कोभिडले खाइदियो ठूला कम्पनीको नाफा, घरजग्गा र सेयरले पुँजीगत लाभकरमा भने सुधार

बिजमाण्डू
२०७७ माघ ९ गते ०९:१४ | Jan 22, 2021
कोभिडले खाइदियो ठूला कम्पनीको नाफा, घरजग्गा र सेयरले पुँजीगत लाभकरमा भने सुधार


काठमाडौं। चालु आर्थिक वर्ष ठूला कम्पनीहरुको नाफामा गिरावट आउने भएको छ। ठूला करदाता कार्यालयले गरेको समीक्षामा गत वर्षको तुलनामा नाफा घट्ने देखिएको हो।

Tata
GBIME
Nepal Life

चालु आर्थिक वर्षको आयकर वापतको पहिलो किस्तामा ठूला कम्पनीहरुले गत वर्षभन्दा ३२ प्रतिशत कम राजस्व दाखिला गरेका छन्।

कोभिड संक्रमणको कठिन लकडाउनपछि खुलेको बजारमा व्यावसायीहरुले गत आर्थिक वर्षको हाराहारीमा नाफा नहुने आकलन गरेका छन्।

धैरे आयकर तिर्ने सरकारी संस्थानको नाफामा पनि गिरावट आउने आकलन छ। संस्थानमध्ये सबैभन्दा धेरै आयकर नेपाल आयल निगमले एक अर्ब दाखिला गरेको छ। नागरिक उड्डयन प्राधिकरणले यो अवधिमा उलेख्य कर तिर्न सकेको छैन। यस्तै दूर सञ्चार प्राधिरकणले यो वर्ष कुनै आयकर दाखिला गरेको छैन। नेपाल टेलिकमले १ अर्ब ६० करोड दाखिला गर्दा एनसेलले ९५ करोड २० लाख दाखिला गरेका छन्। 

बैंक तथा वित्तीय संस्थाको पनि कोभिडका कारण नाफा खुम्चिएको छ। कोभिडका कारण धेरै उद्योगधन्दा प्रभावित छन्। उनीहरु ब्याज तिर्ने समय धकेलिरहेका छन्। यसले खुद ब्याज आम्दानी घटेको छ भने ऋण नउठ्दा नोक्सानी ब्यवस्थापन वापतको खर्च बढिरहेको छ। स्थानीय तहमा अनिवार्य शाखा खोल्ने प्रावधानले खर्च बढाएको छ भने राष्ट्र बैंकले पछिल्लो समय आम्दानीका स्रोतहरु टालिदिँदै गएको छ।

ठूला करदाता कार्यालयको तथ्यांक अनुसार, चालु वर्षको पहिलो ६ महिनामा संस्थागत आयकर गत वर्षभन्दा ३२ प्रतिशतले कम हुने देखिएको छ। गत वर्ष ४३ अर्ब ४३ करोड अग्रिम आयकर संकलन भएकोमा यो वर्ष २९ अर्ब १३ करोड मात्रै राजस्व संकलन भएको छ। 

कार्यालयको तथ्यांक अनुसार सरकारी संस्थानहरुले यो वर्ष अनुमानित नाफाको पहिलो किस्ता वापत १ अर्ब ९६ करोड राजस्व दाखिला गरेका छन्। यो गत वर्षको तुलनामा ७० प्रतिशतले कम हो। यस्तै पब्लिक लिमिटेड कम्पनीले १ अर्ब ६९ करोड राजस्व दाखिला गरेका छन्। यो गत वर्ष भन्दा २३ प्रतिशतले कम हो। यस्तै निजी कम्पनीले ८ अर्ब ६० करोड दाखिला गरेका छन्।

यो गत वर्षभन्दा २९ प्रतिशतले कम हो।  अन्य कम्पनीले १६ अर्ब २७ करोड राजस्व तिरेका छन्। यो गत वर्षभन्दा ३२ प्रतिशतले कम हो। यद्यपि गत वर्ष एनसेलले २२ अर्ब आयकर दाखिला गर्दा चालु वर्षको तुलनमा कम देखिएको हो।  

क्यापिटल गेन कर २ सय प्रतिशतले वृद्धि
कोभिड अवधिमै सेयर बजार र घरजग्गा कारोबार निरन्तर बढिरहँदा यसबाट उठ्ने करमा पनि वृद्धि भएको छ। 

गत वर्ष ठूला घरानाबाट हुने घरजग्गा र सेयर कारोबारबाट ७ करोड कर तिरेकोमा यो वर्ष २१ करोड दाखिला गरेका छन्। 

यता व्यक्तिगत आयकर, सामाजिक सुरक्षा कर र पारिश्रमिक कर संकलनमा पनि गिरावट आएको छ।

भ्याट संकलनमा १० प्रतिशतको सुधार
मूल्य अभिवृद्ध कर (भ्याट) संलनमा १० प्रतिशतले सुधार आएको छ। ठूला करदाता कार्यालयले मात्रै ६ महिनामा २४ अर्ब २२ करोड भ्याट संकलन गरेको छ। 

गत वर्ष यो अवधिमा २१ अर्ब ८४ करोड संकलन भएको थियो। उत्पादन क्षेत्रमा भ्याट संकलनमा १२ प्रतिशतले सुधार आएको छ। यस्तै ट्रेडिङमा १७ वृद्धि छ। परामर्शतर्फ भने २६ प्रतिशतले गिरावट आएको छ। यस्तै पर्यटन क्षेत्रले गति लिन नसक्दा सञ्चार प्रविधि व्यावसायमा २७ प्रतिशतको सुधार छ।  

यसैगरी लगानी आयकर २४ प्रतिशतले गिरावट आएको छ। भाडा करमा ३० प्रतिशतले ऋणात्मक छ। ब्याज करमा २ प्रतिशतको सुधार हुँदा कर्पोरेट क्यापिटल गेन करमा ९८ प्रतिशतले घटेको देखिएको छ। यसैगरी बैंक तथा वित्तीय सस्थाको डिभिडेन्ट करमा २० प्रतिशतको सुधार देखिएको छ। अन्य आयकरमा ३६ प्रतिशतको सुधार छ। 

यसैगरी ठूला करदाता कार्यालय अन्तर्गत अन्तःशुल्कमा ६२ प्रतिशतको सुधार छ। यसमा मदिरा र सुर्तिजन्यमा लाग्ने अन्तःशुल्क समावेश गरिएको छैन। यसैगरी शिक्षा क्षेत्रमा गत वर्षभन्दा ५४ प्रतिशतले कम कर उठेको छ। यस्तै स्वास्थ्यमा ७३ प्रतिशतले गिरावट छ।