मंगलबार सेयर बजारमा दोहोरो अंकको करेक्सन, नेपाल लाइफको मात्रै डेढ अर्बको किनबेच

बिजमाण्डू
२०७७ माघ १३ गते १५:२४ | Jan 26, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। गत हप्तादेखि बढ्दै २४४० विन्दुसम्म पुगेको सेयर बजारमा मंगलबार दोहोरो अंकले करेक्सन आएको । आज बजार १७ अंकले घट्दै २४२३ विन्दुमा रोकिएको हो।

लगातार बढिरहेको बजारमा करेक्सन आउनु सकारात्मक भएको सक्रिय लगानीकर्ताहरुको भनाइ छ। बजार दुई पाइला अघि र एक पाइला पछि हुँदै अघि बढिरहेकाले यसलाई सकारात्मक रूपमा लिनुपर्ने इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए।

बजारमा करेक्सन आउँदा सबैभन्दा धेरै निर्जीवन बीमा समूहको सूचक ९८ अंकले घटेको छ। व्यापार समूहको पनि सूचक ९२ अंकले घटेको छ।

बजार घटे पनि गुराँस लघुवित्त, प्रभु लाइफ इन्स्योरेन्स र युनाइटेड फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ। शिवश्री हाइड्रोपावर, प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य भने ४/४ प्रतिशतले घटेको छ।

नेपाल लाइफको मात्रै डेढ अर्बको किनबेच
मंगलबार सर्वाधिक किनबेच हुने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्सको मात्रै एक अर्ब ४५ करोड रुपैयाँको सेयर किनबेच भएको छ। गत आर्थिक वर्षको लाभांश माघ १३ गतेसम्म कायम सेयर धनीले मात्रै पाउने भएपछि कम्पनीको सर्वाधिक कारोबार भएको हो।

त्यस्तै, नेपाल बैंकको ५२ करोड, शिखर इन्स्योरेन्सको २३ करोड, पुनर्बीमा कम्पनीको २० करोड, नागरिक लगानी कोष र नेपाल टेलिकमको १६/१६ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

सनराइज बैंक र नबिल बैंकको पनि १५/१५ करोड रुपैयाँको सेयर किनबेच भएको छ। साथै, नेशनल लाइफ इन्स्योरेन्सको १४ करोड र एनआइसी एसिया बैंकको १३ करोड रुपैयाँको किनबेच भएको छ।

मंगलबार २०७ कम्पनीका एक करोड ९६ लाख कित्ता सेयरको आठ अर्ब २७ करोड रुपैयाँमा किनबेच भएको छ। ४० कम्पनीको मात्रै मूल्य बढेको छ भने ६ वटा कम्पनीको मूल्य स्थिर रहेको छ। बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ।