लुम्बिनीमा ‘मिनी शहर’ निर्माण सुरु, अपार्टमेन्ट शिलान्यासबाट काम थालियो, पहिलो चरण ३ वर्षमा पूरा

बिजमाण्डू
२०७७ माघ ९ गते १४:५२ | Jan 22, 2021
लुम्बिनीमा ‘मिनी शहर’ निर्माण सुरु, अपार्टमेन्ट शिलान्यासबाट काम थालियो, पहिलो चरण ३ वर्षमा पूरा

Tata
GBIME
Nepal Life

काठमाडौं। लुम्बिनीमा निर्माण हुने टाउनशीप परियोजना ‘द हब – लुम्बिनी’ को निर्माण सुरु भएको छ । परियोजनाको सुरुआत यसभित्र रहने 'माया अपार्टमेन्ट' को शिलान्यासबाट गरिएको छ।

'मिनी शहर' को अवधारणामा निजीक्षेत्रले पहिलोपटक विकास गर्न लागेको यो टाउनशीप मोफसलमा हुने ठूलो लगानीको परियोजनामध्येको एक हो। यसमा रियल स्टेट क्षेत्रमा कहलिएको कम्पनी सीई कन्स्ट्रक्सनका साथै ग्रान्डी होल्डिङ्स र पर्यटन व्यवसायी योगेन्द्र शाक्यको मुख्य लगानीमा आउन लागेको हो ।

परियोजनामा यी तीन कम्पनीको ५५ प्रतिशतभन्दा बढी ‘इक्विटी’ लगानी रहनेछ । बाँकी सेयर ग्रान्डी होल्डिङ्स र सीई कन्स्ट्रक्सनका प्रवर्द्धक तथा कर्मचारीहरू लगायत अन्य इच्छुक लगानीकर्ताहरूको समेत करीब ५० जनाको हुने गरी ‘युनिक इन्भेस्टमेन्ट मोडेल’ बनाएको बताइएको छ।

परियोजनाको मुख्य प्रवर्द्धकमध्येको सीई कन्स्ट्रक्सनका अध्यक्ष विजय राजभण्डारीका अनुसार, यस परियोजनामा ‘द हब लुम्बिनी प्रालि’ को मात्र कम्तीमा ३ अर्ब रुपैयाँ लगानी हुनेछ । यद्यपि, यो रकम अझ बढ्ने सम्भावना रहेको उनले बताएका छन् । यस परियोजनामा बन्ने विभिन्न कम्पोनेन्टहरूमा उक्त कम्पनीबाहेक अन्य रणनीतिक लगानीकर्ता पनि हुन सक्नेछन् ।

मायादेवी मन्दिर (लुम्बिनी) बाट ५ किमि र निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) बाट १३ किमिको दूरीमा बन्ने ‘द हब’ हस्पिटालिटी, हाउजिङ, रिक्रिएसन र अर्ग्यानिक कृषिको फ्युजनसहितको ‘क्याम्पस’ हुने बताइएको छ ।

निजी सार्वजनिक लगानीमा बन्ने यस्तो मिश्रित प्रयोगको परियोजना नेपालमा नै पहिलोपटक आउन लागेको हो । जसमा एउटै क्याम्पसमा हाउजिङ, अपार्टमेन्टका साथै फास्टफूड तथा चाट स्टलदेखि तारे होटलहरूसम्म रहने परिकल्पना गरिएको छ।

क्याजुअल तथा हाई–एन्ड रेस्टुरेन्टहरू, मल्टिप्लेक्स, कन्भेन्सन सेन्टर, ब्याङ्क्वेट, वाटर वल्र्ड, हेल्थ क्लब, मुभी थिएटर इत्यादि बनाउने  योजना छ । यीमध्ये अधिकांश परियोजनाहरु पहिलो चरणमा नै आउने बताइएको छ ।

परियोजनामा हुने हरेक मुख्य कम्पोनेन्टअन्तर्गत अलगअलग सब–कम्पोनेन्टहरू रहनेछन् । जस्तै – मल्टिप्लेक्सभित्र पार्टी भेन्यु, फूडकोर्ट, अफिस स्पेस, गेमिङ जोन, पसल कबलहरू इत्यादि हुनेछ ।

