक दृष्टिकोण र सम्भावनालाई हामीले कदर गर्न सकेका छैनौं। 

तर खासमा नयाँ सोच नयाँ पुस्तासँग छ। युवाहरुसँग छ। किनकि उनीहरु नयाँ समय र नयाँ 'कन्टेक्स्ट' मा छन्। हामी र अहिलेको पुस्ताको पढाइ वा सिकाइको मात्र नभएर अर्थ-सामाजिक सन्दर्भ (कन्टेक्स्ट) मा पनि आकाश-जमिनको फरक छ। हाम्रो समयमा सिकाइका स्रोत नै सीमित थिए। यसैले हामीले किताबमा झुम्मिएर, लाइब्रेरी धाएर पढ्यौं भन्दैमा अहिलेको पुस्ताले पनि त्यसै गर्नुपर्छ, अन्यथा पढिरहेका वा सिकिरहेका छैनन् कि भन्ने धारणा बनाउनु गलत हुन्छ।

इन्टरनेटको यो युगमा पढाइ/सिकाइका स्रोत/माध्यम पनि फरक र फराकिला छन्। अहिलेको पुस्तासँग 'इ-बुक' को सुविधाले हातहातमा लाइब्रेरी छ। उनीहरु कक्षाकोठा मात्र होइन, 'टेड टक', 'एड एक्स', 'कोर्सेरा' इत्यादिलाई पनि आफ्नो सिकाइको माध्यम बनाइरहेका छन्। हाम्रो बेलामा यस्ता प्लेटफर्मको सुविधा त के कसैले कल्पना पनि सायदै गरेको थियो।

त्यसैले स्कुल-कलेजमा पनि शिक्षक पुरानो पुस्ताको हुने र विद्यार्थी नयाँ पुस्ताको हुने कारण ज्ञान वा सिकाइको प्रक्रिया र अपेक्षाबीच ठूलो भिन्नता छ। कतिपय शिक्षकहरुमा आफ्नो बुझाइ नै सही हो भनेर लाद्ने प्रवृत्ति अझै पनि छ। शिक्षक मात्र नभएर अभिभावक र समाजले समेत नयाँ पुस्ताले अलिक फरक ढंगले सोच्यो कि त्यसलाई त्यहीँ खारेज गरिदिने गरेपछि 'क्रिटिकल थिंकिङ' र नयाँ कुरामा पहलकदमी (इनिसिएटिभ) को सम्भावना मर्छ।

यस्तो वातावरणको नकारात्मक प्रभाव उद्यमशीलता विकासमा पनि पर्छ। किनकि उद्यमशीलतामा कल्पनाशीलता (इमेजिनेसन), फरक दृष्टिकोण चाहिन्छ। तर हाम्रो विद्यमान शैक्षिक र सामाजिक संरचना यी कुरालाई त्यति प्रोत्साहित गर्न सकेको छैन।

सबै नवप्रवर्तन त्यतिबेला मात्रै सम्भव भयो जब उद्यमीहरुमा रुपान्तरणकारी आइडिया आयो। र, त्यस्तो आइडिया र नवप्रवर्तन त्यतिबेला आयो, जब उनीहरुले नयाँ तरिकाले र स्वतन्त्ररूपमा सोच्न पाए। तर के हाम्रो शिक्षाले यो सबैलाई प्रवर्द्धन गर्यो त ? विल्कुलै गरेन। 'किताबमा जे लेखेको छ त्यो पढ, परीक्षामा लेख र ४ जीपीए वा डिस्टिङ्सन ल्याउँछस् अनि तेरो करियर राम्रो हुन्छ' भनिरह्यो हाम्रो शिक्षा प्रणालीले।

फरक सोचलाई स्थान दिन आवश्यक
नयाँ पुस्ताको कल्पनाशीलता र फरक दृष्टिकोणले नै अर्थतन्त्र र समाजमा परिवर्तन ल्याउने किसिमका नवप्रवर्तन (इन्नोभेसन) हरु भएका उदाहरण संसारमा थुप्रै छन्। एउटा उदाहरण –

केही वर्षअघिसम्म होटल भन्नेबित्तिकै अर्बौं लगानी गरेर ठूलो प्रोपर्टी डेभलप गर्नुपर्ने बुझिन्थ्यो। यसैले जोसँग प्रशस्त पुँजी छ उसैको पहुँचमा मात्र थियो होटल सञ्चालन। सामान्य व्यक्तिले होटल खोल्ने वा हस्पिटालिटी व्यवसाय चलाउने कल्पनासमेत गर्न सक्दैनथ्यो। 

