होटल अकामा र स्वर्णिम बुटिकको रेटिङ फिर्ता, कोरोनाले शिथिल पारेपछि रेटिङ गराउन देखिए अनिच्छुक

उन्नत सापकोटा/बिजमाण्डू
२०७७ माघ ७ गते १२:४९ | Jan 20, 2021


काठमाडौं। केयर रेटिङ्स नेपालले अकामा होटल प्रालि र स्वर्णिम बुटिक होटल प्रालिको रेटिङ फिर्ता लिएको छ। दुवै होटललाई केयर रेटिङ्स नेपालले एनपी बीबी रेटिङ दिएको थियो।

Tata
GBIME
Nepal Life

अकामाले एक अर्ब १५ करोड रुपैयाँ र स्वर्णिम बुटिकले ७२ करोड ५० लाख रुपैयाँ दीर्घकालीन बैंकिङ कर्जाका लागि गत वर्ष रेटिङ गराएका थिए।
 
केयर रेटिङ्स नेपालका रिलेसनसिप कन्ट्याक पर्सन साजन गोयलले बिजमाण्डूसँग भने 'यी दुवै होटलहरुले आवश्यक समन्वय नगर्दा रेटिङ फिर्ता लिएको हो।' नेपाल धितोपत्र बोर्डको निर्देशिकाअनुसार कुनै पनि कम्पनीले गराएको रेटिङ एक वर्षलाई मात्र मान्य हुन्छ।

एक वर्षको समय गुज्रिएपछि केयर रेटिङ्स नेपालले तारन्तर रेटिङको समीक्षा गराउन दुवै होटललाई आग्रह गरे पनि आवश्यक सहजीकरण र सूचना नपाएपछि रेटिङ फिर्ता लिएको जनाएको छ। 

कोरोनाले आम्दानीमा ह्रास आएसँगै बैंकिङ सुविधा लिन दुवै होटलहरु हच्किएको देखिन्छ। बैंकबाट लिने कर्जा तिर्न व्यवसाय सहज रूपमा सञ्चालन हुने नदेखेरै दुवै होटलले रेटिङलाई आवश्यक पर्ने जानकारी र विवरण नदिएको देखिन्छ।

होटल अकामाका प्रवर्द्धक खेम लामिछानेले व्यवसायमा गम्भीर मन्दी छाएपछि कर्जा लिने अवस्था नभएकाले रेटिङलाई प्राथमिकता नदिएको बताए। यो गैरआवासीय नेपाली जीबा लामिछानेसहित सानिमा ग्रुपको लगानीमा खुलेको होटल हो।

कोभिड-१९ का कारण होटल व्यवसाय आर्थिक मन्दीमा छन्। विदेशी पर्यटकको आवागमन अझै पहिलेकै अवस्थामा नफर्किएकाले होटलहरु फुलफ्लेजमा सञ्चालन हुन सकेका छैनन्। अहिले पनि काठमाडौंका पाँच तारे होटल बन्दनै छ।

दरबारमार्गमा रहेको होटल अन्नपूर्ण बन्द छ। संचालनमा रहेका सोल्टी, र्‍याडिसन, याक एण्ड यति, सांग्रिला लगायतका होटल पनि आंशिक रुपमा मात्रै संचालनमा छ। कोरोना संक्रमण अन्त्य नभएकाले विदेशी पर्यटक आएका छैनन्। त्यही भएर भर्खरै संचालनमा आएका होटल थप संकटमा परेका छन्। ऋण लिएर होटल विस्तार गर्न खोजेका लगानीकर्ता हच्किएका छन्।

विस्तारै आन्तरिक पर्यटन चलायमान हुँदै गए पनि विदेशीलाई लक्षित गरेर खोलिएका होटलहरू बौरिन नसकेको अवस्था छ। रेटिङ गराउँदा थप व्ययभार कम्पनीलाई थपिने भएकाले पनि होटल व्यवसायीहरु रेटिङ वा त्यसको समीक्षा गराउन तयार देखिएका छैनन्। 

धुम्बाराहीमा रहेको होटल अकामा चारतारे डिलक्स होटलमा सानिमा ग्रुपको लगानी छ। तीन अर्ब लगानीको होटल २०७६ भदौबाट सञ्चालनमा आएको हो। सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गर्दै सञ्चालनमा ल्याइएको होटलमा एक सय आठ कोठा छन्। उक्त होटल सम्मेलन हल, इभेन्ट हल, डाइनिङ र बारको सेवासहित आठ रोपनी हाराहारी क्षेत्रफलमा फैलिएको छ। 

यस्तै, स्वर्णिम बुटिक होटलले २० वटा कोठा सञ्चालन गरिरहेको छ। अहिले यस कम्पनीले 'होलिडे इन एक्स्प्रेस' ब्राण्ड नामबाट टंगालमा तीनतारे होटल सञ्चालन गरिरहेको छ।