तीन अर्बको सर्वोत्तम स्टिल वैशाखदेखि आउँदै, वार्षिक अढाई लाख मेट्रिक टन उत्पादनको लक्ष्य

बिजमाण्डू
२०७७ माघ १६ गते ११:०९ | Jan 29, 2021

Tata
GBIME
Nepal Life

वीरगंज। वीरगंज करिडोरमा सौरभ समूहले ३ अर्ब २८ करोडको स्टील उद्योग स्थापना गरेको छ। उक्त फलाम जन्य निर्माण सामाग्री उत्पादन उद्योगले आगामी वैशाखदेखि सर्वोत्तम ब्राण्डमा उत्पादन थाल्ने बताइएको छ।

वीरगंज-२२ जगरनाथपुर,२८ बगही र ३० लालपर्सा भित्र निर्माण भएको विशाल उद्योग परवानीपुर–ड्राइपोर्ट सडकखण्डको लालपर्सा गाउँ जाने बाटोसँग जोडिएको छ।

तीन वर्षदेखि जग्गा खरिद तथा पर्खाल लगाउने काम शुरु भएको उद्योगको काम करिब ९० प्रतिशत सम्पन्न भइसकेको छ।

उद्योगमा सौरभ समूहका विष्णुप्रसाद न्यौपाने, वीरगंजका उद्योगी राजेश अग्रवाल र एक भारतीय लगानीकर्ताको लगानी रहेको बताइएको छ।

करिब १६ बिघा क्षेत्रफलमा रहेको उद्योगले सर्वोत्तम ब्रान्डको डन्डी, एंगल, पट्टि लगायतका वस्तु उत्पादन गर्नेछ।

एक वर्षमा २ लाख ६४ हजार मेट्रिक टन निर्माण सामाग्री उत्पादन गर्ने लक्ष्य राखेको उद्योगले एक हजारदेखि १२ सय मजदुरलाई रोजगारी दिने लक्ष्य राखेको छ ।

विदेशबाट अत्याधुनिक प्रविधिसहितको मेशिन जडान भइसकेको र बेल्ट लगाउने तथा अन्य फिनिसिङको काम भैरहेको छ ।

उद्योगका व्यवस्थापकीय जिम्मेवारी हेर्ने एक अधिकृतले भने,‘उद्योगको मेशिन तथा अन्य तयारी पुरा भइसकेको छ, प्राविधि सेटिङ मात्र  बाँकी छ, वैशाखको अन्त्यसम्म उद्योगले उत्पादन बजारमा पठाउने छ ।’ कोभिडले  उद्योगका निर्माण कार्य एक वर्षपछि धकेलिएको थियो ।

उद्योगमा विद्युत  आपूर्तिको लागि ब्रिटानिया नेपाल प्रालिको पूर्व अर्थात क्षेत्रीय कृषि  अनुसन्धान केन्द्र परवानीपुरको मुलगेट नजिकै ३३ हजार केभिएको सबस्टेशन निर्माण गरी श्रीसिया खोलाको किनारमा पोल गाडेर परवानीपुर प्रहरी चौकी हुँदै  ३ किलोमिटर दुरीमा पर्ने उद्योगमा विद्युत ल्याइएको छ ।

विद्युत आपूर्ति र उद्योग निर्माणमा केही समय जग्गाको स्वामित्वलाई लिएर विवाद पनि भएको थियो।  सौरभ समुहले सर्बोत्तम सिमेन्ट, लक्ष्मी स्टील, जगदम्बा  सिमेन्ट, शुभश्री जगदम्बा सिमेन्ट, जगदम्बा स्पिनिङ, जगदम्बा सिन्थोटिक, सौरभ टि इस्टेट, सौरभ फोटो इन्टनेशनल, सौरभ रोटो प्याकेजिङलगायत उद्योगमा लगानी गरेको छ ।