उदयपुरको गैंडाछाप सिमेन्टको विकल्पमा आउँदै सौर्य, फागुनदेखि सिमेन्ट उत्पादन थाल्ने

बिजमाण्डू
२०७७ माघ ८ गते १५:४७ | Jan 21, 2021
उदयपुरको गैंडाछाप सिमेन्टको विकल्पमा आउँदै सौर्य, फागुनदेखि सिमेन्ट उत्पादन थाल्ने


Tata
GBIME
Nepal Life

काठमाडौं। १५ अर्ब लगानीमा अत्याधुनिक प्रविधिको सौर्य सिमेन्ट उद्योग तयार भएको छ। निर्माण सामाग्री उद्योगमा पायोनियर शंकर समूह, गोल्छा र  अम्बे समूहको संयुक्त लगानीमा स्थापना भएको यो उद्योगले माघ १९ गतेदेखि क्लिकंर उत्पादन थाल्नेछ भने फागुन ३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गर्ने भएको छ।

'उद्योगको पूर्वाधार तयार भइसकेको छ। नेपाल विद्युत प्राधिकरणले केही दिनभित्रै बिजुली जोड्दैछ। त्यसपछि एक सातामै क्लिंकर उत्पादन सुरु हुनेछ,' शंकर समूहका प्रबन्ध निर्देशक साहिल अग्रवालले बिजमाण्डूसँग भने, 'गुणस्तर चिन्हको प्रक्रिया लिनुपर्ने भएकाले सिमेन्ट फागुन ३ गतेदेखि उत्पादन सुरु हुनेछ।' जगदम्बाले सिरहाको कर्जन्हा नगरपालिकामा उद्योग स्थापना गरेको छ।

उद्योगबाट ओपिसी, पीपीसी र पीएससी सिमेन्ट उत्पादन हुनेछ। उद्योगका ५० वर्षलाई पुग्ने चुनढुंगा खानी कटारीमा छ। उद्योग नजिकै खानी रहेकाले समेत उत्पादन लागत सस्तो पर्नेछ। उद्योगले वार्षिक तीन लाख ३० हजार टनका दरले ओपीसी, पीपीसी र पीएससी सिमेन्ट गरी कुल १० लाख टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको छ।

गैंडा छापको विकल्प

अहिले पनि सरकारी स्वामित्वको उदयपुर सिमेन्टबाट उत्पादित गैडाछाप सिमेन्ट उपभोक्ताको पहिलो रोजाइमा पर्छ। सरकारी कम्पनी भएकाले क्षमतामा चल्न नसकेर उपभोक्ताले सजिलै गैडाछाप सिमेन्ट पाउन सकेको छैन।

सौर्य सिमेन्टको खानी कटारीमा छ। यो खानीको चुनढुंगाको गुणस्तर उदयपुर ग्रेडकै हो। अग्रवालले गैंडा छापकै विकल्पका रूपमा सौर्य बन्ने दाबी गरे। 'चुनढुंगाको गुणस्तर उदयपुरको जस्तै हो। यो हाम्रो युएसपी हो। त्योसँगै हाम्रो प्लान्ट अझ अत्याधुनिक छ। गुणस्तरकै कारण हाम्रो उत्पादन चाँडै स्थापित हुन्छ,' उनले भने, 'ठूला आयोजनाका लागि यो सिमेन्ट पहिलो रोजाइमा पर्नेछ।'

उनका कतिपय उद्योगले सिमेन्ट उत्पादनका लागि गुणस्तरीय चुनढुंगा(स्विट्नर) मिसाउनुपर्छ। 'अहिले पनि १० देखि १५ प्रतिशत राम्रो चुनढुंगा स्विट्नरको रूपमा मिसाउनुपर्छ। त्यो भनेको हाम्रो खानीबाट उत्पादन हुनेजस्तै हो,' अग्रवालले भने, 'हाम्रो चुनढुंगा नै सबै स्विट्नर भएपछि उत्पादन झन् उम्दा हुने नै भयो।'

उच्च प्रविधिको प्लान्ट

सौर्यको जस्तो एकीकृत प्रविधियुक्त प्लान्ट नेपालमा रहेका अरु उद्योगमा छैन। एक वर्ष अघि स्थापना भएको रिद्धिसिद्धिमा केही प्रविधिहरु राखिएका छन। तर सौर्यले त्यो भन्दा बाहेकका प्रविधि प्लान्टमा जोडेको छ। 'सौर्यमा लगाएको जस्तो एकीकृत प्रविधियुक्त प्लान्ट अरुसँग छैन्। हाम्रो उद्योगमा मानिसको सहभागिता अत्यन्तै कम छ,' अग्रवालले भने, 'इन्जिनियर र प्राविधिकको संख्या अलि बढी हुन्छ।'

डेनमार्कको एफएलएस स्मिथ प्लान्ट लगाइएको छ। प्रविधिमार्फत धेरै काम गर्न सक्ने गरेर उद्योग तयार पारिएको छ। उद्योगमा रोवोटिक प्रयोगशाला छ। उद्योगमा चुनढुंगा आउनेबितिकै त्यसको नमूना परीक्षण स्वचालित रुपमा हुन्छ। रोवोटिक प्रयोगशाला रिद्धिसिद्धिमा पनि थियो। उद्योगमा रोटेक टु पियर क्लिन छ। अहिलेसम्म नेपालका उद्योगमा रोटेक थ्री पियर क्लिन मात्रै थियो।

सिमेन्टको बोरा अल्ट्रासोनिक सिलिङ हुन्छ भने बोरा ल्यामिनेटेड रहनेछ। सिमेन्टको बोरा स्वचालित रुपमै ट्रकमा लोड गर्ने सुविधा समेत राखिएको छ। उद्योग आफैंले ६ मेगावाट बिजुली उत्पादन गर्नेछ। यो बाहेक पीपीसी सिमेन्टको गुणस्तरको एक्युरेसी पनि उच्च छ।

'पीपीसी सिमेन्टको एक्युरेसी २/३ प्रतिशतको हाराहारीमा छ। तर यो उद्योगको एक्युरेसी शून्य दशमलव २ प्रतिशत मात्रै छ। त्यसैले गुणस्तरलाई उच्च महत्व दिएको स्पष्ट हुन्छ,' उनले भने। चुनढुंगा लगायत राख्ने ६ लाख स्क्वायर फिटको सेड समेत छ। ‘हाम्रो कुनै पनि उत्पादनमा मोइस्चर लगायतका समस्या हुने छैन। त्यही भएर यति ठूलो सेड तयार पारेका हौं,’ अग्रवालले भने।

'स्ट्रयाटेजिक लोकेसन'

पूर्वाञ्चलमा चुनढुंगासहितको सिमेन्ट उद्योग कम छ। मारुती, उदयपुर र कसमस तीन वटा उद्योग मात्रै छ। यी तीन वटै उद्योगको क्षमता कम छ। चुनढुंगासहितका प्लान्ट पश्चिम क्षेत्रमा बढी छन्।

‘हाम्रो स्ट्रयाटेजिक लोकेसनका कारण पनि हामीलाई सजिलो छ। पूर्वाञ्चलमा क्लिकंरसहितको उद्योग कम भएकाले त्यसको फाइदा पनि हुनेछ,’ अग्रवालले भने।