साढे ६ लाख सरकारी सवारीसाधन विद्युतीयले प्रतिस्थापन गर्ने अमेरिकी राष्ट्रपति बाइडेनको घोषणा

बिजमाण्डू
२०७७ माघ १४ गते १४:१७ | Jan 27, 2021
साढे ६ लाख सरकारी सवारीसाधन विद्युतीयले प्रतिस्थापन गर्ने अमेरिकी राष्ट्रपति बाइडेनको घोषणा

Tata
GBIME
Nepal Life

एक हप्ताअघिबाट कार्यभार सम्हालेका अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी संघीय सरकार तथा यस मातहतका सवारी साधनहरु विद्युतीयले प्रतिस्थापन गर्ने घोषणा गरेका छन्। 

पछिल्लो 'फेडेरल फ्लिट रिपोर्ट' अनुसार अमेरिकी संघीय सरकार मातहत अहिले ६ लाख ४५ हजारभन्दा बढी सवारी साधनहरु छन्। यसमा दुई लाख ४५ हजार सवारी साधन नागरिक सेवाका प्रशासनिक निकायहरुका हुन् भने एक लाख ७३ हजार सैन्य सवारी र दुई लाख २५ हजार पोष्ट अफिस (हुलाक सेवा कार्यालय) का भएको प्रतिवेदनले जनाएको छ।

बाइडेनले चुनावी अभियानका दौरान वातावरण संरक्षण र अमेरिकी कम्पनीले बनाएका विद्युतीय सवारीका पक्षमा थुप्रै कुराहरु बोलेका थिए। यसकारण यो घोषणा र यसलाई कार्यान्वयनमा ल्याउनुलाई अस्वाभाविक मानिएको छैन। यद्पि चुनावी अभियानमा बोलिएका कुराहरु सधैं वास्तविकतामा परिणत हुँदैनन्। त्यसैले बाइडेनको उक्त चुनावी बाचा पनि पूरा हुनेमा अमेरिकीहरु पूर्ण रूपमा ढुक्क भने छैनन्। 

बाइडेनले संघीय सवारी साधनहरुलाई विद्युतीयले प्रतिस्थापन गर्ने घोषणा गरेको भए पनि यसको कुनै अवधि तोकेका छैनन्। यति समयभित्र प्रतिस्थापन गर्ने नभनिएकाले यसलाई फगत प्रतिबद्धताका रूपमा मात्र लिइएको छ।

प्रतिस्थापन गर्ने भनिएकामध्येका केही सवारी साधनहरु चाँडै हट्ने सम्भावना छैन। किनकि केही सवारी साधन चाँडै हटाउँदा यसको लागत ठूलो पर्ने देखिएको छ भने विशेष किसिमका सवारी झन् विद्युतीकृत स्वरुपमा आउनुअघि त्यसको विकासका लागि थुप्रै कामहरु गर्न आवश्यक रहेको औंल्याइएको छ। यसका बाबजुद ठूलो संख्यामा र बारम्बार प्रयोग हुने प्रकृतिका सवारी साधनहरुलाई विद्युतीयले प्रतिस्थापन गर्दा इन्धन र मर्मतसम्भारमा हुने सरकारको अर्बौं डलरको खर्च दीर्घकालमा बचत हुने बताइएको छ।

अहिले अमेरिकी पोस्ट अफिसका धेरै सवारी साधनहरु भने प्रतिस्थापन गर्नैपर्ने अवस्थामा छन्। यससँग भएका 'ग्रुम्म्यान एलएलभी' गाडी सन् १९८० को दशकबाटै प्रयोगमा ल्याइएका हुन्। नियमित रूपमा छोटो दुरीमा चल्ने यी गाडी पोस्टल सेवाका दौरान बारम्बार रोक्ने र स्टार्ट गर्ने गर्नुपर्ने हुन्छ, जुन विद्युतीय सवारी साधनको हकमा सहज र उपयुक्त कार्य हो। 

झन्डै ४० वर्ष पुराना यी सवारी साधन प्रतिस्थापनका लागि धेरै वर्षदेखि अमेरिकी सरकारले थुप्रैपटक बिडिङ प्रक्रिया अघि बढाउँदै फिर्ता गर्दै गरिरहेको छ। सोही दौरान यसअघि वर्कहर्स नामको कम्पनीले विद्युतीय डेलिभरी भ्यान आपूर्ति गर्ने प्रस्ताव पेश गरेर ठेक्का सम्झौताको चरणसम्म पुगेको थियो। तर ठेक्का प्रक्रिया नै रोकिएको थियो। अहिले पुनः बाइडेनको घोषणाले यस कम्पनीको सेयरको मूल्य १० प्रतिशतले बढेको छ। 

बाइडेनका यातायात सचिव पिट बट्टिगेगले पनि अत्याधुनिक विद्युतीय सवारी साधनतर्फ राष्ट्रपतिको इच्छातर्फ संकेत गरेका छन्। 'बाइडेनले अमेरिकी सडकमा दशौं लाख विद्युतीय कार कुदेको हेर्न चाहनुभएको छ,'  बट्टिगेगले भनेका छन्।

राष्ट्रपतिका रुपमा सुरुका केही दिनमै बाइडेनले वातावरणीय पक्षमा थुप्रै कदम चालिसकेका छन्। प्रतिबद्धता जनाएअनुसार नै उनले 'पेरिस एग्रिमेन्ट रिजोइन' र 'किस्टोन एक्सएल पाइपलाइन अनुमति खारेजी' उनले जिम्मेवारी सम्हालेको पहिलो दिनमै गरेका थिए। यससँगै उनले नीति विज्ञहरुको 'क्लाइमेट टिम' नै बनाएका छन्। उक्त टिममा भएका जोन केरीले वातावरणका सम्बन्धमा विश्वको नजरमा अमेरिकाको छवि सुधार्नका लागि काम गर्न नै थालिसकेको बताइएको छ।

यसपछि आएको विद्युतीय सवारी साधन प्रयोगको घोषणालाई ठूलो कदमका रूपमा लिइएको छ, भलै यो अहिलेसम्म केवल एक घोषणा मात्र किन नहोस्।