आगामी तीन वर्षभित्रमा होटल, अपार्टमेन्ट, वाटर वर्ल्ड, सपिङ सेन्टर, रेष्टुरेन्टलगायतका पूर्वाधारहरु निर्माण गरिसक्ने लक्ष्य रहेको राजभण्डारीले बताएका छन्।

योसहित सात बिघा (करीब ९० रोपनी) मा रहने पहिलो चरणका सबै ‘कम्पोनेन्ट’हरूमा गरी कुल १० अर्ब रुपैयाँ हाराहारी लगानी हुने अनुमान छ ।
ठूलो स्केलमा हाउजिङदेखि करिब ४ बिघा क्षेत्रफलमा व्यावसायिक अर्गानिक फार्मिङसम्मका प्रोजेक्ट भने दोस्रो चरणमा ल्याउने योजना छ । यस्तै, गल्फ कोर्स, स्तरीय हेल्थ सेन्टर, एजुकेसन सेन्टरलगायत पनि यसमा आउन सक्नेछन् । । 

दुवै चरणका सम्पूर्ण कम्पोनेन्टहरू पूरा हुँदा द हब लुम्बिनी समग्रमा करीब २० बिघामा विस्तारित हुनसक्ने बताइएको छ ।

‘एउटै ठूलो परिसरभित्र उच्चस्तरीय मनोरञ्जन, आतिथ्य सत्कार (हस्पिटालिटी) र आवासीय क्षेत्र विकासको संयोजनमार्फत परियोजनास्थल वरपरको व्यवसायीकरण गरी स्थानीय अर्थतन्त्रलाई उकास्ने उद्देश्य हो हाम्रो,’ यो परियोजना ल्याउनुको कारणबारे राजभण्डारीले भनेका छन्, ‘पर्यटकीय गन्तव्य विकासको यो हाइब्रिड मोडेलमा हामी देशका विभिन्न ठाउँमा यस्ता परियोजनाहरू ल्याउने सोचमा छौं । त्यसैको क्रमस्वरूप लुम्बिनीमा पाइलट प्रोजेक्ट गर्न लागेका हौं ।’

लुम्बिनी–भैरहवाको गर्मी छल्न उक्त परियोजनाभित्र करीब दुई बिघा क्षेत्रफलमा फैलिएको ‘वाटर वर्ल्ड’ पनि हुने बताइएको छ । 

होटलको बाहेक छुट्टै स्तरीय हेल्थ क्लबसमेत यसमा रहनेछ । नेपाली हस्तकला, गार्मेन्टका लागि अन्य विविध नेपाली सामग्रीहरूको सपिङ केन्द्र पनि हुनेछ । यसमा पर्यटकहरूले समय बिताउन सक्ने सम्पूर्ण आवश्यक तत्वहरुका साथै साथै सबै उमेर, वर्ग र क्षेत्रका आगन्तुकलाई समेट्ने प्रडक्टहरु हुने बताइएको छ ।

स्थानीयका लागि विभिन्न समारोह आयोजना गर्ने पार्टी भेन्युदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको सम्मेलन आयोजना गर्न ८ सयदेखि एक हजार सीट क्षमताको सम्मेलन हलसमेत यसमा निर्माण गर्ने योजना छ ।

यी सबै सेवासहितको द हब लुम्बिनी सञ्चालनमा आउँदा परियोजनाले धेरै ठूलो संख्यामा स्थानीय रोजगारी सिर्जना गर्नुकासाथै विदेशी मुद्रा आर्जन गर्ने राजभण्डारीको भनाइ छ।

पहिलो चरणमा सञ्चालनमा आउने अपार्टमेन्टसहित तारे होटल र अन्य विभिन्न व्यापारिक तथा रिक्रिएसनल प्रडक्टहरूले द हब लुम्बिनी परिसरको लोकेसन आर्थिक दृष्टिले पनि स्थापित भइसक्ने प्रवर्द्धहरुको विश्वास छ।  

सोहीअनुरुप पहिलो चरणलाई स्थापित गरेपछि मात्रै दोस्रो चरणको योजना कार्यान्वयनमा लैजाने बताइएको छ ।
'द हब' नाममै लुम्बिनीपछि नगरकोटमा पनि सीई लगायतको समूहले अर्को यस्तै एकीकृत प्रडक्टहरुसहितको अवधारणामा परियोजना अघि बढाएको छ । तर त्यसमा भने लुम्बिनीको भन्दा भिन्न किसिमका र नगरकोट तथा उपत्यका आसपासको कन्टेक्स्ट सुहाउँदो कम्पोनेन्टहरु रहनेछ। 

