सेयर बजारमा उत्साहः २४०० अंकमाथि गयो बजार, ५० अंकको उछाल आउँदा साढे ९ अर्बको किनबेच

बिजमाण्डू
२०७७ माघ ११ गते १५:१३ | Jan 24, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। आइतबार सेयर बजारमा ५० अंकको उछाल आएसँगै नेप्से सूचकले २४०० अंक पार गरेको छ।

सूचक ५० अंकले बढेर २४२४ बिन्दुमा पुग्दा कारोबार रकम समेत ९ अर्ब रुपैयाँ भन्दामाथि पुगेको छ।

नेपाल लाइफको मात्रै ६६ करोड रुपैयाँको कारोबार हुँदा पुनर्बीमा कम्पनीको ३४ करोड, नेपाल टेलिकमको ३१ करोड, नेशनल लाइफको २४ करोड, प्राइम कमर्सियल बैंकको २२ करोड रुपैयाँको किनबेच भएको छ।

सिभिल बैंकको १३ लाख कित्ता सेयरको माग हुँदा मेगा बैंकको साढे ९ लाख कित्ता, प्रभु लाइफ र नेपाल क्रेडिट एण्ड कमर्स बैंकको ८/८ लाख कित्ता सेयर माग भएको थियो। 

सर्वाधिक किनबेच भने एचआइडिसिएल, कुमारी बैंक, प्रभु बैंक, सिभिल बैंक अरुण काबेली पावर र प्राइम कमर्सियल बैंकको करिब ५/५ लाख कित्ता सेयर किनबेच भएको छ।

व्यापार समुह बाहेक सबै उपसूचक हरियो

आइतबार व्यापार समुह बाहेकका सबै उपसूचक हरियो भएका छन्। सबैभन्दा धेरै निर्जीवन बीमा समुह २२१ अंकले बढ्दा जीवन बीमा समुह १६५ अंक, लघुवित्त समुह १०२ र अन्य समुह १०४ अंकले बढेका छन्। व्यापार समुहको सूचक ७३ अंकले घटेको छ।

दर्जन बढी कम्पनीमा सर्किट
आइतबार कारोबारमा आएका कम्पनीमध्ये मिथिला लघुवित्त, पोखरा फाइनान्स, ग्रामीण विकास लघुवित्त, गुरास लाइफ इन्स्योरेन्स, गुराँस लघुवित्त, नागरिक लगानी कोष, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, आइएमई जनरल इन्स्योरेन्स, सपोर्ट माइक्रो फाइनान्स, रिडि हाइड्रोपवार, प्रभु लाइफ इन्स्योरेन्स, माउन्टेन इनर्जी, एचआइडिसिएल,  शिवश्री हाइड्रोपवार, आशा लघुवित्त र रैराङ हाइड्रोपावरको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ।

करिब ८० हजार कारोबार
आइतबारको कारोबारमा करिब ८० हजार पटक सेयर किनबेच भएको छ। यसअघि दैनिक ४० देखि ४५ हजार सम्म कारोबार हुने गरेकोमा आइतबार करिब दोब्बर संख्यामा किनबेच भएको छ।

७९ हजार ९४ वटा कारोबारबाट २०७ कम्पनीका एक करोड ९२ लाख ८६ हजार कित्ता सेयर ९ अर्ब ३७ करोड रुपैयाँमा किनबेच भएका छन्।
७ वटा कम्पनीको मूल्य स्थिर रहँदा ४६ वटा कम्पनीको मूल्य घटेको छ। बाँकी सबै कम्पनीको सेयर मूल्य बढेको छ।