स्थापनाको पाँच महिनामै ‘साथीमार्ट’ ले खोल्यो ६१ आउटलेट, फेब्रुअरीदेखि मोबाइल एपबाट देशभर सेवा

बिजमाण्डू
२०७७ माघ ९ गते १७:४९ | Jan 22, 2021
स्थापनाको पाँच महिनामै ‘साथीमार्ट’ ले खोल्यो ६१ आउटलेट, फेब्रुअरीदेखि मोबाइल एपबाट देशभर सेवा

Tata
GBIME
Nepal Life

स्थापनाको पाँच महिनामै 'साथीमार्ट' का ६१ आउटलेट संचालनमा, फेब्रुअरीदेखि मोबाइल एपबाट पनि सेवा दिने

काठमाडौं। 'अनलाइन टु अफलाइन' (ओटुओ) इ-कमर्स संचालन गर्दै आएको साथीमार्टले स्थापनाको छोटो अवधिमै सेवा विस्तारमा आक्रामक देखिएको छ । 

नेपाली युवाले गरेको यस स्टार्टअप कम्पनीले गत भदौ २९ गते काठमाडौैंको बौद्धमा पहिलो आउटलेट संचालनमा ल्याएको थियो । त्यसको पाँच महिना पनि नबित्दै यसले ६१ वटा आउटलेट संचालनमा ल्याइसकेको बताएको छ।

यसका साथै आउँदो महिना (फेब्रुअरी) बाट कम्पनीले साथीमार्टको आधिकारीक मोबाइल एप ल्याएर त्यसमार्फत पनि नेपालभरका ग्राहकलाई अनलाइन अर्डर गर्ने सुविधा दिने तयारी रहेको कम्पनीका सीईओ सागर पोखरेलले बताए।

उनका अनुसार, साथीमार्टले पूर्वको काँकडभिट्टादेखि सुदूरपश्चिमको धनगढीसम्म आफ्नो शाखा संजाल विस्तार गरिसकेको छ । अर्घाखाँची, जिरी (दोलखा), गल्छी (धादिङ), दार्चुला लगायत सुपरमार्केट संचालन नभएका क्षेत्रमा पनि आफ्नो आउटलेट विस्तार गर्दै आएको पोखरेलले बताए।    

नेपालका ग्रामिणदेखि शहरी क्षेत्रसम्म हजारौं आउटलेटसहित अनलाइन सपिङको सुविधा दिने उद्देश्य साथीमार्टको रहेको उनी बताउँछन्। उनको यस ओटुओ व्यवसायबाट साढे तीन सय जनाले प्रत्यक्ष रोजगारी पाएका उनले जानकारी दिए ।

साथीमार्टले राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्राण्डका ग्रोसरी, सरसफाइका सामान, बेभरेज, स्न्याक्स, दुग्धजन्य उत्पादन, फ्रोजन खाद्य सामग्री, उपहार, ब्रेकफास्ट आइटम लगायत विभिन्न सामग्रीहरु उपलब्ध गराउँदै आएको पोख्रेलको भनाइ छ। यद्यपि, ‘अब जमाना स्मार्ट सपिङको’ नारा लिएको कम्पनीले नेपाली उत्पादनलाई विशेष प्राथमिकता दिने योजना रहेको  उनले बताए। 

कम्पनीले छिट्टै ‘ओ टु ओ’ कमर्शको अवधारणामा नेपालभर अर्डर गरेकै दिन डेलिभरी सुविधा दिनेगरी सेवा सुरु गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिए ।

पोखरेल भन्छन्, 'बेरोजगार तथा नेपालमै बसेर केही गरौं भन्ने सोच भएका युवाहरुलाई लक्षित गरेर साथीमार्टले बिना लगानी व्यापार सुरु गर्न सकिने व्यवस्था मिलाएको छ। साथै, रेफर एण्ड अर्न गर्ने गरि ’साथीमार्ट एफिलिएट स्टार्टअप प्लान’ सुरु गरेर यसै वर्ष कम्तिमा ३० हजार युवालाई स्वरोजगार बनाउने लक्ष्य राखेका छौं।' यसमा सरिक हुन इच्छुक व्यक्तिले साधारण मार्ट वा पसलकै जति लगानीमा अनलाइन, अफलाइन, रिटेल आउटलेट, डिस्ट्रिब्युटर्स लगायत चार तरिकाबाट साथीमार्टसँग साझेदारी गरेर आर्जन गर्नसक्ने उनको भनाइ छ।

हाल नि:शुल्क फ्रेन्चाइज प्रदान गर्दै आइरहेको कम्पनीले फ्रेन्चाइज पार्टनर बन्नका लागि उपभोक्ताले साथीमार्टको वेबसाइट र सार्थमार्टको आधिकारिक फेसबुक पेजमार्फत अनलाइन निवेदन दिन सक्नेछन्। 

साथीमार्टमार्फत उपभोक्ताले सस्तो र सुलभ सपिङ गर्न पाउनुका साथै लाइफ टाइम डिस्काउन्ट कार्ड, गिफ्ट भौचर, मासिक सपिङ योजना, लक्की ड्र कुपन, देश-विदेश भ्रमण लगायतका सुविधा पाउने कम्पनीले बताएको छ।

'पुराना एकल पसलको युग विश्वव्यापी रुपमा नै समाप्त हुँदै गर्दा नेपालमा पनि चेन सुपरमार्केट सुरु हुन थालिसकेको छ। पछिल्लो समय नेपालमा पनि ७० प्रतिशत इन्टरनेट प्रगयोगकर्ता भइसकेका छन्। यसैले आउने दिनमा डिजिटल मार्टको युग सुरु हुने विश्वास लिएका छौं,' पोखरेलले भने।