बजार फराकिलो अन्तरले घट्न थाल्यो, २६ सय ४० नै उच्चतम बिन्दु हो? ‘राजनीतिले घट्ने बहाना मिल्यो’

बिजमाण्डू
२०७७ फागुन ११ गते १३:१७ | Feb 23, 2021
बजार फराकिलो अन्तरले घट्न थाल्यो, २६ सय ४० नै उच्चतम बिन्दु हो? ‘राजनीतिले घट्ने बहाना मिल्यो’

Tata
GBIME
Nepal Life

काठमाडौं। गत आइतबार सेयर बजार सूचक तीन अंक बढे पनि 'क' वर्गमा रहेका कम्पनीहरुको मूल्य भने २ अंकले झरेको थियो।

बजार उच्चतम २६४० अंकमा पुग्दा पनि अधिकांश सूचक रातो भएका थिए। तैपनि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र माथिल्लो तामाकोशी लगायतले बजारलाई 'पुस' गरिरहेको थियो।

सोमबार बजार ३२ अंकले घट्यो। तैपनि केही कम्पनीहरुले बजारलाई चलायमान बनाएका थिए। मंगलबार भने बजारमा ठूलै पहिलो गएको छ। १५ मिनेट नपुग्दै बजारमा फराकिलो पहिरो गएको हो। बजारमा ८८ अंकसम्मको पहिरो गएको छ। त्यसपछि घट्ने दर कम भएको छ। (तथ्यांक सवा एक बजेसम्मको हो।)

निफ्रा सूचीकरण भएपछि बजार ३ हजार अंकसम्म पुग्छ भनेर अनुमानहरु भइरहेका बेला २६४० बाट ओरालो लागेपछि लगानीकर्ताहरु डराउन थालेका हुन्। अहिले ठूलाठूला कित्ता खरीद बिक्रीमा छैनन्। ५०/६० कित्ताका दरले धेरै कारोबारहरु भएर बजार ओरालो लागिरहेको छ।

उच्चतम अंकबाट बजार फराकिलो अन्तरले घट्न थालेपछि लगानीकर्ताहरुमा एक खालको शंका जन्मिएको छ- कतै 'बियरिस ट्रेण्ड' त सुरु भएको होइन?

विश्लेषकहरु बजार करेक्सन भएको बताउँछन्। २२ सय अंकदेखि निरन्तर उक्लिएको बजारमा कहीँ न कहीँ करेक्सन आवश्यक रहेको उनीहरुको तर्क छ।

'निरन्तर नै बजार बढिरहेको थियो। त्यसैले कुनै बिन्दुमा पुगेर करेन्सन हुनु पर्ने नै थियो,' प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले बिजमाण्डूसँग भने, 'राजनीतिक कारणलाई देखाएर बजार करेक्सन भएजस्तो लाग्छ।'

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि अदालतमा मुद्दा चलिरहेको छ। अदालतमा सुनुवाइ सकिइसकेको छ। अब फैसला आउन बाँकी छ। आज नभए भोलिसम्म फैसला आउने अनुमान छ।

फैसला पुनर्स्थापनाका पक्षमा हुन्छ भन्ने पनि छन् र विघटनले निरन्तरता पाउँछ भन्ने पनि छन्। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र प्रधान सेनापति पुर्णचन्द्र थापाबीचको भेटले पनि शंका जन्माएको छ। यसबाहेक प्रधानमन्त्रीले सुरक्षा परिषद्को बैठक डाकेका छन्। कतै प्रधानमन्त्रीले संकटकाल पो घोषणा गर्ने हुन् कि भन्ने अन्योल लगानीकर्तामा देखिन्छ।

'अहिलेको घटाइ राजनीतिक कारणले हो जस्तो लाग्छ, किनभने जे जति प्यारामिटरहरु छन् ती हिजोजस्तो थिए आज पनि त्यस्तै छन्,' थकालीले भने, 'त्यसैले यो कारणले बजार घटेको होइन जस्तो लाग्छ। राजनीतिक कारणले घटेकाले बजार बियरिस् ट्रेन्डमा गयो भनिहाल्न नमिल्ला।'

बजारमा पछिल्लो समय ठूला लगानीकर्ताहरु फेरि प्रवेश गर्न थालेका छन्। १५/२० दिनअघि बजारबाट ठूला लगानीकर्ता बाहिरिन थालेका थिए। तर बजार रोकिने सम्भावना नदेखिएपछि उनीहरु फेरि बजारमा आउन थालेका छन्। सामूहिक लगानी कोष कम्पनीहरुले पनि लगानी बढाएका छन्।

'ठूला लगानीकर्ताले केही समय होल्ड गर्ने गरी नै सेयर लगानी बढाउन थालेका छन्,' एक ब्रोकरले भने, 'त्यसैले मलाई पनि अहिलेको घटाइ बियरिस्ट ट्रेन्डको सुरुवात हो जस्तो लाग्दैन।'

उनका अनुसार, निफ्रा, चन्द्रागिरि हिल्स, प्रभु लाइफजस्ताको सेयर हात हातमा पुगेको छ। उनीहरुले किन्न त किने तर बेच्न सकेका थिएनन्। मूल्य ५ सयभन्दा माथि लागेपछि अब बेच्नु पर्छ भनेर उनीहरुले बजारमा सप्लाइ (आपूर्ति) बढाए। 'ठूलो मात्रामा सेयरको आपूर्ति बढेपछि स्वभाविकरूपमा घट्छ,' ती ब्रोकरले भने, 'त्यसमाथि अदालति फैसला नजिक आएकाले संसद के हुन्छ भन्ने संशयले पनि बजार घटेको हो।'

अर्का विश्लेषक प्रकाश तिवारी बजारमा अर्को एउटा 'बुल' पछि मात्र 'बियर' सुरु हुने बताउँछन्। 'अहिले त करेक्सन भएको हो। संसद बारेको फैसला करेक्सनका लागि एउटा बहाना भएको छ,' उनले भने, 'केही घटेर फेरि बुल हुन्छ। त्यसपछि चाहिँ बियर सुरु हुनसक्छ।'