शेयर बजारमा (T+2) लागू, जोखिमको थप ब्यवस्थापन गर्न स्टक ब्रोकर्स एसोसिएसनको माग

बिजमाण्डू
२०७७ माघ ११ गते १६:१६ | Jan 24, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। धितोपत्र कारोबार राफसाफ तथा फर्छ्यौट चक्र टि प्लस टु (T+2)  आइतबारदेखि लागू भएको छ।

दोस्रो बजारमा उपलब्ध कारोबार तथा राफसाफसँग सम्बन्धित पूर्वाधारहरु पूर्ण र स्वचालित नभएको अवस्थामा हालसम्म टि प्लस थ्रि (T+3) चक्रमा नै ठूलो आर्थिक जोखिम मोलेको भन्दै टि प्लस टु (T+2) लागू भइसकेपछि  धितोपत्र दलाल व्यवसायीहरुलाई जोखिम अझ बढ्नेतर्फ स्टक ब्रोकर्स एसोसिएसन नेपालले ध्यानाकर्षण गराएको छ।

एसोसिएसनले टि प्स टु(T+2)  राफसाफ चक्रमा जाँदा जोखिम ब्यवस्थापनको लागि आवश्यक पर्ने राफसाफ प्रत्याभूति कोषको स्थापना, अक्सन मार्केट तथा सेक्यूरिटिज लेन्डिङ एण्ड बरोइङ मार्केटको संचालन, पावर अफ एटर्नी, अटो इडिआइएस जस्ता ब्यबस्था चाँडै गर्न पनि माग गरेको छ।

टि प्लस टु(T+2)  राफसाफ चक्रको कार्यान्वयनका लागि लगानीकर्ताहरुले अझै बढी जिम्मेवार हुन तथा आफ्नो दायित्व समयमै पूरा गर्न पनि एसोसिएसनले आग्रह गरेको छ।

यसका लागि धितोपत्रको बिक्री गरिसकेपछि लगानीकर्ताहरुले आफूले बिक्री गरेको धितोपत्रको भारित औसत लागत गणना गर्ने र बिक्री गरेको धितोपत्र  कारोबार भएको दिन बाहेक थप एक कार्यदिन (T+1) को कार्यालय समयभित्र डिआईएस हस्तान्तरण गरी सम्बन्धित दलाल व्यवसायीलाई भारित औसत लागत घोषणा फारम भरी बुझाउने वा मेरो शेयरको प्रयोग गरी इडीआइएसमार्फत सम्बन्धित दलाल व्यवसायीको पुल खातामा धितोपत्र हस्तान्तरण गर्नुपर्ने एसोसिएसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कुनै कारणबश बिक्री गरेको धितोपत्र (T+2) को १२ बजेभित्र दलाल व्यवसायीको पुल खातामा हस्तान्तरण नभएमा धितोपत्र संख्याको बिक्री रकमको २० प्रतिशत रकम क्लोजआउटमा जाने र सो बराबरको बिक्री रकमको २० प्रतिशत रकम जरिवाना सम्बन्धित बिक्री गर्ने लगानीकर्ताको खाताबाट कट्टी भई खरिद गर्ने लगानीकर्ताको खरिद हिसाबमा जम्मा हुने कानुनी व्यवस्था रहेको पनि एसोसिएसनले जानकारी दिएको छ।

यस्तै खरिद गर्ने लगानीकर्ताले आफूले खरिद गर्ने कुल अनुमानित रकमको धितोपत्र व्यवसायीले तोकेको प्रतिशतले हुन आउने रकम खरिद आदेश पूर्व नै विद्युतीय माध्यमबाट अग्रिम भुक्तानी गर्न पनि एसोसिएसनले भनेको छ। समयमा खरिद रकम विद्युतीय माध्यमबाट भुक्तानी गर्नुपर्ने तथा समयमै भुक्तानी नगरेमा खरिद धितोपत्र नेप्से तथा सीडिएस एण्ड क्लियरिङलाई जानकारी दिइ बिक्री गरी व्यवसायीले रकम असुल गर्न सक्ने पनि एसोसिएसनले जनाएको छ।

राफसाफ तथा फर्छ्यौट चक्रलाई दुई कार्य दिनभित्र सम्पन्न गर्ने उद्देश्यले (T+2) लागू गरिएको हो।