निर्माण सामाग्रीको भाउ सस्तियो, बिलेटको दाम घट्दा डन्डीको मूल्य घट्यो, गिटी बालुवाको पनि घट्यो

बिजमाण्डू
२०७७ माघ २३ गते ०९:०४ | Feb 5, 2021
निर्माण सामाग्रीको भाउ सस्तियो, बिलेटको दाम घट्दा डन्डीको मूल्य घट्यो, गिटी बालुवाको पनि घट्यो


Tata
GBIME
Nepal Life

काठमाडौं। पछिल्लो समय डन्डी, बालुवा र गिटीको भाउ घटेको छ। सिमेन्टको भाउ भने स्थिर रहेको व्यापारीहरुले जनाएका छन्। 

अन्तर्राष्ट्रिय बजारमा बिलेटको भाउ ओरालो लागेसँगै नेपालमा डन्डीको भाउ घट्न थालेको हो। पुस दोस्रो सातासँगको तुलना गर्दा अहिले बजारमा डन्डीको मूल्य ६-८ रुपैयाँ प्रति केजीले घटेको देखिन्छ। 

काठमाडौंका हार्डवेयरमा बजारका स्टील उद्योगहरुले खुद्रा बिक्री मूल्य (एमआरपी) ९०-९४ रुपैयाँ प्रति केजी हाराहारीमा डन्डी बेचिरहेको जनाएका छन्। पुस दोस्रो साता यो मूल्य ९८ रुपैयाँदेखि एक सय रुपैयाँको हाराहारीमा थियो।

भारतीय बजारमा डन्डी उत्पादनलाई चाहिने आवश्यक कच्चा पदार्थको मूल्यमा आएको गिरावटसँगै नेपाली बजारमा पनि डन्डीको भाउ घटेको व्यापारीहरुले जानकारी दिएका छन्। भारतमा बिलेटको मूल्य घटेर अहिले चार सय ५५-६० अमेरिकी डलर (५३ हजार रुपैयाँ) पुगेको अम्बे ग्रुपका निर्देशक शिवाज न्यौपानेले जानकारी दिए। 

अक्टोबर १३ मा टनको ४ सय १० डलरमा पाइने बिलेटको भाउ पुसमा ५ सय ५५ डलर पुगेको थियो। अम्बे समूहको दुई वटा स्टील फ्याक्ट्री जय अम्बे र अम्बे स्टील प्लान्ट छन्। 

कच्चा पदार्थको मूल्यमा आएको गिरावटसँगै माग घटेकाले डन्डीको भाउ घटेको शंकर समूहका प्रबन्ध निर्देशक साहिल अग्रवालले जानकारी दिए। ठूला निर्माणको कामले उल्लेख्य गति नलिँदा डन्डीको माग सोचे जस्तो बढ्न नसकेको उनले बताए। शंकर ग्रुपले जगदम्बा स्टील उत्पादन गर्दै आएको छ। 

सिमेन्टको मूल्य स्थिर
गत पुसमा २० रुपैयाँसम्म प्रति बोरा बढेको सिमेन्टको भाउ केही घटेको व्यापारीहरुले बताएका छन्। सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाका अनुसार सोचेअनुरुप बजारमा सिमेन्टको माग बढ्न नसकेको जानकारी दिए। ब्राण्ड र कम्पनीअनुसार सिमेन्ट प्रति बोरा ५ रूपैयाँले घटेको छ।

यस्तै, कोरोना महामारीले सिमेन्टको मागमा निकै असर पारे पनि अहिले बजार विस्तारै राम्रो हुँदै गएको अर्घाखाँची सिमेन्टका प्रवर्द्धक पशुपति मुरारकाले जानकारी दिए। विगत ६ महिनादेखि सिमेन्टको भाउ धेरै उतारचढाव नभएको बताए। 'केही सिमेन्टले १० रुपैयाँ घटाए होला केहीले बढाए होला तर मूल्यमा ठूलो अन्तरले घटबढ भएको छैन,' मुरारकाले भने। 

रोक फुकुवा हुँदा घट्यो बालुवा र गिटीको भाउ
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले गिटी र बालुवा निकासीमा लगाउँदै आएको रोक केही सहज भएकाले मूल्य घटेर राहत भएको जानकारी दिए। 

यसअघि करिब २५ हजार रुपैयाँ पुगेको एक टिपर बालुवाको मूल्य अहिले २३ हजार रुपैयाँमा हाराहारी पुगेको छ। कालो गिट्टी एक टिपरको २६ हजार रुपैयाँसम्म पुगेकोमा अहिले घटेको २४ हजार रुपैयाँ रहेको जानकारी दिए।