आन्तरिक राजस्वको महानिर्देशक बन्न दुईजना प्रतिस्पर्धामा, दुई सहसचिवले गरे अस्वीकार, को बन्ला?

बिजमाण्डू
२०७७ माघ १४ गते १७:५४ | Jan 27, 2021
आन्तरिक राजस्वको महानिर्देशक बन्न दुईजना प्रतिस्पर्धामा, दुई सहसचिवले गरे अस्वीकार, को बन्ला?


Tata
GBIME
Nepal Life

काठमाडौं। आन्तरिक राजस्व विभागको महानिर्देशक बन्न दुई जनाबीच प्रतिस्पर्धा देखिएको छ। महानिर्देशक विनोदबहादुर कुँवर सरुवा भएपछि अहिले सो पद खाली छ। 

राज्यको करिब ५० प्रतिशत राजस्व संकलन गर्ने विभागको महानिर्देशक बन्न सहसचिवहरुले लविङ थालेका छन्। महानिर्देशक बन्न चन्द्रकला पौडेल र दीर्घराज मैनालीले आ-आफ्नो स्थानबाट लबिङ गरिरहेको बुझिएको छ। स्रोतका अनुसार मन्त्रीले सहसचिव पौडेलललाई महानिर्देशक बनाउन चाहेका छन् भने प्रधानमन्त्रीको सचिवालयले मैनालीलाई बनाउन चाहेका छन्।

मैनाली २०७५ सालदेखि राजस्व अनुसन्धान विभागको महानिर्देशकमा कार्यरत छन्। उनले अब आन्तरिक राजस्व विभाग जान इच्छा देखाएका हुन्। उनले आफूलाई जिम्मेवारी दिए काम गर्ने तर लविङ गरेर महानिर्देशक नबन्ने निकट साथीहरुलाई बताउँदै आएका छन्।

प्रधानमन्त्री कार्यालयमातहत रहेको अनुसन्धान विभागमा उनले धमाधम फाइल अध्ययन गर्दै कर छल्नेविरुद्ध मुद्दा दायर गरिरहेका छन्। यसैले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र राजन भट्टराई विभागको महानिर्देशकमा सहसचिव मैनालीलाई लैजान चाहन्छन्। तर अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भने सहसचिव चन्द्रकला पौडेललाई महानिर्देशक बनाउन चाहेका छन्। 

सहसचिव पौडेलले आफूलाई महानिर्देशक बनाउन मन्त्रीसँग भेटसमेत गरेर फर्किसकेकी छन्। उनी हाल गण्डकी प्रदेशमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव पदमा कार्यरत छिन्।

स्रोतका अनुसार ५ महिनाअघि नै अर्थसचिव शिशिरकुमार ढुंगानालाई भेटेर कुँवरले आफू सरुवा हुन चाहेको बताएका थिए। त्यसयता सचिव ढुंगानाले केही सहसचिवलाई महानिर्देशक बन्न प्रस्ताव समेत गरेका थिए। सचिव ढुंगाना उद्योग मन्त्रालयका सहसचिव बलराम रिजाललाई महानिर्देशकमा पठाउन चाहन्छन्। तर मन्त्रीको समर्थन लिनुपर्ने भएकोले यसमा उनले अहिले बल गर्न छाडेका छन्। 

दुई सहसचिवले गरे अस्वीकार
मन्त्री पौडेलले विभागको महानिर्देशक बन्नका लागि मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्य र रामेश्वर दंगाललाई प्रस्ताव गरेका थिए। दुवै सहसचिवले सो प्रस्ताव अस्वीकार गरेको मन्त्रालय स्रोतले जनाएको छ। दुवै सचिव बन्नका लागि आवश्यक तयारीका लागि केही महिनाका लागि मात्रै विभाग जान अस्वीकार गरेका हुन्।