एक महिना ककपीटमा बसेपछि बेरोजगार, कोरोनासँगै बेल्जियमका २२ वर्षीय पाइलटको बाटो मोडियो

बिजमाण्डू
२०७७ फागुन ९ गते १६:०३ | Feb 21, 2021

Tata
GBIME
Nepal Life

बेल्जियमका २२ वर्षीय म्याक्सिम दे लिउले बाल्यकालदेखि नै पाइलट बन्ने सपना देखेका थिए। पाइलट बन्नका लागि सबै तालिम सकेपछि उनले  डच एयरलाइन्समा रोजगारी समेत पाए।

एयरलाइन्समा काम सुरु भएपछि उनलाई लागेको थियो, यो क्षेत्रमा भविष्य पक्कै उज्जवल छ। ककपिटमा बसे, जहाज उडाउन थाले। पाइलट भएर पहिलो उडान गरेको एक महिनामै करिअरले नयाँ मोड लिनेछ भन्ने उनले सोचेकै थिएनन्। यसको कारण बन्यो कोभिड-१९ महामारी।

कोरोनाले संसारभर हवाई सेवा प्रभावित हुँदा उनले काम थालेको कम्पनी पनि नोक्सानमा गयो। खर्च कटौतीको बाटो खोज्यो। उनको पाइलट करियरमै ब्रेक लाग्यो। अब आफ्नो रोजगारीको लक्ष्य नै परिवर्तन गर्न उनी बाध्य भए। उनलाई हवाई उडानका क्षेत्रमा काम गर्ने महत्वकांक्षी योजना बनाउन तालिमले डोर्‍याएको थियो। प्रविधि र हवाई यातायात बुझ्दै आएका उनले गत वर्ष सन् २०२० मार्चमा दुई वर्षे तालिम पूरा गरेका थिए।

तालिम सकिएलगत्तै पाइलटको जागिर पनि सुरु गर्न पाएका थिए। बोइङ ७३७-८००० सिरिजको जहाजमार्फत टाइप रेटिङ लिएका म्याक्सिमलाई विभिन्न गन्तव्यमा उडान गर्ने अवसर मिलेको थियो।

एउटा नवयुवकका लागि करिअरमा यो फड्को छिटो भएजस्तो लागिरहेको थियो। तर एक महिनामै उनको जागिर धरापमा मात्रै परेन, कम्पनीले लगानी गर्नै नसक्ने भएपछि कर्मचारीका करार सेवाको अवधि नै रद्द गरिदियो। 

'मैले जहाज उडाउन सुरु गरे लगत्तै महामारीको हल्ला सुरु भइसकेको थियो। कम्पनीबाट निकालिने सूचना पाउनेबित्तिकै सुरुमा त निराश भएको थिएँ। तर अवस्था अनुसार यसो गर्नु जायजै थियो,' उनी भन्छन्, 'मेरो तालिमका लागि कम्पनीले धेरै लगानी गरेको थियो। मलाई थाहा थियो यदि कम्पनीले मलाइ राख्न सक्छ भने मलाई निकाल्न पनि सक्छ।' 

फ्लाइट इन्स्ट्रक्टर रेटिङ र क्याप्टेन बन्ने योजना विफल भएसँगै उनमा तत्काल आश मार्न नहुने सोच आयो। 'म कुनै पनि समयमा पुनः फर्कन सक्ने कुरालाई आत्मसात गर्दै अहिलेको लागि उड्डयन क्षेत्रबाट टाढिएको हुँ,' उनी सुनाउँछन्। 

उड्डयन क्षेत्रको रोजगार गुमेसँगै अर्को उद्योगमा रोजगार खोज्ने लहर सुरु भइसेकको थियो। तर उनी भने बेल्जियमस्थित आफ्नो बाबुआमाको घर पुगे। घर पुगेको केही समयमा उनले पुनः पुरानै व्यवसायमा आबद्ध हुने अवसर पाए।  त्यो थियो- फर्निचर स्टोर। 

'जब सबै कुराहरु होल्डमा हुन्छन्। त्यतिखेर राख्ने र थन्किनेमात्र हुन्छन्। तर यस बाहेक पनि अरु अवसरहरु पनि हुन्छन्। जुन आफूले सोचिएको पनि हुँदैन,' उनी भन्छन्, 'यो महामारीले मलाई केही फरक कुराहरु सोच्ने अवसर दिएको छ।' 

उड्डयन उद्योग पुनरुत्थान अनिश्चितताले म्याक्सिमलाई साइड बिजनेस गर्न उत्प्रेरित गरेको छ। यो लामो समयले आफूलाई उड्डयन क्षेत्र बाहेक नाफामूलक व्यवसायको महत्व बुझ्ने अवसर दिएको उनी बताउँछन्। यसैलाई मध्यनजर गर्दै उनले 'फ्लाइट गोल' नामक विज्ञापन र कन्सल्टिङ बिजनेस सुरु गर्ने निर्णय गरे। 

'उड्डयनको विकल्प सोच्नका लागि मैले समय लिने अवसर पाएँ। यसैकारण मैले आफ्नै व्यवसाय सुरु गर्ने निर्णय गरेँ। अब पुनः जहाज उडानमा सहभागी नहोउन्जेल यही व्यवसायमा लाग्नेछु,' उनी भन्छन्, 'मैले दैनिक व्यवसायमा एभिएसन माइन्डसेट कायम गर्दै आएको छु।' 

हालको महामारी निदान भएर स्थिति सामान्य अवस्थामा आएसँगै आफ्नो पहिलो प्राथमिकता ककपिटलाई नै  दिने पनि उनले बताएका छन्। (एरोटाइमबाट साभार)