आइएमई पे र यूनिमोनीको सम्झौता, कतारबाट सोझै वालेटमा पैसा पठाउन सकिने, ६० रुपैयाँ क्यासब्याक पनि

बिजमाण्डू
२०७७ माघ १४ गते १७:३२ | Jan 27, 2021
आइएमई पे र यूनिमोनीको सम्झौता, कतारबाट सोझै वालेटमा पैसा पठाउन सकिने, ६० रुपैयाँ क्यासब्याक पनि


Tata
GBIME
Nepal Life

काठमाडौं। कतारको रेमिट्यान्स सेवा प्रदायक यूनिमोनी र नेपालको आइएमई पेबीच सेवा प्रदानसम्बन्धी समझदारी भएको छ। यसअनुसार अब कतारमा रहेका नेपालीहरुले यूनिमोनी कतारमार्फत् सोझै नेपालमा रहेका व्यक्तिको आइएमई पे वालेटमा रकम पठाउन सक्नेछन्।

यसरी कतारबाट पठाएको रकम आइएमई पे वालेट खाताभएकाले सहजै प्राप्त गर्ने बताइएको छ। यो सम्झौतापछि कतारबाट नेपालको आइएमई पेमा सिधैं पैसा पठाउने यूनीमोनी पहिलो एक्सचेन्ज हुने बताइएको छ। 

रोजगारी वा व्यापार व्यवसायका लागि कतारभर छरिएका नेपालीहरुले यूनिमोनी कतारबाट पठाएको पैसा आइएमई पे वालेटमा प्राप्त गर्ने गरी आइएमई डिजिटल र आइएमई लिमिटेडसँग सम्झौता गर्न पाउँदा आफूलाई निकै खुशी लागेको यूनिमोनी कतारका महाप्रबन्धक फ्ल्योद जोहनीले बताएको आइएमई पेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

उनका अनुसार यसमा आइएमई पेमा दर्ता भएको मोबाइल नम्बर र प्राप्त गर्ने उपभोक्ताको नामका आधारमा रेमिट्यान्स नेपाल पठाउन सकिनेछ। कोभिड–१९ महामारीको समयमा उपभोक्ताहरुले सुरक्षित तवरले आफ्नो वालेटमा नै रकम प्राप्त गर्न सक्नु धेरै महत्त्वपूर्ण भएको आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष हेमराज ढकालले बताए।  

नेपालमा भित्रिने रेमिट्यान्सको मुख्य श्रोत कतार भएको उल्लेख गर्दै  ढकालले यो सेवाको विस्तारसँगै नेपाल भित्रिने रेमिट्यान्समा कतारको योगदान बढ्दै जाने विश्वास व्यक्त गरे। 

वार्षिक आठ खर्ब रुपैयाँभन्दा बढी विप्रेषण भित्र्याउँदै आएको नेपाल रेमिटेन्समा दक्षिण एशियाकै ठूलो बजार मानिन्छ। यूनिमोनीका लागि नेपालको रेमिट्यान्स बजार मुख्य प्राथमिकतामा पर्दै आएको सन्दर्भमा यो सम्झौताले सेवाग्राहीलाई थप सहज हुने विश्वास दुवै कम्पनीले गरेका छन्। सेवा शुभारम्भका अवसरमा आइएमईले यूनिमोनी कतारमार्फत् पठाएको रकम प्रापकले सिधै आइएमई पे वालेटमा प्राप्त गर्दा प्रतिकरोबार ६० रुपैयाँसम्म क्यासब्याक पाउन सक्ने बताइएको छ। 

यूनीमोनी कतार कतारको केन्द्रीय बैंकबाट इजाजत प्राप्त एक्सचेन्ज हो। अहिलेसम्म २ सय २५ आइएमई सेन्टरसहित ७७ जिल्लामा झन्डै ३५ हजार एजेण्टसहित करिब १२ हजार सब एजेन्ट रहेको आइएमईले जनाएको छ।