तर 'एयर बीएनबी'ले यसमा कसैले सोच्दै नसोचेको रुपान्तरण गरिदियो। 'मान्छेहरुसँग यतिका प्रोपर्टी अहिले नै छ भने होटल वा लजिङ संचालन गर्न किन मैले अर्को नयाँ प्रोपर्टी विकास गर्ने, मात्र ती प्रोपर्टीलाई एउटा सञ्जालमा जोडिदिन्छु' भन्ने फरक सोचले जन्मियो एयर बीएनबी।

यसका स्केलको कुरा पनि हेरौं न। हामी जति नै धनी भए पनि सोल्टी जत्रो होटल कतिवटा बनाउन सक्छौं र ? तर आज एयर बीएनबीको सञ्जालमा संसारभरका ४० लाख घरहरु जोडिएका छन्। अर्थात्, भन्न सकिन्छ – एयर बीएनबी ब्रान्डका ४० लाख होटल तथा हस्पिटालिटी बिजनेस सञ्चालित छन्। अब जति नै धनी भएपनि कसैले आफैंले लगानी गरेर यतिका प्रोपर्टी बनाएर हस्पिटालिटी बिजनेस गर्नसक्ने कल्पना गर्न सकिएला र? 

हामीकहाँ पनि यस्ता केही उदाहरण नभएको होइन। जस्तो – हिजो बैंकिङ भन्नाले बैंकमा खाता खोल्नदेखि नगद झिक्नसम्म लाइन लाग्ने बुझिन्थ्यो। तर एफवान सफ्ट/इसेवाले त्यसरी सोचेन। उनीहरुले यसरी पनि सम्भव छ भनेर फरक तरिकाले सोचेकाले नै आज नेपालमा पनि बैंकिङको परिभाषा नै फेरिँदै गएको छ। इ-वालेटदेखि क्युआरसम्मको सुविधाले छोटो अवधिमै हाम्रो बैंकिङको परिदृष्य फेरिएको जस एफवान सफ्ट/इसेवालाई दिनुपर्छ। 

यस्ता सबै नवप्रवर्तन त्यतिबेला मात्रै सम्भव भयो जब उद्यमीहरुमा रुपान्तरणकारी आइडिया आयो। र, त्यस्तो आइडिया र नवप्रवर्तन त्यतिबेला आयो, जब उनीहरुले नयाँ तरिकाले स्वतन्त्र रूपमा सोचे। तर के हाम्रो शिक्षाले यो सबैलाई प्रवर्द्धन गर्यो त ? विल्कुलै गरेन। 'किताबमा जे लेखेको छ त्यो पढ, परीक्षामा लेख र ४ जीपीए वा डिस्टिङ्सन ल्याउँछस् अनि तेरो करियर राम्रो हुन्छ' भनिरह्यो हाम्रो शिक्षा प्रणालीले।

यसकारण अब हामीले नवप्रवर्तन प्रोत्साहनका लागि युवालाई नयाँ ढंगले स्वतन्त्ररुपमा सोच्न र सिर्जना गर्न दिनुपर्छ। उसको सोचलाई सही र गलत भन्ने होइन, त्यसलाई साकार पार्नका लागि कोसिस गर्न प्रोत्साहित गर्नुपर्छ। हाम्रो शिक्षा र सिकाइ समस्यालाई हेर्ने, समस्यालाई परिभाषित गर्ने र समाधान गर्ने किसिमको बनाउन आवश्यक छ।

हार्वर्ड र एमआइटी जस्ता आफैंमा विश्वव्यापी ख्याति कमाएका विश्वविद्यालयहरुबीच इन्नोभेसनका लागि सहकार्य हुँदै आएको छ भने हामीलाई केले छेकेको छ ? शैक्षिक संस्थाहरुबीच प्रतिष्ठाको प्रतिस्पर्धाको होडमा हामी किन समग्र शिक्षा प्रणालीमा अग्रगामी सुधारको थालनी गर्न हिचकिचाइरहेका छौं ? हामी एजुकेटरहरुले आफैंलाई यी प्रश्न सोध्न आवश्यक छ।

उद्यमशीलता विकासका लागि कस्तो शिक्षा 
समाज, देश वा विश्वमा विद्यमान आम समस्याको समाधानको प्रयत्न पनि हो उद्यमशीलता। यसलाई शिक्षासँग जोडेर हेर्ने हो भने विभिन्न संकायका कलेज तथा विश्वविद्यालयहरुबीच र शैक्षिक संस्थाहरु तथा अन्य उद्योग व्यवसायहरुबीच पनि सहकार्य र समन्वय हुन आवश्यक छ। उद्यमशीलताको राम्रो विकास भएका संसारका धेरै देशमा यो अभ्यास छ। त्यहाँ विश्वविद्यालय-विश्वविद्यालयबीच, शैक्षिक संस्था र निजीक्षेत्रका व्यवसायहरुबीच नवप्रवर्तनका लागि समन्वय र सहकार्य हुने गरेको छ। हामीकहाँ यो अभ्यास छैन।

