होटल व्यवसायी र ट्रेड युनियनबीच पारिश्रमिकमा सहमति, आधारभूत तलब ५ हजार रुपैयाँ

बिजमाण्डू
२०७७ माघ १४ गते ११:२४ | Jan 27, 2021
होटल व्यवसायी र ट्रेड युनियनबीच पारिश्रमिकमा सहमति, आधारभूत तलब ५ हजार रुपैयाँ


Tata
GBIME
Nepal Life

काठमाडौं। होटलहरूको स्तरअनुसार कामदारलाई दिने पारिश्रमिकको दरमा सहमतिको न्यूनतम दरभन्दा नघट्नेगरी होटल व्यवसायी र पर्यटन तथा होटल क्षेत्रमा क्रियाशील केन्द्रिय ट्रेड युनियन संगठनबीच सम्झौता भएको छ।

काम गरिरहेकाहरूलाई आर्थिक अवस्थाअनुसार आपसी सहमतिमा पारिश्रमिक उपलब्ध गराउने भनिए पनि आधारभूत तलब न्यूनतम रकममा भने नघट्ने सहमति भएको वार्तामा सहभागीले बताएका छन्। व्यवसाय घाटामा गएर सञ्चालन खर्च नै धान्न गाह्रो परेपछि होटलहरूले निकै कम जनशक्तिबाट काम लिइरहेका छन्।

धेरै कामदार-कर्मचारीलाई बिदा दिने तरखर गरिरहेका होटलहरूलाई पछिल्लो सहमतिले राहत दिएको छ भने कार्यरतका हकमा पाउने पारिश्रमिक सुनिश्चित हुने भएको हो। तर यसले व्यवस्थापनसँगको सहमतिमा पाउँदै आएको पारिश्रमिक भने कतिपय मजदुर-कर्मचारीको घट्न सक्ने देखिएको छ।

होटल संघ नेपाल र मजदुर संगठनका प्रतिनिधिबीच मंगलबार साँझ भएको वार्तामा अधिकतम आधारभूत तलब पाँच हजार रुपैयाँ दिने निर्णय भएको हो। कोभिड-१९ को महामारीका शिथिल भएको पर्यटन क्षेत्रको व्यवसायमा हालसम्म अपेक्षित सुधार नआएका कारण पुनः द्विपक्षीय सम्झौता गरिएको होटल संघ नेपालका महासचिव साजन शाक्यले बताए। 

'पाँचतारे, चारतारे, तीनतारे, दुईतारे र एकतारे होटलमा कार्यरत कर्मचारी-कामदारलाई मासिक पारिश्रमिक क्रमशः पाँच हजार, चार हजार, तीन हजार, २५ सय र दुई हजार रुपैयाँ आधारभूत तलब दिइने सहमति भएको छ,' उनले भने। 

आधारभूत तलबको दरबारे होटल संघ नेपाल र क्रियाशील प्रमुख तीन केन्द्रिय ट्रेड युनियनका पदाधिकारीबीच सहमति भएको हो। 'यस्तो विषम परिस्थितिमा पनि व्यवसायी र श्रमिक हातेमालो गर्दै जानुपर्छ भन्ने उद्देश्यले यो सहमति गरेका छौं,' महासचिव शाक्यले भने, 'व्यवसाय नै धरासायी अवस्थामा पुगेका कारण आधारभूत तलब पहिलाको भन्दा घटेको छ।’ 

सरकारबाट कुनै राहत नआए पनि श्रमिकको रोजगारी सुरक्षित गर्नका लागि सहमति भएको उनले बताए। 'कुनै पनि मजदुरलाई रोजगारीबाट ननिकाली केही खर्च दिएर आफू पनि बाँचौं र मजदुर-कर्मचारीलाई पनि बचाउँ भन्ने उद्देश्यले सहमति भएको छ,' उनले भने। पर्यटकीय स्तरका होटलमा रोजगारी गरिरहेका श्रमिकका लागि भने आपसी समझदारीमा पारिश्रमिक वितरण गरिने सम्झौता भएको छ। 

सहमति अवधिभर श्रमिकलाई चाडपर्व, बोनस, भ्रमण भत्ता लगायत उपलब्ध नगराइने जनाइएको छ। आगामी डिसेम्बर ३१ तारिखसम्मका लागि कायम गरिएको सहमति अनुसार होटल सञ्चालनका लागि चक्रीय प्रणालीमार्फत आवश्यकताको आधारमा कर्मचारीलाई काममा लगाइने छ। काममा लगाइएका कर्मचारीलाई खाइपाइ आएका पारिश्रामिक दिइने र नबोलाइएका कर्मचारीलाई आधारभूत तलब दिइने सहमतिमा उल्लेख छ। यो अवधिभर बैंक्वेट सेवा बाहेकमा तालिमे, करार, ज्यालादारी र आउटसोर्सिङका कर्मचारीलाई काममा नलगाइने सहमति भएको छ।

स्वेच्छिक अवकाश लिन चाहने र उमेरको हदका कारण अवकाश पाउने कर्मचारीलाई बन्दाबन्दी अगाडि खाइपाइ आएको सुविधा दिइ सेवा अवधि अन्त्य गर्न पाइने व्यवस्था रहेको सहमतिपत्रमा उल्लेख छ। 

यदि कुनै श्रमिकले सहमति अवधिभर रकम प्राप्त गरी सम्झौता अवधि समाप्त भएपछि एक महिना अगाडि नै सूचना नदिइ कामबाट अलग हुने चाहेमा निजले बुझिलिएको रकम उपदानबाट कट्टी गरिने सहमतिपत्रमा छ। यस अघि गत असार २८ गते भएको सहमति अनुसार पाँचतारे होटलका कर्मचारीले १० हजार रुपैयाँ तलब पाउँदै आएका थिए।

यो सहमति अनुसार एकतारे र पर्यटकीय स्तर होटलमा कार्यरत कर्मचारीलाई आपसी समझदारीमा मासिक पारिश्रमिक पाउँदै आएका थिए। दुईतारे, तीनतारे, चारतारे र डिलक्स पाँचतारे होटलका कर्मचारीलाई क्रमशः चार हजार तीन सय रुपैयाँ, पाँच हजार रुपैयाँ,  आठ हजार र १० हजार रुपैयाँ आधारभूत पारिश्रामिक दिने सहमति भएको थियो।

यस्तो छ सहमति