५० लाखभन्दा कमको ब्यापार गर्नेलाई गण्डकी प्रदेशको निर्ब्याजी ऋण, क-कसले पाउँछन् पैसा?

बिजमाण्डू
२०७७ माघ ८ गते ०९:५० | Jan 21, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। गण्डकी प्रदेश सरकारले कोभिड प्रभावित ब्यवसायीलाई निर्ब्याजी ऋण उपलब्ध गराउने प्रकृया अगाडि बढाएको छ। चालु बर्षको बजेटमा भएको ब्यवस्था अनुसार प्रभावितहरुलाई ऋण उपलब्ध गराउन लागिएको हो।

प्रदेश सरकारले ब्यवसाय जीवन रक्षा कोष (सञ्चालन) कार्यविधि २०७७ पारित गरिसकेको छ। यसअनुसार पर्यटन, यातायात, कृषि, सेवा क्षेत्रका उद्यमी ब्यवसायीले निर्ब्याजी ऋण पाउने छन्। 

प्रदेश सरकारले बार्षिक ५० लाख वा त्योभन्दा कम कारोबार भएका ब्यवसायीले माघ २१ गतेदेखि फागुन २० गतेसम्म आवेदन दिइसक्नु पर्ने छ। 

कहाँ दिने आवेदन?
ब्यवसायीले नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक, एनआइसी एसिया, प्रभु, ग्लोबल आइएमइ, लक्ष्मी, कुमारी, सिद्धार्थ, माछापुच्छ्रे, मेगा, प्राइम, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, सभिल र सनराइज बैंकमा आवेदन दिन सकिने छ।

ऋणका लागि गण्डकी प्रदेशभित्र उद्यम ब्यवसाय गरेको हुनु पर्छ। बैंकिङ कसुरका साथै कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको हुनु हुँदैन। स्थायी लेखा नम्बर चाहिन्छ भने आवेदन दिने मितिसम्म उद्यम थालेको एक बर्ष पुरा भएको हुनु पर्ने छ। प्रदेश वा संघीय सरकार वा स्थानीय निकायमा दर्ता भएको हुनु पर्ने छ। 

सम्बन्धित निकाय वा स्थानीइ तहमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी चाहिन्छ। नागरिकता, गत बर्ष कर तिरेको निस्सा वा प्यानको प्रतिलिपी अनिवार्य रुपमा चाहिन्छ। प्राप्त कर्जा उपयोग सम्बन्धि संक्षिप्त प्रस्तावका साथै धितोसम्बन्धि अद्यावधिक आवश्यक कागजहरु पनि चाहिन्छ। 

कुन ब्यवसाय/उद्यमले पाउँछन्?
लघु, घरेलु वा साना उद्यम अन्तर्गतका उद्यम ब्यवसायहरुले ऋण पाउने छन्। जस्तो हस्तकला, चित्र कला, धातुको मुर्ति बनाउने, घरेलु हाते तानसम्मले ऋण पाउने छन्। जुत्ताचप्पल, पोते बुन्ने, गुडिया, अगरबत्ति, चाउमिन बनाउनेहरुले पनि पाउने छन्। उत्पादन तथा भण्डार गर्नेहरुले पनि पाउने छन्।

साना पर्यटन ब्यवसाय अन्तर्गतका उद्यम ब्यवसायहरुले पनि पाउने छन्। यसमा सबै खाले पर्यटन ब्यवसाय पर्छ। साना यातायात ब्यवसाय अन्तर्गत वर्गीकरण भएका ब्यवसायका साथै सेवमूलक ब्यवसाय पनि यसमा पर्छ। यसमा सञ्चार गृह, सिनेमा हल, निजी  बिद्यालय, सिलाइ बुनाइ, ड्राइक्लिनर्स, ब्युटीपार्लर पनि पर्छन्।