समाजमा विद्यमान समस्या समाधान गर्ने कुनै वस्तु वा सेवा सिर्जनाका लागि सूचनाप्रविधि, व्यवस्थापन, मानवशास्त्र/समाजशास्त्र, भौतिक विज्ञान, स्वास्थ्य विज्ञान इन्जिनियरिङ इत्यादि लगायत विभिन्न संकायको ज्ञानको समिश्रण आवश्यक हुन सक्छ। यसैले हामीले अब शिक्षामा यी बहुसंकायहरुलाई एक आपसमा जोड्ने पद्धति अपनाउन आवश्यक छ। 

बहुसंकायबीचको सहकार्यबाट विद्यार्थीहरुले नै सिर्जना गरेको एउटा उत्पादनको राम्रो उदाहरण छ। केही वर्षअघि अमेरिकाको स्ट्यान्डफोर्ड विश्वविद्यालयको डिजाइन स्कुल, मेडिकल स्कुल, इन्जिनियरिङ, बिजनेस स्कुल लगायतका विद्यार्थीहरुको ध्यान विश्व स्वास्थ्य संगठनको एउटा प्रतिवेदनले खिच्यो, जसमा कम तौल (अण्डरवेट) र समय नपुगी (प्रिमच्योर) जन्मिँदा त्यससँग जोडिएका विभिन्न कारणले पाँच वर्ष नपुग्दै बर्सेनि डेढ करोड बच्चाहरु मर्ने आँकडा थियो। जसमध्ये ३० लाख जन्मिएको एक महिना नपुग्दै र १० लाख जन्मिएकै मर्ने गरेका थिए।
त्यसको तत्कालिन समाधान भनेको त्यसरी जन्मिएका बच्चालाई ४८ देखि ७२ घन्टा इन्कुबेटरमा राख्नुपर्ने हुन्थ्यो।

इन्कुबेटरले तापक्रम व्यवस्थापन गर्थ्यो र तौल तथा अवधि नपुगि जन्मिएका बच्चाले सोझै उतारचढाव भइरहने बाहिरी तापक्रम सहन गर्न सक्दैन भनेर स्थिरीकरणका लागि केही समय उनीहरुलाई इन्कुबेटरमा राख्ने गरिन्थ्यो। तर त्यसबेला इन्कुबेटर एक त असाध्यै महँगो (२० हजार डलर) पर्ने र अर्को त्यसका लागि नियमित विद्युत आपूर्ति जरुरी हुन्थ्यो। यसकारण त्यो शहरबासी र धनीको मात्र पहुँचमा थियो। यसैले त्यसरी मर्ने अधिकांश बच्चाहरु ग्रामीण क्षेत्रका र गरिब समाजका थिए।

स्ट्यान्फोर्डका विद्यार्थीहरुले यही समस्यालाई नै विश्वविद्यालयको 'प्रोजेक्ट क्लास' को विषय बनाएर संयुक्त रुपमा उक्त समस्याको समाधान खोज्न अध्ययनका लागि भारत र नेपाल आए। उनीहरु नियमित विद्युत आपूर्तिबिना नै र गरिबले पनि किन्न सक्ने इन्कुबेटरले जस्तै काम गर्ने उत्पादन कसरी उपलब्ध गराएर उक्त समस्याको समाधान दिन चाहन्थे। 

केही वर्षको अध्ययनपछि उनीहरुले बच्चाको स्लिपिङ ब्याग जस्तो यस्तो उत्पादन बनाए, जसको भित्रपट्टि तातो बनाउने साधारण उपकरण जडान गरिएको थियो। विभिन्न प्रोटोटाइप बनाउँदै बच्चा, आमा र नर्सहरुसँग ट्रायल गर्दै त्यसको डिजाइनलाई अन्तिम रूप दिनै उनीहरुलाई दुई वर्ष लाग्यो। 

