एफएनसीसीआइले गठन गर्‍यो पुँजीबजार फोरम, बजार विकासमा योगदान दिने गोल्छाको विश्वास

बिजमाण्डू
२०७७ माघ ११ गते १२:०६ | Jan 24, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले पहिलोपटक पुँजीबजार फोरम गठन गरेको छ।

महासंघ कार्यकारिणी समिति सदस्य अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा गठन भएको पुँजी बजार फोरमलाई थप विस्तार गरिएको हो।

पुँजी बजारको विकास र विस्तारको लागि क्रियाशील भई काम गर्ने, पुँजी बजारलाई नियमन गर्ने ऐन नियमको प्रभावकारी कार्यान्वयन र ऐन नियमलाई समयसापेक्ष सुधार गर्न सुझाव तयार गर्ने फोरमको प्रमुख उद्देश्य रहेको छ।

नवगठित फोरमको सहसभापतिमा महासंघको कार्यकारिणी समितिका पूर्वसदस्य रमशरण थपलिया छन्।

त्यसैगरी फोरमका सदस्यहरूमा महासंघको पूर्वकार्यकारिणी समिति सदस्य निर्माणकुमार श्रेष्ठ, नेपाल मर्चेन्ट बैकर्स एसोसिएसनका अध्यक्ष मेखबहादुर थापा, सेक्योर्ड सेक्युरिटिजका अध्यक्ष सन्तोष मैनाली, क्रिष्टल कञ्चनजंघा सेक्युरिटिजका अध्यक्ष प्रियराज रेग्मी, मार्केट पण्डित क्यापिटल एण्ड मर्चेण्ड बैकिङका संचालक विष्णुप्रसाद बस्याल, ओरल एडभरटाइजिङ एजेन्सीका प्रबन्ध निर्देशक राजन लम्साल र ग्रीन हिल सिटीका प्रबन्धक ज्योति दाहाल छन्।
 
एनआरएन इन्फ्रास्ट्रक्चरका कार्यकारी अधिकृत उषा खतिवडा र अनलाइन सेक्युरिटिजका प्रबन्ध निर्देशक अनन्तकुमार पौडेल आमन्त्रित सदस्यमा चयन भएका छन् भने फोरमको सल्लाहकारहरूमा सिद्धार्थ क्यापिटलका कार्यकारी अधिकृत ध्रुव तिमल्सिना र पुँजी बजारका परामर्शदाता कुमारकेशर विष्ट नियुक्त भएका छन्। 

समितिमा चुनिएका उद्यमी व्यवसायीहरूलाई महासंघका तर्फबाट औपचारिक पत्र हस्तान्तरण गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले पुँजी बजारलाई स्थायी र भरपर्दो बनाउन नीतिगत सुधार, संस्थागत व्यवस्था र स्वस्थ अभ्यासको प्रवर्द्धनमा फोरममार्फत महासंघले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरे। 

अध्यक्ष गोल्छाले नेपालको पुँजी बजारको विकासमा महासंघको तर्फबाट पनि योगदान दिन सकियोस् भनेर फोरम गठनमा विशेष जोड दिएको बताए।

कार्यक्रममा महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठ र रोजगारदाता परिषदका सभापति एवं पदेन उपाध्यक्ष रामचन्द्र संघाईले पुँजी बजारका विषयमा जनचेतना वृद्धि र जानकारीमूलक कार्यक्रम संचालन गर्न सम्बन्धित पक्षसँग समन्वय गर्ने कार्यमा फोरम सक्रिय रूपमा लाग्ने विश्वास व्यक्त गरे।