प्लस टु उत्तीर्ण ३९ हजार जनाका लागि गाउँमै जागिरको अवसर, स्नातक पनि ८ हजारलाई मौका

बिजमाण्डू
२०७७ माघ ७ गते १०:२९ | Jan 20, 2021
प्लस टु उत्तीर्ण ३९ हजार जनाका लागि गाउँमै जागिरको अवसर, स्नातक पनि ८ हजारलाई मौका

Tata
GBIME
Nepal Life

काठमाडौं। प्रमाणपत्र तह वा प्लस टु उत्तीर्ण ३९ हजार जना र स्नातक गरेका ८ हजार जनाका लागि करारमा जागिरको अवसर आएको छ।

केन्द्रिय तथ्यांक विभागले ४७ हजारलाई आफ्नै स्थानीय तहमा काम गर्न पाउने गरी करारमा लिने भएको हो। राष्ट्रिय जनगणना २०७८  का लागि तथ्यांक संकलन तथा सुपरिवेक्षणको काम गर्न विभागले भर्ना खुलाइएको सूचना बुधबार प्रकाशित गरेको छ।

सुपरिवेक्षक ८ हजार जना मागिएको छ। सुपरिवेक्षकका लागि शैक्षिक योग्यता स्नातक तह उत्तीर्ण हुनुपर्ने तोकिएको छ। मासिक सेवासुविधा २८ हजार २ सय रुपैयाँ तोकिएको छ। करार अवधि दुई महिना हुनेछ।

गणकका लागि ३९ हजार जना मागिएको छ। शैक्षिक योग्यता प्लस टु वा प्रमाण तह उत्तीर्ण हुनुपर्नेछ। तलब सुविधा मासिक २६ हजार ६ सय १० रुपैया तोकिएको छ। 

विभागले सूचना प्रकाशित गर्दै सम्भव भएसम्म उम्मेदवारले रोजेको स्थानीय तहमा काम गर्न पाउने जनाएको छ। योग्यता पुगेका नेपाली नागरिकहरुले  ६० दिन भित्र आवेदन दिन पाउने सूचनामा उल्लेख छ। अनलाइन जनशक्ति भर्ना प्रणाली बमोजिम दरखास्त दिनुपर्ने छ। 
अनलाइन आवेदन https://censushrms.cbs.gov.np मा भर्न पाइने व्यवस्था गरिएको विभागले जनाएको छ।

अनलाइन निवेदनको साथमा नागरिकताको प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, शैक्षिक योग्यताको लब्धांक प्रमाणपत्र (ट्रान्सक्रिप्ट),तालिम र अनुभवको प्रमाणपत्र समावेश गर्न भनिएको छ।

नेपाली भाषासँगै अतिरिक्त स्थानीय भाषा बोल्न, बुझ्न र अरुलाई बुझाउन सक्ने, राष्ट्रिय स्तरको गणना तथा सर्वेक्षण वा विभागबाट सञ्चालित कुनै पनि कार्यमा अनुभव हासिल गरेका, तालिम लिएका व्यक्ति तथ्यांक वा जनसंख्या विषय लिइ स्नातकोत्तर तह अध्ययनरत वा सो उत्तीर्ण गरेको व्यक्तिलाई विशेष प्राथमिकता दिइने उल्लेख छ।

दरखास्त दिने अन्तिम  दिनमा १८ वर्ष पूरा भइ ४० वर्ष (महिलाको हकमा ४५ ) ननाघेको हुनुपर्छ। सुपरिवेक्षकका लागि चैत २० र गणकको लागि २०७८ बैशाख १५ गते सम्पर्क गर्न भनिएको छ।

प्रत्येक जिल्लामा चैत १ देखि जिल्ला गणक कार्यालय खोलिने भएकाले चैत ५ गतेदेखि ११ गतेसम्म कार्यालय समयमा आवेदन दिन सकिने छ।