नागढुंगा-नौबिसे सुरुङमार्गमा धादिङसँगै काठमाडौं पोर्टलबाट पनि खन्न सुरू, पूर्ण क्षमतामा काम

बिजमाण्डू
२०७७ माघ १० गते १५:१३ | Jan 23, 2021
नागढुंगा-नौबिसे सुरुङमार्गमा धादिङसँगै काठमाडौं पोर्टलबाट पनि खन्न सुरू, पूर्ण क्षमतामा काम


Tata
GBIME
Nepal Life

काठमाडौं। धादिङतर्फबाट काम थालिएको निर्माणाधीन नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाले काठमाडौंतर्फ (पूर्वी पोर्टल) बाट पनि सुरुङ खन्ने काम सुरु गरेको छ।

बिहीबारदेखि पूर्वी पोर्टलबाट पनि खन्ने काम सुरु गरिएको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले बताए। 'अहिले कुनै समस्या नभएकाले दुवैतिरबाट फुल फ्लेजमा सुरुङमार्गको काम भइरहेको छ,' उनले भने। गत पुस ७ गतेबाट आयोजनाको धादिङतर्फ पश्चिम पोर्टलबाट सुरुङमार्ग खन्न सुरु गरिएको थियो।

इभाकुएसन (evacuation) टनेलमार्फत खन्न सुरु गरिएको हो। इभाकुएसन टनेल आपतकालीन अवस्थामा प्रयोगका लागि मुख्य सुरुङमार्गसँगै समानान्तर हुनेगरी बनाइने सुरुङ हो। मुख्य सुरुङबाट ३० मिटरको दुरी (चौडाई) मा हुनेगरि स्केप टनेल खनिन्छ। यसरी समानान्तर हुनेगरी खनिने स्केप टनेललाई प्रत्येक ३७५ मिटरमा सहायक बाटो (क्रस प्यासेज) ले मुख्य सुरुङसँग जोड्छ।

कुनै दुर्घटना परे वा भवितव्य भए एम्बुलेन्स लगायतका आपतकालीन सवारीको आउजाउका लागि यस्तो सुरुङ (स्केप टनेल) प्रयोग हुनेछ। धादिङतिर हालसम्म करिब ३० मिटर खनिएको आयोजनाको इन्जिनियर कल्पना अधिकारीले बताइन्। अहिले दुई सिफ्ट (रात र दिन) मा काम भइरहेको छ।

दुईतिरबाट गरि आयोजनामा यतिबेला करिब ३ सय जना कामदार खटिएका छन्। धादिङतिर इभाकुएसन टनेलबाट काम सुरु भएको भए पनि काठमाडौंतिरबाट इभाकुएसनसँगै मुख्य टनेल खन्ने काम पनि सुरु भएको छ। आयोजनाका अनुसार पानीको सिपेज मिलाउन र अरु प्राविधिक कारणले धादिङतिरबाट काम थालिएको हो।

सुरुङमार्गसँगै बाहिरको काम पनि भइरहेको अधिकारीले बताइन। उनका अनुसार अहिले काम हुने सिजन हो। बर्खामा सुरुङमार्ग बाहिरको काम गर्न नसकिने भएकाले त्यसलाई जोड दिइएको छ। बाहिर वाटर सप्लाइ, सडक विस्तार,कल्भर्ट, माटो भर्ने,संरचनाहरु निर्माण गर्न लगायतका कामहरु भइरहेका छन्। १४ महिनामा सुरुङ छेड्ने र त्यसपछि फिनिसिङको काम गर्ने सेड्युल बनाएर निर्माणको जिम्मा पाएको जापानी कम्पनी हाज्मा-आन्दो कर्पोरेसनले  तालिका बनाएर काम अघि बढाएको छ।

४४ महिनामा यो आयोजना पूरा गर्ने सम्झौता छ। १५ महिनाअघि शिलान्यास गरेर काम थालिएको भए पनि मुख्य काम गत महिनामात्रै सुरू हुन सकेको हो। मुआब्जा विवाद, स्थानीयको अवरोध लगायतका कारणले करिब एक वर्ष कामले गति लिन कसकेो थिएन।

करिब २.७ किलोमिटरको हुने सुरुङमार्गमा काठमाडौतिरको पोर्टल चन्द्रागिरि नगरपालिका-१ को टुटीपाखामा रहनेछ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा रहने छ।

टनेलमा मुख्य दुई वटा लेन हुनेछ। बीचमा थप एउटा सानो साइड लेन छ। सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ। जापान सरकारको सहुलियत ऋण करिब १६ अर्ब र नेपाल सरकारको ६ अर्ब गरी २२ अर्ब रुपैयाँमा यो सुरुङमार्ग निर्माण हुन लागेको हो।