फ्रेञ्च सिट्रोन भारतीय बजारमा आगामी साताबाट, तमिलनाडु प्लान्टमा उत्पादन, बर्सेनि न्यु मोडल

बिजमाण्डू
२०७७ माघ ९ गते १३:०६ | Jan 22, 2021
फ्रेञ्च सिट्रोन भारतीय बजारमा आगामी साताबाट, तमिलनाडु प्लान्टमा उत्पादन, बर्सेनि न्यु मोडल

Tata
GBIME
Nepal Life

फ्रेञ्च मोटर उत्पादकको सिट्रोन 'सी फाइभ एयरक्रस' भारतीय बजारमा आगामी फेब्रुअरीबाट बिक्री सुरू हुने भएको छ।

गत वर्ष नै भारतीय बजार लक्षित उपस्थितिको योजनालाई कोरोना महामारीले केही महिना पछाडि धकेले पनि अब भने तयारी पूरा भएको सिट्रोन इन्डियाले जनाएको छ। ज्वाइन्ट भेञ्चरमा प्लान्ट राखेको कम्पनीले भारतीय बजारका लागि तमिलनाडुको तिरुभल्लुरमा प्लान्ट राखेर उत्पादन थालेको छ।  

फ्रान्समा पीएसए (पूजे सोसाइटे एनोनिमे) समूहले उत्पादन गर्दै आएको यो गाडी भारतमा सीके बिरला ग्रुपले उत्पादन र बजारीकरण गर्दैछ।आउँदो महिनादेखि 'सी फाइभ एयरक्रस' को औपचारिक बिक्री वितरणका लागि कम्पनीले अमदाबादमा 'ला मेइसन' शोरुम तयार गरिसकेको छ। कम्पनीले १० वटा शहरमा शोरुम विस्तार गर्ने योजना बनाएको छ।

सन् २०२१ को अन्तिममा भने कम्पनीले सानो सबकम्प्याक्ट भेहिकलअन्तर्गत एसयुभीको बिक्री सुरु गर्ने जनाएको छ। गत महिना भारतमा सिट्रोन बर्लिंगो एमपीभीको परीक्षण भइसकेको छ। कम्पनीले भने यो गाडी सार्वजनिक गर्ने मिति तत्काल तय नभइसकेको जनाएको छ। 

'हाम्रो उद्देश्य अन्य गाडी कम्पनीको भन्दा फरक छ। हामीले एउटा इकोसिस्टम सिर्जना गरेका छौं। हामीले होसर प्लान्टबाट डिजल इन्जिनको पनि उत्पादन सुरु गरिसकेका छौं,' कम्पनीका उपाध्यक्ष रोल्याण्ड वौचाराले भनेका छन्। 

डिजल र पेट्रोल दुवै भेरियन्ट अन्तर्गत सिट्रोनका नयाँ संस्करण सी-क्युब्ड प्लाटफर्ममा केन्द्रित हुने कम्पनीले जनाएको छ। 

कम्पनीले तत्काल बिक्री सुरु गर्न लागेको सी फाइभ एयरक्रस २.० लिटरको फोर सिलिण्डर डिजल इन्जिनयुक्त गाडी हो। १७७ ब्रेकिङ हर्सपावर र ४०० न्यूटन मिटर टर्क पावर रहेको यो गाडीमा आठ स्पिड टर्क कन्भर्टर अटोमेटिक युनिट समावेश गरिएको छ। कम्पनीले यो गाडीको बिक्री सुरु गर्नका लागि भारतका विभिन्न १० प्रमुख  शहरमा डिलरसिप सञ्चालनमा ल्याउने जनाएको छ। 

सिट्रोनको उत्पादक समूह फ्रान्सको दोस्रो ठूलो कार कम्पनी हो। एसेम्बल प्लान्ट विस्तारका लागि यो कम्पनीले सन् २०१७ मा भारतको सीके बिरला ग्रुपसँग सम्झौता गरेको थियो। २४ अर्ब भारतीय रुपैयाँमा प्लान्ट निर्माण गरिएको छ। 

तामिलनाडुको थिरुभल्लुरस्थित प्लान्टमा गत जुलाईदेखि सी फाइभ एयरक्रसको उत्पादन सुरु भइसकेको छ। यो प्लान्टले सन् २०२१ को पहिलो चौमासिकमै सी फाइभ सार्वजनिक गर्ने योजना बनाएको छ। उक्त प्लान्ट वर्षमा एक लाख युनिट गाडी उत्पादन गर्ने क्षमताको रहेको बताइएको छ।

'सी फाइभ एयरक्रस' लाई सिट्रोनले सन् २०१७ मा सांघाई मोटर एक्स्पोमा सार्वजनिक गरेको थियो। सोही वर्ष जेनेभा मोटर शोका दौरान सिट्रोनकी सीइओ लिन्डाज्याक्सनले  'सी फाइभ एयरक्रस' को फीचर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन।

पूजे मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले सिट्रोनका एसयुभी भेरियन्ट गत मंसिरमै नेपाली बजारमा भित्र्याइसकेको छ। फ्रान्सबाटै गाडी ल्याउने गरेको उक्त बिक्रेता कम्पनीले भारतीय प्लान्टबाट उत्पादन थालिएपछि नेपाल ल्याउन सहज हुने जनाएको छ।