निक्षेपलाई उछिन्यो ऋण वृद्धिले: निक्षेप २९१ अर्बले बढ्दा ऋण ३३८ अर्बले बढ्यो

बिजमाण्डू
२०७७ माघ ७ गते ०९:०५ | Jan 20, 2021
निक्षेपलाई उछिन्यो ऋण वृद्धिले: निक्षेप २९१ अर्बले बढ्दा ऋण ३३८ अर्बले बढ्यो

Tata
GBIME
Nepal Life

काठमाडौं। बैंकहरुले पछिल्लो ६ महिनामा गरेको व्यापारमध्ये पुस महिनामा मात्रै ३७ प्रतिशत ऋण बिस्तार गरेका छन्। पछिल्लो ६ महिनामा बैंकहरुले ३ खर्ब ३८ अर्ब २५ करोड ऋण लगानी गरेका छन्। त्यसमध्ये पुसमा मात्र एक खर्ब २७ अर्ब ६३ करोड रुपैयाँ लगानी गरेका हुन्।

'यसले अर्थतन्त्र फेरि स्वभाविक अवस्थामा फर्किएको हो भन्ने संकेत पनि गर्छ र बैंकहरुले कतै न कतै केही बदमासी पो गरिरहेका छन् कि भनेर शंका पनि जन्माउँछ,' केही समयअघि बैंकिङबाट बाहिरिएका पूर्व प्रमुख कार्यकारीले भने, 'पहिलो कारण अलिअलि हो, दोस्रो चाहिँ धेरै होजस्तो लाग्छ।'

सरकरले चालु वर्ष आर्थिक वृद्धि ७ प्रतिशत हासिल गर्ने लक्ष्य राखेको छ। तर त्यसअनुसार नतिजा दिने क्षेत्रमा लगानी भएको छैन। त्यही भएर आर्थिक वृद्धि प्रक्षेपण गर्ने विदेशी निकायहरुले एक प्रतिशतभन्दा कम मात्र हुने अनुमान सार्वजनिक गरिरहेका छन्।

'सात प्रतिशतको आर्थिक वृद्धि हुँदा पनि यति नै ऋण गएको थियो। जीडीपी लगभग शून्यकै हाराहारीमा हुँदा पनि उति नै ऋण गइरहेको छ,' लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले बिजमाण्डूसँग भने, 'ब्यक्तिगत तवरमा भन्दा यसमा म पनि अलिकति 'सरप्राइज' नै छु। ऋण बिस्तार भनेको त अर्थतन्त्रको आकारसँग पनि मिल्नु पर्ने हो नि।'

कोभिडका कारण गरिएको लकडाउनका कारण सुरुमा ऋण बिस्तार सुस्त थियो। त्योबेला निक्षेप वृद्धि उच्च थियो। निक्षेपको तुलनामा ऋण बिस्तार निकै कम थियो। तर पछिल्लो तथ्यांकले निक्षेपलाई ऋण बिस्तारले उछिनेको छ।

असार मसान्तदेखि पुस मसान्तसम्म आइपुग्दा निक्षेप बिस्तार २ खर्ब ९१ अर्ब ६९ करोड रुपैयाँ मात्र छ। ७४ अर्ब ८१ करोड निक्षेप संकलन गरेका छन्। आर्थिक वर्षको पहिलो ६ महिनामा जति संकलन भयो पुसमा मात्र त्यसको २५.६४ प्रतिशत निक्षेप संकलन भएको छ। 

सञ्चालनमा रहेका २७ मध्ये ३ बैंकको त ६ महिनाका बीच निक्षेप नै घटिसकेको छ। बैंकहरुले पुस महिनामा मात्र अधिकांश बैंकरका साथै राष्ट्र बैंककै अधिकारीहरुको अनुमान पनि यसपाली ब्याज तिर्नका लागि नयाँ ऋण सृजना भएको छ भन्ने छ। तर कोही पनि औपचारिक रूपमा यस बारेमा बोल्न चाहँदैनन्। यद्यपि पछिल्लो ६ महिनामा २ बैंकको ऋण लगानी उल्टो घटेको छ।

'ब्याज तिर्नैका लागि पैसा गएको हो/होइन भन्ने खालको तथ्यांक त अधिकारिक अनुसन्धानले मात्र देखाउला, कि त त्यसरी ऋण दिने सम्बन्धित बैंकले दिन सक्ला,' शाहले भने, 'यस्तो बेलामा ऋण बढ्नु नपर्ने भन्ने त पक्कै हो।'

पुस मसान्तसम्म बैंकहरुले ३२ खर्ब ४३ अर्ब ५६ करोड रुपैयाँ ऋण लगानी गरेका छन्। असार मसान्तदेखि पुस मसान्तसम्मको मात्र हिसाब गर्ने हो भने सबैभन्दा बढी ऋण एनआइसी एसियाले ५९ अर्ब ३४ करोड रुपैयाँले बढाएको छ। बरु तुलनात्मक रूपमा उसले पुसमा ऋण कम बढाएको छ। एनआइसीले पुसमा ८ अर्ब १८ करोड ऋण बिस्तार गरेको छ।

पछिल्लो ६ महिनामा १५ बैंकले १० अर्बभन्दा बढीले ऋण बढाएका छन्। 

निक्षेपमा पनि एनआइसीले सबैलाई उछिनेको छ। बैंकले ६६ अर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। ११ बैंकको निक्षेप १० अर्बभन्दा बढीले वृद्धि भएको छ।