वीरगंजका किसान नवलकिशोर झा, जो बेचिरहेछन् ३८ वर्षदेखि तरकारी, जोडे करोड पर्ने जग्गा

बिजमाण्डू
२०७७ माघ ७ गते १२:३६ | Jan 20, 2021

Tata
GBIME
Nepal Life

वीरगंज। पर्साका सफल किसानका रूपमा नाम कमाएका नवलकिशोर झा ३८ वर्षयता खेतबारीमै रमाइरहेका छन्।

वीरगंज-३१ बेल्वा (भेडयाही) का बासिन्दा झा ५८ वर्षको उमेरमा हाल तरकारी खेतीबाट सफल किसानका रूपमा दरिएका हुन्।

बुबाको जागिर पर्साको बेल्वामा सारदा प्राविमा थियो। शिक्षक झाको परिवार महोत्तरीको बतनाहाबाट बसाइँ सरेर भेडियाही आएको थियो। विद्यार्थी बेलामा एसएलसी पास गरेर जेटिए बन्ने सपना देखेका थिए नवलकिशोरले।

भेडयाहीमा ३ कट्ठा जग्गा भाडामा लिएर भन्टा खेतीबाट व्यवसायिक कृषि कर्म शुरू गरेका उनको व्यवसाय ३८ वर्ष यता निरन्तर छ। तरकारी खेतीबाटै घरपरिवार पाल्दै आएका उनले यस बीचमा करिब ३ बिघा जग्गा पनि जोडिसकेका छन्। एक करोडभन्दा बढीको मूल्यांकन रहेको उक्त जग्गा तरकारी खेतीबाटै जोडेको उनले बताए।

नवलकिशोरले ऐच्छिक विषय पनि बागवानी लिएरै २०३६ सालमा एसएलसी पास गरेका थिए। उनले त्यसैबेलादेखि तरकारीको ब्यवसायिक खेतीमै भविष्य खोज्न थालेका थिए।

उनले २१ वर्षका जेठा छोरालाई कृषि विषय नै पढाइरहेका छन्। फुर्सदको समयमा बुबालाई सघाउने छोरालाई कृषि वैज्ञानिक बनाउने उनको सपना छ। नवलकिशोरले हाल वर्षमा तीन पटक तरकारी खेती लगाउँछन्।

उनले १० कट्ठामा आँप र बाँसको बगैंचा लगाएका छन् भने एक बिघामा धान र गहुँ उब्जाउने गरेका छन् । बाँकी दुई बिघामा वर्षभरी तरकारी खेती गरेर जीतपुर बजारमा बेच्दै आएका छन्।

असारदेखि असोजसम्म लौका, करेला, बोडी, भन्टा लगाउने उनले कात्तिकदेखि फागुनसम्म जाडोको मौसममा काउली, बन्दा, गोलभेडा, खुसार्नी, केराउ, तोरी, दलहन बाली लगाउँछन्।

चैतदेखि जेठसम्म करेला, बोडी, घिरौला र लौका फलाउँछन्। एक वर्षमा धान खेतीबाट ५० हजार रुपैयाँ र तरकारी खेतीबाट ६ लाख रुपैयाँभन्दा बढीको आम्दानी गर्ने गरेको उनले बताए।

कोरोना महामारीका कारण बिक्री प्रभावित भएपछि भने उनले गत वर्ष घाटा लागेको सुनाए। सो भन्दा अघिल्लो वर्षमा ६ लाख रूपैयाँ खुद मुनाफा गरेको उनको भनाइ छ।

स्थानीय सरकार प्रदेश सरकार केन्द्र सरकारले कागजमा बनेका किसानलाई मात्र सहयोग गर्ने देखिएको भन्दै उनले फिल्डमा काम गर्ने वास्तविक किसानले सहुलियत अनुदान नपाएको गुनासो गरे।

उनले लगाएको तरकारी खेती देखेर अहिले भेडियाही बेल्वाका दर्जनौं किसान तरकारी खेतीतर्फ आकर्षित छन्।