सात वर्षे विकास ऋणपत्रको ब्याज ३.८८ प्रतिशत, १० अर्ब माग्दा ७१ अर्ब २८ करोडको आवेदन

बिजमाण्डू
२०७७ माघ १४ गते ०९:५६ | Jan 27, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल राष्ट्र बैंकले निष्कासन गरेको सात वर्षे विकास ऋणपत्रको ब्याज ३.८८ प्रतिशत कायम भएको छ। राष्ट्र बैंकले सरकारलाई आन्तरिक ऋण उठाइदिन विकास ऋणपत्र जारी गरेको हो।

राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको हो। यसमा विभिन्न संस्थाको ३१७ वटा आवेदन परेको छ। एउटै संस्थाले फरक फरक ब्याज राखेर धेरै वटा आवेदन दिन सक्छन्।

वाणिज्य बैंकहरुबाट १७३, विकास बैंकबाट ७४, फाइनान्स कम्पनीबाट ६९ र बीमा कम्पनीबाट एउटा आवेदन परेको हो। १० अर्बको ऋणपत्रका लागि ७१ अर्ब २८ करोड ५० लाख रुपैयाँको आवेदन परेको प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए।

एक बीमा कम्पनीसहित ५१ वटा संस्थाले आवेदन दिएका थिए। यसमध्ये १७ वटाले मात्र ऋणपत्र खरिद गर्न पाए। सात वाणिज्य बैंक र ५/५ वटा विकास बैंक र फाइनान्स कम्पनीले ऋणपत्र खरिद गरेका थिए। 

सरकारले अहिले धमाधम आन्तरिक ऋण उठाइरहेको छ। चालु वर्ष कुल २ खर्ब २५ अर्ब उठाउने लक्ष्य छ। यसमध्ये कात्तिकसम्म ५७ अर्ब उठाइसकेको छ भने फागुनसम्म थप ५६ अर्ब रुपैयाँ उठाउँदैछ।