आइएमई पे र इन्द्रपुर खानेपानी बीच सम्झौता, पानीको महसुल आइएमई पे वालेटबाट तिर्न मिल्ने

बिजमाण्डू
२०७७ माघ १४ गते १०:४५ | Jan 27, 2021

Tata
GBIME
Nepal Life

काठमाडौँ। आइएमई डिजिटल सोलुसन अन्तर्गत संचालित ‘आइएमई पे’ र मोरङको विराटचोकस्थित इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समितिबीच भुक्तानी सम्झौता भएको छ ।

सम्झौता अनुसार उक्त क्षेत्रका उपभोक्ताले खानेपानीको महसुल अब आइएमई पे वालेटमार्फत बुझाउन सक्नेछन्।

सम्झौता पत्रमा आइएमई पेका अधिकृत भवानी प्याकुरेल र इन्द्रपुर खानेपानी संचालक सुजाता चौलागाईंले हस्ताक्षर गरे। यस सम्झौताबाट ६ हजार घरधुरी लाभान्वित हुने बताइएको छ।  

झन्डै ३५ हजार एजेण्ट आउटलेट सञ्जाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक सेवा हो।

आइएमई डिजिटलले ‘ आईएमई पे ’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैंले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइलमार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्ने जारी विज्ञप्तिमा जनाइएको छ।

कम्पनीका अनुसार यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यू आर कोडमार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ। 

आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारणलाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्‍याउने लक्ष्य लिएको बताएको छ ।

मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। विभिन्न प्रकारका बिल भुक्तानी तथा जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको महत्वपूर्ण विशेषता भएको कम्पनीले जनाएको छ।