त्यसरी विकास गरेको उक्त उत्पादन केही समय चार्ज गरेर ८ घन्टासम्म तातो राख्न सकिने र रिचार्जेबल थियो, त्यसैले नियमित बिजुली चाहिँदैनथ्यो। र इन्कुबेटरको तुलनामा १० भागभन्दा सस्तो (२० डलर) भएकाले यो विश्वभरका गरिब समाजको बाल मृत्युदर घटाउनमा चमत्कारिक नवप्रवर्तन (इन्नोभेसन) साबित भयो। बच्चा बेरेर राखिने भएकाले त्यसलाई 'इम्ब्रेस' नाम दिए। पछि ती विद्यार्थीहरुको समूहले भारतमा त्यसको व्यवसायिक उत्पादन नै थाल्यो, जसले बाल मृत्युदर ३० प्रतिशतले घटाएको अध्ययनको निष्कर्ष छ।

यसको सन्देश हो – फरक फरक किसिमको ज्ञान भएका व्यक्तिहरु (डिफ्रेन्ट माइन्ड) एक ठाउँमा मिसिएर संयुक्त प्रोजेक्टका रुपमा काम गर्दा समाजको वास्तविक समस्या पहिचान र त्यसको समाधान गर्न सक्ने वस्तु सिर्जना सम्भव हुन्छ। 

ती विद्यार्थीहरुको समूहमा अर्थ-सामाजिक पाटो अध्ययन गर्नसक्ने ज्ञान भएको व्यक्ति पनि थियो। डिजाइनिङ पढेको व्यक्ति पनि थियो, जसले लक्षित समूहका लागि अफोर्डेबल र प्रयोगमैत्री उत्पादन 'डिजाइन' गर्यो। त्यसको उत्पादन गर्न तापक्रम (फिजिक्स) र निर्माण विधि तथा सामग्री (इन्जिनियरिङ) को ज्ञान पनि आवश्यक थियो, जसको समाधान दिनसक्ने विद्यार्थी त्यहाँ थिए। समस्या पहिचान र समाधान दिने उत्पादनको प्रोटोटाइप तयार भएपछि त्यसको व्यवसायिक उत्पादनका लागि लगानी जुटाउन, ब्रान्डिङ, स्केलिङ, मार्केटिङ इत्यादि गर्न बिजनेस पढेको व्यक्ति पनि समूहमा थियो। यो सबैको सहकार्यले मात्र 'इम्ब्रेस' जन्मिन सम्भव भयो।

हामीलाई पनि चाहिएको यस्तै शिक्षा हो। हार्वर्ड र एमआइटी जस्ता आफैंमा विश्वव्यापी ख्याति कमाएका विश्वविद्यालयहरुबीच इन्नोभेसनका लागि सहकार्य हुँदै आएको छ भने हामीलाई केले छेकेको छ ? शैक्षिक संस्थाहरुबीच प्रतिष्ठाको प्रतिस्पर्धाको होडमा हामी किन समग्र शिक्षा प्रणालीमा अग्रगामी सुधारको थालनी गर्न हिचकिचाइरहेका छौं ? हामी एजुकेटरहरुले आफैंलाई यी प्रश्न सोध्न आवश्यक छ।

किनकि हाम्रा विद्यार्थीमा सिर्जनशीलताको कमी छैन। हामीसँग ज्ञान र स्रोतको कमी पनि होइन। यसकारण शैक्षिक संस्थाहरुले उद्यमशीलतासम्बन्धी शिक्षा दिँदै गर्दा विद्यार्थी-विद्यार्थी, शिक्षक-शिक्षक, (शैक्षिक) संस्था-संस्थाहरुबीच र यिनको विभिन्न संकायहरुबीचको सहकार्यलाई सँगसँगै लैजान अपरिहार्य छ। 

देशमा उद्यमशीलता विकासका लागि यस्तो सहकार्य (मल्टि-डिसिप्लिन कोलाबोरेसन) को गुन्जायससहित सिर्जनशीलता (क्रिएटिभिटी), कल्पनाशीलता (इमेजिनेसन), सिकाइकेन्द्रित (लर्निङ-ड्रिभन) र समस्या समाधान गर्न सक्ने (प्रोब्लम सल्भिङ) शिक्षा पद्धति हाम्रो अहिलेको आवश्यकता हो।

आशालाग्दो कुरा – पछिल्लो समय यो आवश्यकता हाम्रा शैक्षिक संस्था, शिक्षक, अभिभावक, लगानीकर्ता, मेन्टोर, निजीक्षेत्र, सञ्चारमाध्यम इत्यादि 'आन्ट्रप्रेनरशीप इकोसिस्टम' का मुख्य सरोकारवालाहरुले विस्तारै महशुस गरेर त्यसउन्मुख क्रियाशिल रहेको देखिएको छ ।
 

(अर्याल किङ्स कलेजका प्रेसिडेन्ट हुन् । प्रस्तुतिः मधुकर दाहाल)