पब-जी रोकेको भारतमा अक्षयले ल्याए ‘फौजी’, आम्दानीको २०% भारतीय सेनालाई दिइने 

बिजमाण्डू
२०७७ माघ १३ गते १३:०७ | Jan 26, 2021
पब-जी रोकेको भारतमा अक्षयले ल्याए ‘फौजी’, आम्दानीको २०% भारतीय सेनालाई दिइने 

Tata
GBIME
Nepal Life

काठमाडौं। चिनियाँ एप्सले मुलुकको सुरक्षामा जोखिम बढाएको भन्दै भारतले पब-जीमाथि प्रतिबन्ध घोषणा गरेलगत्तै बलिउड कलाकार अक्षय कुमारले ल्याउने घोषणा गरेको मोबाइल गेम 'फौजी' प्लेस्टोरमा आएको छ।

भारतको ७२ ‍औं गणतन्त्र दिवसको अवसरमा उक्त गेम सार्वजनिक गरिएको हो। गुगल प्ले स्टोरमा उक्त गेम ५० लाखभन्दा बढीले रजिस्ट्रेसन गरिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। पबजी भारतमा निकै रुचाइएको मोबाइल गेममध्ये सर्वाधिक डाउनलोड गरिएको सूचीमा थियो। 

भारतीय सञ्चारमाध्यमहरूका अनुसार 'फौजी' गत एक हप्ता १० लाखभन्दा बढीले रजिस्ट्रेसन गरेका थिए। पहिलो चरणमा फौजी एन्ड्रोइड स्मार्टफोनहरुमा मात्र उपलब्ध हुने बताइएको छ। आइओएस एप स्टोरमा कहिले गेम सार्वजनिक हुन्छ भन्ने बारे केही बताइएको छैन। फौजीमा भारतीय सेनाको जीवनलाई चित्रित गरिएको छ। यस्तै, देश र जनताको रक्षाका लागि सिमामा खटिएका सेनाले कसरी काम गर्छन् भन्ने विषय यो मोबाइल गेमको महत्त्वपूर्ण पक्ष भएको फौजीका सीइओ विशाल गोन्डलले बताए। 

गेमको पहिलो भाग भारतीय भूमि लद्दाखको गल्वाङ उपत्यकामा आधारित रहने बताइएको छ। उक्त गेमबाट हुने आम्दानीको २० प्रतिशत 'भारतका वीर' फाउन्डेसनलाई हस्तान्तरण गरिने गोन्डलले बताए। खेलाडीहरुले इन एप खरिदबाट बुझाउने पैसाको केही हिस्सासमेत उक्त फाउन्डेसनमा दाखिला गरिने बताइएको छ। इन एप खरिदबाट खेलाडीहरुलाई आफ्नो क्यारेक्टरलाई कस्टमाइज गर्ने सक्ने छन्। 

भारत सरकारले गत अगस्टमा प्रयोगकर्ताहरुको व्यक्तिगत विवरण चोरी देशबाहिर डेटा लाने गरेको आरोप लगाउँदै पब्जीसहित अन्य ११७ चिनियाँ एप्सहरुमाथि प्रतिबन्ध लगाएको थियो। त्यसलगत्तै अक्षय कुमारले गोन्डलसँग मिलेर 'पब-जी' जस्तै गेम ल्याउने घोषणा गरेका थिए। पब-जीप्रति भारतीय मोबाइल गेम युजरको आकर्षण र गरेको व्यवसायिक कारोबारलाई हेर्दै विकल्पमा 'फौजी' एप्स निर्माण सुरु गरिएको थियो।

चिनियाँ एप्समाथि बन्देज लगाउँदा मोदी सरकारको कोभाजनमा परेको पब-जी पुनः भारतमा छुट्टै कम्पनीमार्फत फर्कने तयारीमा छ। तर यसका लागि प्रक्रिया प्रष्ट भइसकेको छैन। प्रतिबन्ध अघि भारतमा पब-जी करिब १७ करोड डाउनलोड भएको सञ्चारमाध्यमहरूले जनाएका थिए।