अपार्टमेन्ट पाँच रोपनीमा, २०७९ असारमा सकिने

परियोजनाको सबैभन्दा पहिलो कम्पोनेन्टको रुपमा अहिले अपार्टमेन्टको निर्माण औपचारिक रुपमा थालिएको हो ।
माघ ५ गते एक कार्यक्रम आयोजना गर्दै सीई कन्स्ट्रक्सनका अध्यक्ष विजय राजभण्डारी, पर्यटन व्यवसायी योगेन्द्र शाक्यलगायतको उपस्थितिमा अपार्टमेन्ट शिलान्यास भएको थियो। 

पाँच तलाको हुने अपार्टमेन्टमा स्टुडियो युनिटसँगै एक, दुई र चार बेडरुम एकाइ निर्माण हुने बताइएको छ। कुल ३९ युनिट रहने उक्त अपार्टमेन्टहरु ४४३.८३ वर्गफीटदेखि २२३७.७६ वर्गफीटसम्म बिल्टअप एरियाको हुने राजभण्डारीले बिजमाण्डूलाई जानकारी दिए। 

यो अपार्टमेन्टले कुल पाँच रोपनी क्षेत्रफल ओगट्ने छ। गत वैशाखमै अपार्टमेन्टको निर्माण थाल्ने योजना रहेको भएपनि कोरोना महामारीका कारण सरकारले गरेको लकडाउन र निषेधाज्ञाले यसको काम अवरुद्ध भएको थियो ।

परियोजना निर्माणको अनुमति पनि सरकारी निकायबाट ढिलो आएकाले पनि आयोजना पछाडि धकेलिएको बुझिएको छ । परियोजना निर्माणको अनुमति गत पुस ६ गते मात्रै पाएको राजभण्डारीले बताए। 

अपार्टमेन्ट निर्माणको ठेक्का र डिजाइन दुवै सीई ग्रुपले गर्ने बताइएको छ। डेभलपर 'द हब लुम्बिनी प्रालि' ले पुस २० गतेबाट मात्रै अपार्टमेन्टको निर्माणको काम थालेको हो । यसको निर्माण २०७९ असारमा सक्ने कम्पनीको लक्ष्य छ। 

कर्ण शाक्यको तारे होटलको निर्माण नरोकिने

पर्यटन व्यवसायी कर्ण शाक्यले यस परियोजनाभित्रै ल्याउने चार तारे होटल 'शाक्यमुनि होटल' को निर्माण कोभिड-१९ ले पर्यटन क्षेत्रमा पारेको प्रभावले भने नरोकिने राजभण्डारीले जानकारी दिए। यसको अर्थ कोरोनाले शिथिल बनाएको पर्यटन क्षेत्रमा नयाँ पूर्वाधार थपिन भने नरोकिने देखिएको छ।    

आफूहरुलाई कोभिड-१९ ले नभएर अनुमति प्रक्रियाले बढी आफ्ठ्यारोमा पारेकाले निर्माण अवधि नै धकेलिएकाले होटल निर्माणमा कुनै परिवर्तन नहुने राजभण्डारीले स्पष्ट पारे। परियोजनाको ओरिएन्टेसन र आकारमा भने केही परिवर्तन हुने संकेत उनले गरे। 

प्रारम्भिक डिजाइनअनुसार करिब २० रोपनीमा हुने यस होटलमा  ९० कोठा रहने योजना छ ।  ३०/३० कोठाको तीनवटा ब्लक रहने उक्त होटल बुद्धिजम थिममा बहाल, चोकसहित मौलिक नेपाली शैलीको हुने शाक्यले जानकारी दिएका छन् । निर्माण शुरु गरेको तीनदेखि चार वर्षभित्र यो होटल पूरा गर्ने लक्ष्य राखिएको यस होटलमा एक अर्ब हाराहारीमा लगानी हुने शाक्यले बताएका छन् ।

पर्यटन व्यवसायी शाक्यको बाहेक तीन तारेस्तरका अन्य दुईदेखि तीन वटा होटल पनि आउन सक्ने सम्भावना रहेको छ। जसमा एउटा होटल सीई आफैंले पनि ल्याउन सक्ने राजभण्डारीले बताएका छन् ।