वीरगंज भन्सारले ६ महिनामा लक्ष्यभन्दा १२ अर्ब कम असुली गर्‍यो, आयात प्रभावित भएपछि राजस्वमा असर

बिजमाण्डू
२०७७ माघ ९ गते ११:२३ | Jan 22, 2021

Tata
GBIME
Nepal Life

वीरगंज। देशको प्रमुख भन्सारको रूपमा चिनिने वीरगंज भन्सारले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा लक्ष्य अनुसारको राजस्व संकलन गर्न असफल भएको छ।

गत आव २०७६/७७ को तुलनामा चालु आव २०७७/७८ मा राजस्व संकलनमा सकारात्मक वृद्धि भए तपानि चालु आवको पछिल्लो ६ महिनामा लक्ष्यभन्दा करिब १२ अर्ब कम राजस्व असुली गरेको छ।

वीरगंज भन्सार कार्यालयको पुरानो र आइसिपी गरी दुईवटा भन्सार कार्यालयले चालु आवमा ८५ अर्ब ५१ करोड ३४ लाख १९ हजार राजस्व लक्ष्य पाएकोमा ८६.०२ प्रतिशत अर्थात ७३ अर्ब ५५ करोड ४४ लाख १२ हजार मात्र राजस्व असुली गरेका छन्।

यो भन्सार कार्यालयले चालु वर्षको साउनदेखि पुससम्मको अवधिमा लक्ष्यभन्दा करिब १४ प्रतिशत कम राजस्व असुली गरेको वीरगंज भन्सारका प्रमुख भन्सार प्रशासक महेश आचार्यले बताए।

उनका अनुसार केही महिना कोरोना महामारीको प्रभाव रहेकाले लक्ष्य अनुसारको राजस्व असुली हुन नसकेको हो।

उनले वीरगंज भन्सार पुरानो लयमा फर्किरहेको भन्दै आगामी दिनमा वीरगंज भन्सारको राजस्व संकलनमा पनि सकारात्मक वृद्धि हुँदै जाने विश्वास व्यक्त गरे।

भन्सार कार्यालयले चालु आवको पछिल्लो ६ महिनामा  आयात भन्सार महसुलतर्फ ३३ अर्ब १९ करो्ड १५ लाख १० हजारको लक्ष्य राखेकोमा ८४.६९ प्रतिशत अर्थात २८ अर्ब १० करोड ३ लाख २४ हजार संकलन गरेको छ।

मूल्य अभिवृद्धि कर तर्फ ३५ अर्ब ५८ करोड ४४ लाख ८४ हजार लक्ष्य राखेकोमा ७१.५१ प्रतिशत अर्थात २५ अर्ब ४४ करोड ५६ लाख ८१ हजार, अन्तःशुल्कतर्फ ११ अर्ब २३ करोड ७४ लाख ४४ हजार लक्ष्य लिएकोमा ७७.१४ प्रतिशत अर्थात ८ अर्ब ६६ करोड ९० लाख ८० हजार राजस्व संकलन गरेको छ ।

त्यसैगरी, सडक निर्माण तथा सडक सम्भार दस्तुरतर्फ लक्ष्य पाएको थिएन। तर पनि ३ अर्ब ८३ करोड ३३ लाख ६२ हजार राजस्व संकलन गरेको छ।

पूर्वाधार करतर्फ ४ अर्ब ७५ करोड १९ लाख ९ हजारको लक्ष्य पाएकोमा १४०.३० प्रतिशत अर्थात ६ अर्ब ६६ करोड ६८ लाख ४७ हजार, कृषि सुधारतर्फ ६१ करोड ८६ लाख ७७ हजार राजस्व लक्ष्य पाएकोमा १०६.४४ प्रतिशत अर्थात ६५ करोड ८४ लाख ९४ हजार गरी कुल ७३ अर्ब ५५ करोड ४४ लाख १२ हजार राजस्व असुली भएको वीरगंज भन्सारका भन्सार अधिकृत रमेश सुकमनीले जानकारी दिए।

यो वर्ष राजस्वमा योगदान दिने अधिकांश वस्तुको आयात घटेकाले त्यसको प्रभाव राजस्वमा देखिएको भन्सार कार्यालयको दाबी छ।

राजस्वका मुख्य स्रोत मानिएका गाडी र पेट्रोलियम पदार्थ दुवैको आयात घटेको  भन्सारको तथ्यांकले देखाउँछ। अधिकांश औद्योगिक कच्चा पदार्थको आयातसमेत खस्किएको भन्सार अधिकारीहरूले बताएका छन्।

गाडी र पेट्रोलियम पदार्थको आयात घट्नुलाई सकारात्मक मानिए पनि औद्योगिक कच्चा पदार्थको आयातमा आएको कमी भने नकारात्मक संकेत भएको वीरगंजका व्यवसायी प्रदिप केडियाको भनाइ छ।

कोरोना महामारीले आवागमन, उत्पादन र मागमा कमी आएकाले कच्चा पदार्थ र इन्धनका खपत पनि घटेकाले अयातमा कमी आएको उनको विश्लेषण छ।