पाँच दिनमा २७ व्यवसायी वाणिज्यको कारबाहीमा, तेल उद्योगबाट सबैभन्दा धेरै जरिवाना असुली

बिजमाण्डू
२०७७ माघ ९ गते १४:४७ | Jan 22, 2021
पाँच दिनमा २७ व्यवसायी वाणिज्यको कारबाहीमा, तेल उद्योगबाट सबैभन्दा धेरै जरिवाना असुली

Tata
GBIME
Nepal Life

काठमाडौं ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन गर्दै पछिल्लो पाँच दिनमा २७ व्यवसायिक प्रतिष्ठानहरुलाई कारबाही गरेको छ। 

कारबाहीमा पर्ने व्यवसायीहरुबाट विभागले करिब ११ लाख ५ हजार रुपैयाँ जरिवानासमेत असुल गरेको छ। विभागले उपत्यकाका तीनवटै जिल्लामा रहेका खाद्यान्न तथा किराना, निर्माण सामग्री, हार्डवेयर, मदिरा, फर्निचर लगायतका कुल ५९ वटा व्यवसायहरुमा अनुगमन गरेको थियो।

यस क्रममा २७ वटा खाद्यान्न तथा  निर्माण सामाग्री व्यवसायले उपभोक्ता हित प्रतिकूल कार्य गरेको फेला पारेको विभागले जनाएको छ। अनुगमनमा परेका बाँकी ३२ व्यवसायीलाई भने विभागले चेतावनीसहित सामान्य निर्देशन दिएर छाडेको छ।

सरकारले तोकेको ऐनविपरीत व्यापार गरेको, उपभोक्तालाई अधिकतम खुद्रा मूल्यभन्दा बढी रकम लिएको, बिल बिजक प्रयोग नगरेको र अखाद्य वस्तुहरुको बिक्री वितरण गरेको भेटिएका व्यवसायीहरु विभागको कारबाही तथा जरिवानामा परेका हुन्। यस क्रममा विभागले ३२ हजार रुपैयाँभन्दा बढी मूल्य बराबरको खाद्य वस्तुहरु नष्ट समेत गर्न लगाएको थियो। 

सबैभन्दा बढी जरिवाना तेल उद्योगबाट 

केही समययता बजारमा तेलको मूल्य अचाक्ली बढेको गुनासो आउन थालेपछि अनुगमन तीव्र बनाएको विभागले जनाएको थियो। सोही क्रममा गत माघ ७ मा विभागले बारा जिल्लामा रहेका दुईवटा तेल उद्योगले अस्वभाविक रूपमा मूल्य बढाएको फेला पारेको थियो।

विभागले ती उद्योगलाई कारबाहीस्वरुप ३-३ लाख रुपैयाँ जरिवाना गरेको जनाएको छ।  उद्योगले लागत मूल्यभन्दा बढी मूल्य देखाएर त्यसका आधारमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अस्वाभाविक बढाएर राखेर उपभोक्ता दोहन गरेको पाइएको हो।

कच्चा पदार्थ आयात गरि भटमास, सनफ्लावर र तोरीको तेल उत्पादन गर्दै आएको अन्नपूर्ण भेजिटेबल प्रालि र महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी प्रालिलाई तत्काल मूल्यवृद्धि सच्याउन विभागले निर्देशन दिएको जनाएको छ।

विभागले ८ गते गरेको अनुगमनमा पनि श्री भण्डारी स्टोरले विभिन्न ब्राण्डका भटमास, सनफ्लावर, तोरी इत्यादिको तेलमा बढी मूल्य लिएर बिक्री गर्दै आएको भेटिएपछि २ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ। 

उद्योगका साथै बिक्रेता समेत कारबाहीमा परेपछि तेलको मूल्य घट्न थालेको सूचना आइरहेको विभागका प्रवक्ता सिवराज सेढाइको भनाइ छ।

दैनिक बजार अनुगमन हुँदा खाद्य वस्तुको अप्राकृतिक मूल्यवृद्धि नियन्त्रण हुने उनी बताउँछन्। हाल विभागको पाँच वटा टोलीले उपत्यकाका तीन जिल्लामा दैनिक बजार अनुगमन गरिरहेको उनले बताए।