निफ्राको आईपीओमा १५ लाख आवेदकबाट १८ अर्ब रुपैयाँबराबरको सेयर माग, अब कति कित्ता पर्ला?

बिजमाण्डू
२०७७ माघ ६ गते १७:३४ | Jan 19, 2021
निफ्राको आईपीओमा १५ लाख आवेदकबाट १८ अर्ब रुपैयाँबराबरको सेयर माग, अब कति कित्ता पर्ला?


Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) ले गत शुक्रबारबाट खुलाएको साधारण सेयरको प्राथमिक निष्कासन (आईपीओ) मा कम्पनीले माग गरेको भन्दा झन्डै साढे दुई गुणा बढी सेयरका लागि आवेदन परिसकेको छ ।

सेयरको आवेदन खुला गरिएको माघ २ देखि ६ सम्मको पाँच दिनमा निफ्राको सेयर माग गर्दै १५ लाखभन्दा धेरै आवेदन परेको कम्पनीको सेयर बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका मर्चेन्ट बैंकिङ प्रमुख राम महतले जानकारी दिए ।

उनका अनुसार यी आवेदकहरुबाट करिब १८ अर्ब रुपैयाँ बराबरको सेयरका लागि आवेदन परेको छ । यो कुनै पनि कम्पनीको आईपीओका लागि परेको सबैभन्दा ठूलो रकमको आवेदन हो ।

'अहिले सीडीएससीको सिस्टम डाउन भएर यकिन विवरण हेर्न सकिएको छैन । तर अहिलेसम्ममा आवेदन १५ लाखभन्दा धेरै परेको छ ।  रकम १८ अर्ब हाराहारी छ,' महतले भने । 

यो आँकडा सेयरको आवेदन खुलाएको पूर्वनिर्धारित अन्तिम समय (दिउँसो ५ बजे) सम्मको हो । मेरोसेयरको प्रणालीमा समस्या आएपछि सीडीएस एन्ड क्लियरिङ लिमिटेडले सेयर भर्ने समय भने एक घन्टा थप गरेको छ ।

यसअघि सबैभन्दा बढी चन्द्रागिरि हिल्सको आईपीओमा २ अर्ब ४४ करोड ७४ लाख ५३ हजार रुपैयाँ बराबरको २ करोड ४४ लाख ७४ हजार ५३० कित्ता सेयरका लागि १२ लाख ५१ हजार आवेदन परेको थियो । त्यसअघि प्रभु लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर निष्कासनमा पनि करिब साढे १० लाख आवेदन परेको थियो ।

निफ्राको साधारण सेयरका लागि परेको करिब १८ अर्ब रुपैयाँ बराबरको (१८ करोड कित्ता सेयरका लागि) १५ लाख हाराहारी आवेदन नेपालमा कुनै पनि कम्पनीको आईपीओमा सबैभन्दा बढी हो । 

निफ्राले खुलाएको यो आईपीओ पनि रकम र एकाइ दुवै हिसाबले नेपालमा हालसम्मकै ठूलो छ।

साधारण सेयरमा लगानी गर्नेहरू १० कित्ता पर्दा पनि भाग्योदय चिठ्ठा मानिरहेका बेला निफ्राले आठ करोड कित्ताको आईपीओ ल्याएको थियो। 

निफ्राले आठ अर्ब रुपैयाँ बराबरको साधारण सेयरको प्राथमिक निष्कासन (आईपीओ) गरेको हो। यसमा एक लाख ६० हजार कित्ता बैंकका कर्मचारीहरुका लागि र चार लाख कित्ता सामूहिक लगानी कोषहरु (म्युचअल फण्ड) का लागि छुट्याइएको छ। 

बाँकी सात करोड ५८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणको नाममा हुनेगरी आवेदन माग गरिएको हो । 

आवेदन खुलाएको दोस्रो दिन नै यसको सबै सेयर सब्सक्राइब भइसकेको थियो । तेस्रो दिनमा १० अर्ब रुपैयाँभन्दा बढीको सेयरका लागि आवेदन परेसँगै पुँजीबजारका लगानीकर्ताहरुले अपेक्षा गरेअनुसार ७० देखि सय कित्ता हाराहारीमा सबैलाई यसको सेयर नपर्ने देखिएको थियो । 

प्रणालीमा खराबी आएपछि एक घन्टा समय थप्नुअघि नै १५ लाख भन्दा धेरै आवेदन परेसँगै अब निफ्राको सेयर आवेदकले बढीमा ४० देखि ५० कित्ताको हाराहारीमा पाउने देखिएको छ । यद्यपि, यसको सेयर सबै आवेदकले हात पार्ने भएकाले निराश भने हुनुपर्ने छैन ।