एनसेलले रिङरोडको १० किलोमिटर सडकखण्डमा हरियाली थप्यो, ग्रीन बेल्टको संरक्षण गर्ने

बिजमाण्डू
२०७७ माघ ९ गते १०:२३ | Jan 22, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। एनसेल आजियाटा लिमिटेडले कोटेश्वरदेखि कलंकी सडकखण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दैछ ।

आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत वन तथा भु–संरक्षण विभागसँगको सहकार्यमा झण्डै १०.२ किलोमिटर दुरी रहेको सडकखण्डको हरियाली विकास तथा संरक्षण गर्ने एनसेलले जनाएको छ।

यसबाट वातावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्य रहेको कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

यस सामाजिक पहल अन्तर्गत एनसेलले कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा ल्याण्डस्केपिङ सहित हरियाली निर्माण र संरक्षणको काम गरिहेको छ ।

यसै पहलअन्तर्गत एनसेलले एकान्तकुनादेखि बल्खु सडकखण्डका ग्रीन बेल्ट क्षेत्रमा नमुनाका रुपमा हरियाली निर्माण कार्य सम्पन्न गरिसकेको छ ।

ग्रीनबेल्ट क्षेत्रलाई उदाहरणीय हरित क्षेत्रको रुपमा विकास गरी यस क्षेत्रको संरक्षण गर्ने बताउँदै एनसेलले पाँच वर्षसम्म यो खण्डमा रहेका ६ हजारभन्दा बढी रुखबिरुवाको हेरचाह गर्ने बताएको छ।

यस अघि एनसेलले कोटेश्वर देखि कलंकी सडक खण्डमा वृक्षारोणका लागिपनि सहयोग गरेको थियो ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने “वनतथा भू–संरक्षण विभागसँगको यो सहकार्यले कसरी सार्वजनिक र निजी क्षेत्रको सहकार्यमा प्रभावकारी काम गर्न सकिन्छ भन्ने उजागर गरेको छ । रिङरोडको १०.२ किलोमिटर सडक खण्डको क्षेत्रमा दायाँबायाँ हरियाली निमार्ण तथा संरक्षणको कार्य सार्वजनिक–निजी साझेदारीको एक उत्तम उदाहरण हो । यो पहलले समुदायमा स्वच्छ वातावरण निमार्ण गर्दै वातावरण र पर्यावरण सम्बन्धीलक्ष्यप्राप्तिमा योगदान पुर्याउने विश्वास लिएका छौं। यो पहल कार्बन फुटप्रिन्ट घटाउन र पर्यावरण संरक्षणकालागि हामीले गरेका कार्यक्रमहरु मध्ये एक हो । दीर्घकालिन प्रभाव पर्ने दीगो पहलहरुमा योगदान गर्ने हाम्रो उदेश्य रहेको छ ।”

वनतथा भु–संरक्षण विभागका महानिर्देशक मन बहादुर खड्का भने, “वृक्षारोपण गर्दै हरियाली बढाउने सरकारको अभियानअन्तर्गत यो रिङरोड ग्रीनबेल्ट योजना कार्यान्वयनका लागि २ महानगरपालिकाका समन्यवयका साथ एनसेलसँग सहकार्य गर्न पाएकोमा हामीखुसी छौं । रुख रोप्न सजिलो छ तर यसको हेरचाह गरी हुर्काउने र हरियाली कायम गर्दै फाइदा लिन धेरै गाह्रो हुन्छ र यो काम एनसेलले गर्दैछ।”

यो योजना कार्यान्वयन गर्न वनतथा भु–संरक्षण विभाग र एनसेलका बीच भएको सहकार्यबारे ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले भने, “यो योजनाले हाम्रो हरियाली विकास तथा वातावरण संरक्षण सम्बन्धी ग्रीन एन्ड ब्लु क्याम्पेनमा ठूलो योगदान दिने भएकोले हाम्रो ललितपुर महानगरपालिका यो योजनाको सफल कार्यान्वयनका लागि आवश्यक पर्ने कुनैपनि सहयोग प्रदान गर्न तयार छ ।”

एनसेलले दीगो विकासका लक्ष्य (एसडीजी) अन्तर्गत शिक्षा तथा स्वास्थ्यका साथसाथै वातावरण संरक्षण तथा जलवायु (क्लाइमेट एक्सन) अन्तर्गतका पहलहरुलाई पनि प्राथमिकतामा राख्दै सामाजिक कार्यहरु गर्दै आएको जनाएको छ । औद्योगिक व्यावसायिक नियमावलीले पनि व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरण संरक्षणलाई एक प्रमुख क्षेत्रको रुपमा राखेको छ ।

वातावरण संरक्षण पहलअन्तर्गत नै रही एनसेलले काठमाडौं महानगरपालिकामा एक हरित पार्क पनि निर्माण गर्न लागेको जानकारी दिएको छ।

यस अघि एनसेलले धनुषाधाम संरक्षित वनको ३३ हेक्टरजमिनमा ५० हजार बोटबिरुवा वृक्षारोपण गरेको थियो र यसका साथै धनुषामा वृक्षारोपण र पर्यावरण संरक्षण तथा प्रवर्द्धनसम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रमहरु संचालन गरेको एनसेलले जनाएको छ।

यस पहलको सफल कार्यन्वयनपछि सरकारले धनुषाधाम संरक्षित वनलाई ‘खुल्ला चरिचरन तथा अनियमित कटान मुक्त क्षेत्र’ पनि घोषणा गरिसकेको छ ।