सिटिजन्स बैंकका ब्यवसायिक ग्राहकलाई कर्पोरेट पे सेवा, बैंक नगइ भुक्तानी, एनसीएचएलसँग सम्झौता

बिजमाण्डू
२०७७ माघ १४ गते १४:०० | Jan 27, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल र नेपाल क्लियरिङ हाउस लिमिटेड बीच कर्पोरेट पे प्रणालीको कार्यान्वयनका लागि सम्झौता भएको छ। यो प्रणाली अन्तर्गत बैंकका संस्थागत ग्राहकले बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सक्ने छन्। 

बैंकले आफ्ना व्यावसायिक ग्राहकलाई प्रदान गर्ने यो डिजिटल प्लेटफर्ममार्फत बैंकमा नगई आफैंले फण्ड ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट र सरकारी राजस्व भुक्तानीलगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सक्नेछन्। 

यो प्रणाली मार्फत कनेक्ट आइपीएस तथा आइपीएसमा भुक्तानी कारोबारहरु गर्न सक्ने बैंकले जानकारी दिएको छ। 

कर्पोरेट पेमा आबद्ध हुनका लागि ग्राहकले बैंकमा सम्पर्क गर्नुपर्ने हुन्छ र साधारण आवेदनको स्वीकृति लगायतका आवश्यक प्रक्रिया पूरा गरी बैंकबाट यो सेवा प्राप्त गर्न सकिनेछ। 

यसपछि भने ग्राहकका प्रयोगकर्ताहरु आफैंले तोकिएको सीमा कारोबार भित्र कुनै पनि भुक्तानीहरु बैंकमा उपस्थित नभई नै गर्न सक्दछन्। सीमाभन्दा बढीको कारोबार गर्न भने बैंकले थप चेक जाँचपछि प्रक्रिया अगाडि बढाउने व्यवस्था गरेको छ। 

यो प्रणालीमा पहुँच पाउन मल्टी लेयर अथेन्टिकेसनकोे सुरक्षित व्यवस्था गरिएको बैंकले जनाएको छ। कुनैपनि कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहक आफैंले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताहरुले मात्र गर्न पाउनेगरी यस प्रणालीमा सुरक्षाको व्यवस्था मिलाइएको विज्ञप्तिमा उल्लेख छ। साथै ग्राहकले आवश्यकता अनुरुप यस प्रणालीमा एक भन्दा बढी बैंक खाताहरु पनि लिंक गरी कारोबार गर्न सकिने प्रावधान छ।